+

स्लिपिङ टयाब्लेट कस्तो अवस्थामा प्रयोग गर्ने ?

२०८० माघ  ११ गते १३:२२ २०८० माघ ११ गते १३:२२
स्लिपिङ टयाब्लेट कस्तो अवस्थामा प्रयोग गर्ने ?

पर्याप्त निद्रा स्वस्थ जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण र पहिलो सर्त हो । तर आजभोलि धेरैमा अनिद्राको समस्या देखिन्छ । यसको मुख्य कारण मानसिक रुपामा तनाव, चिन्ता वा कुनै कुराको डर हुनसक्छ । यीबाहेक गम्भीर मानसिक समस्याको कारण पनि अनिद्राको समस्याले सताउँछ ।

यसरी दिनानुदिन रातभर जाग्राम बस्न थालेमा दैनिकीमा त असर गर्छ नै, मानसिक असन्तुलन, डिप्रेसन, रक्तचापमा असन्तुलन र कमजोर मानसिकताको सिकार हुन पनि समय लाग्दैन । यसबाट बच्न एउटा सहरा जस्तो बनेको छ, स्लिपिङ टयाब्लेट । तर जथाभावी तथा लगातार खानु स्वास्थ्यमा अन्य समस्या ल्याउन सक्ने जोखिम हुनसक्छ ।

त्यसैले यो खानुभन्दा पहिले यो कस्तो औषधि हो ? कसरी काम गर्छ ? कति मात्रा खाने ? र, साइड इफेक्ट के छन् ? जान्न जरुरी छ ।

अनिद्राको समस्या हुँदा दिइने औषधि हो स्लिपिङ टयाब्लेट । यसले दिमागलाई शान्त पारी सहज तरिकाले निद्रा लगाउन मद्दत गर्छ । यी औषधि बेन्जोडायजेपाइन समूहका लोरी, क्लोनाज, अल्प्राजोलम, जेन्याक्स, क्लोनाजेपाम, इस्टाजोलम, ओराजेपाम, ट्रियाजोलम नाममा आउँछ । जुनबिना चिकित्सकको सल्लाह खान मिल्दैन ।

यो औषधिले कसरी काम गर्छ ?

निद्रालाई नियन्त्रण गर्ने काम दिमागभित्र रहेको हाइपोथेलामसले गर्छ । यसमा कुनै किसिमको बाधा भएमा निद्रा नलाग्न सक्छ । हाम्रो दिमागमा निद्रा लगाउने इपिसेन्टरहरु हुन्छन् । जसलाई गीएबीए पनि भनिन्छ । यी औषधिले गीएबीएको स्तर बढाउँछ । जसले दिमागलाई आराम दिई निद्रा लगाउँछ ।

त्यस्तै दिमागमा उत्पादन हुने हिस्टामिन रसायनको मात्रा बढी भएमा पनि ब्युँझाइराख्न सक्छ । यस्तोमा औषधि खाँदा ती रसायनको बढिरहेको मात्रा घटाइदिन्छ । र, निद्रा लाग्छ । निद्राको औषधि लिएको २० देखि ३० मिनेटपछि असर देखाउन थाल्छ ।

कस्तो अवस्थामा औषधि सिफारिस दिइन्छ ?

जीवनमा घटेको कुनै घटनाले दिमागमा असर गरी इन्सोमेनिया भएकाहरु पनि निदाउन सक्दैनन् । इन्सोमेनिया एउटा ‘स्लिपिङ डिसअर्डर’ हो । जसको बेलैमा उपचार नभए निद्रा नलाग्ने समस्या साता, महिना हुँदै वर्षसम्म पनि पुग्न सक्छ ।

यस्तोमा मनोचिकित्सकले लक्षण हेरेर केही समयका लागि स्लिपिङ टयाब्लेट सिफारिस गरिन्छ । त्यस्तै शारीरिक दुखाइ, तनाव, डर, एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्या र लागूपदार्थको लतले पनि अनिद्रा गराउन सक्छ । यदि यी अवस्थालाई नै कुनै किसमको तरिकाले निर्मूल पारेमा यस्ता औषधि प्रयोग गर्नु नपर्न पनि सक्छ । किनकि अनिद्रा आफैंमा एउटा रोग नभएर मानसिक समस्याको एउटा लक्षण पनि हो । यद्यपि, यस्तो समस्या बढ्दै गएमा निद्रा जति प्रयास गर्दा पनि नलाग्ने, कहिले सुतिरहेको अवस्थामा ब्युँझिने, रातभर छटपट भइराख्ने हुनसक्छ । यो केही दिन हुँदै सातासम्म समस्या भएमा यो औषधि केही समयका लागि सिफारिस गरिन्छ ।

कडाखालको मानसिक समस्यामा पनि यी औषधिको जरुरी पर्छ । औषधि दिंदा चिकित्सकले बिरामीको अवस्था हेरेर कम वा उच्च डोज चलाउन सक्छन् ।

औषधि खाने अवस्थालाई रोक्न सकिन्छ ?

अनिद्राको समस्याले कठिन बनाइरहेको छ भने छोटो समयको लागि औषधि लिने गर्दा औषधिले खासै नराम्रो असर गर्दैन । यसले बिस्तारै निद्राको बिग्रिएको शैलीलाई ठीक ठाउँमा ल्याउँछ । र, औषधि सल्लाहमा रोक्न सकिन्छ । मानसिक समस्यामा पनि अवस्था हेरेर केही समय दिंदा फाइदा गर्छ । एक चरणपछि छोड्न पनि सकिन्छ । किनकि लगातार सेवन गर्दा यसको लत बस्न सक्छ ।

कसरी बस्छ लत ?

चुरोट र रक्सी जति खाए त्यति लत लाग्छ । त्यस्तै धेरै यी औषधि खाएमा लत बस्न सक्छ । किनकि यी औषधिको काम दिमागलाई आराम गराउने हो । आराम गराउनलाई निद्राको इपिसेन्टरमा भएको रसायनमा घटबढ गराउँछ । जसकारण जति धेरै यो औषधि प्रयोग हुन्छ । त्यति दिमाग र शरीर औषधि अनुकूल काम गर्न थाल्छ । र, औषधिमा निर्भर हुन थाल्छ । जसकारण औषधि छोड्न मुस्किल हुनसक्छ । लत लागेमा पुनः छटपटी हुने, निद्रा नलाग्ने जस्ता लक्षण देखिन्छ । र, औषधि थप्दा लक्षण कम हुन थाल्छ । त्यसैले यो औषधि महिनौंसम्म खान हुँदैन । चिकित्सकको सल्लाह बमोजिम खाने हो भने यो औषधि सुरक्षित हुन्छ ।

साइड इफेक्ट

-लामो समयसम्म झुम्म र लट्ठ बनाउनु ।

-लगातार केन्द्रित भएर गर्न पर्ने काम गर्न नसक्नु ।

-टाउको दुख्नु ।

-डायरिया हुनु ।

-एलर्जी आउन सक्छ ।

औषधि खाँदा अपनाउनुपर्ने सावधानी

-कहिलेकाहीं बिरामीले औषधि एउटा खाँदा भएन भनेर दुई-तीनवटा खाइदिन्छन् । जसले ओभरडोज भएर शरीर लट्ठ पार्न सक्छ । धेरै ओभरडोज भइराखेमा ज्यान जान सक्छ । त्यसैले चिकित्सकले भनेअनुसार डोजको औषधि सेवन गर्नुपर्छ ।

-केहीलाई औषधि खाएको भोलिपल्ट पनि झुम्म बनाउने, शरीर आलस्य हुने जस्ता समस्या देखिन सक्छ । यस्तो समस्या देखिएमा मन परामर्श लिनुपर्छ ।

-औषधि आफूखुसी छोड्दा बेचैनी र छटपटी हुनसक्छ । औषधि नखाई निद्रा नलाग्ने हुनसक्छ ।

-दमको समस्या भएका यसको प्रयोगले अक्सिजन कम गराई श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ ।

डा. सुरेश अधिकारी स्लिपिङ ट्याब्लेट
डा. सुरेश अधिकारी
लेखक
डा. सुरेश अधिकारी
कन्सल्टेन्ट साइक्यार्टिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५१२३ अध्ययन : एमबीबीएस, एमडी हाल पाटन मानसिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

गर्भको शिशु र आमालाई जोखिम हुनसक्ने प्रिक्लेमसिया के हो ?

गर्भको शिशु र आमालाई जोखिम हुनसक्ने प्रिक्लेमसिया के हो ?

बच्चाको व्यवहारमा आएको परिवर्तनलाई अभिभावकले गर्नुहुँदैन बेवास्ता

बच्चाको व्यवहारमा आएको परिवर्तनलाई अभिभावकले गर्नुहुँदैन बेवास्ता

हिटस्ट्रोक कसरी हुन्छ ?

हिटस्ट्रोक कसरी हुन्छ ?

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?