+
+

लुटिएको सामान फिर्ता लिन काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीको निरन्तर आन्दोलन

फुटपाथ व्यवसायीको आन्दोलन नेतृत्वकर्ता कुमार सापकोटाका अनुसार महानगर प्रहरीले व्यवसायमा प्रयोग गर्ने साधन मात्रै नभई, व्यक्तिगत सम्पत्ति, मोबाइल लुटेको छ । लुटिएको सामान फिर्ता पाउन आन्दोलन जारी छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ १० गते २०:३५

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि आज (बुधबार) पनि ठेलागाडा तथा फुटपाथमा व्यवसाय गर्नेले आन्दोलन गरे ।

महानगरविरुद्ध उनीहरूले लगातार आन्दोलन गरेको आज तेस्रो दिन हो । महानगर प्रहरीले फुटपाथ व्यवसायीको ठेलागाडा, साइकल, डोकोलगायत सामान जफत गरेपछि उनीहरूले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरे ।

त्यसपछि मंगलबार र बुधबार महानगर प्रहरीले ज्यादती गरको भन्दै दैनिक शान्तिबाटिकामा जम्मा भएर काठमाडौं प्लाजा अगाडि आन्दोलन गरिरहेका छन् ।

फुटपाथ व्यवसायीको आन्दोलन नेतृत्व गरिरहेका कुमार सापकोटा महानगरको ज्यादती नरोकिएकाले आन्दोलन गर्नुपरेको बताउँछन् ।

‘हामीले व्यवसायमा प्रयोग गर्ने साधन मात्रै होइन, व्यक्तिगत सम्पत्ति, मोबाइल लुटेको समेत आरोप छ । हामीसँग लुटिएको सामान फिर्ता पाउनुपर्छ भनेर आन्दोलन गरिरहेका छौं,’ सापकोटा भन्छन् ।

उनले साँझ ८ बजेपछि कसैलाई अवरोध नहुने अवस्थामा समेत महानगर प्रहरीले लुटेराको काम गरेको टिप्पणी गरे । ‘न ट्राफिक व्यवस्थापनलाई असर गर्ने गरी गरिएको छ, न पैदल यात्रुलाई असर पुगेको छ,’ सापकोटो भन्छन्, ‘भित्री सडकको कुनामा गएर लुट्ने काम भएको छ । यो त मानवअधिकार हननबराबर हो । हामी आन्दोलन अझै चर्काउँछौं ।’

फुटपाथ व्यवसायीले शुक्रबार पत्रकार सम्मेलन गरेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

निरन्तर कारबाही हो, ज्यादती छैन

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले भने निरन्तर कारबाहीअन्तर्गत गस्ती गर्दा अवैधानिक राखिएका ठेलागाडा जफत गरेको बतायो ।

नगर प्रहरी उपरीक्षक दिनेश अर्याल महानगरपालिकाले कुनै पनि अमानवीय काम नगरेको भन्दै बदनाम गर्न मात्रै खोजिएको दाबी गर्छन् ।

‘नगर प्रहरीले गस्ती गर्दा निषेध गरेको ठाउँमा राखेको सामान त उठाइहाल्छ नि, अब मोबाइल, सुन हराएको कुरा आएको छ,’ अर्यालले अनलाइनखबरसँग भने, ‘त्यस्तो काम नगर प्रहरीले गर्दै गर्दैनन् । हामीलाई बदनाम गर्न मात्रै यस्तो आरोप लगाइएको हो ।’

उनका अनुसार आइतबार साँझ पनि एउटा अप्रेसन गरिएको थियो, जसमा १५ भन्दा बढी ठेलागाडासहित अन्य सामग्री जफत भएको छ । ‘सोही कुरालाई लिएर प्रदर्शन सुरु भएको हो,’ अर्यालले भने ।

महानगरपालिकाको स्टोर विभागका अनुसार पछिल्लो एक सातामा महानगरका विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ४३ थान ठेलागाडा र ४० थान साइकल जफत गरिएको छ ।

ईःसँगको सम्झौता अलपत्र

फुटपाथ व्यवसाय व्यवस्थित गर्न अभियन्ता ईःसँग सम्झौता गरेको महानगरले सम्झौता कार्यान्वयन गर्न बनाएको समिति अझै पूर्ण सक्रिय भएको छैन ।

महानगरले ईःसँग गरेको सम्झौता कार्यान्वयन कार्यदल समिति सदस्यसमेत रहेका सापकोटाले नगर प्रहरीको ज्यादती नरोकिएको भन्दै फुटपाथ व्यवसायीलाई झुलाउन मात्रै समिति बनाएको टिप्पणी गरे ।

१५ मंसिरमा महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियान्ता ईःसँग भएका सम्झौता कार्यान्वयन प्रक्रिया अगाडि बढाएको थियो ।

१० असोजमा भएको सम्झौताअनुसार अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवस्थित गर्न व्यापार स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी अध्ययन समिति गठन भएको थियो ।

गठित समितिमा काठमाडौं महानगरका तर्फबाट एक वडाध्यक्ष, एक नगर प्रहरी अधिकारी र कानुन विभागबाट तीन, ट्राफिक प्रहरी कार्यालयका एक प्रतिनिधि, सडक विभागका एक प्रतिनिधि, शहरी विकास मन्त्रालयका एक प्रतिनिधि र ईःका तर्फबाट कानुन व्यवसायी सुदन मुल्मी र फुटपाथ व्यवसायी कुमार सापकोटा थिए ।

तर, समिति निर्माण भए पनि क्रियाशील नभएको सापकोटाले बताए । अध्ययन समितिले फुटपाथ व्यवसायीलाई उपयुक्त स्थानको विकल्प दिन नसकुन्जेल महानगरले सामान जफत नगर्ने, नगर प्रहरीको हिंसात्मक शैली अन्त्य गर्ने विषयमा महानगर प्रहरीले मौखिक सहमति गरेको थियो ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?