+

गर्भको शिशु र आमालाई जोखिम हुनसक्ने प्रिक्लेमसिया के हो ?

२०८१ जेठ  १४ गते १७:५५ २०८१ जेठ १४ गते १७:५५
Shares
गर्भको शिशु र आमालाई जोखिम हुनसक्ने प्रिक्लेमसिया के हो ?

विश्वका करिब १५ प्रतिशत गर्भवती महिला उच्च रक्तचापको जोखिममा पर्छन् । उच्च रक्तचाप नियन्त्रणमा आउन नसकेमा प्रिक्लेमसिया जस्तो गम्भीर समस्या देखिने सम्भावना उच्च रहन्छ । जसको बेलैमा पहिचान र उपचार नभए आमा र शिशुको ज्यान जोखिममा पर्न सक्छ ।

प्रिक्लेमसियाको उपचारमा ढिलाइ हुँदा प्रत्येक वर्ष पाँच लाख बच्चाको गर्भमै मृत्यु हुन्छ ।

के हो प्रिक्लेमसिया ?

प्रिक्लेमसिया गर्भ रहेको २० सातापछि गर्भवती महिलामा विकास हुने गम्भीर स्वास्थ्य समस्या हो । उच्च रक्तचाप र पिसाबमा प्रोटिनको मात्रा असामान्यरुपमा वृद्धि भई यो समस्या देखिन्छ । यसले शरीरका अन्य अंग र भ्रूणलाई हानि गर्न सक्छ ।

यस्तो समस्या हुँदा रक्तचाप वृद्धि हुन्छ साथै खुट्टा र हात सुन्निन्छ ।

कारण

प्रिक्लेमसियाको स्पष्ट कारण पत्ता लागिसकेको छैन । तर केही कारक तत्त्वलाई यसको जिम्मेवार मानिन्छ । जस्तै, सन्तान धेरै जन्माएर पुनः गर्भवती भएकी महिला, पहिले परिवारमा यो समस्या देखिसकेको अवस्था, उच्च रक्तचाप, मधुमेह वा मिर्गौला रोगको इतिहास, मोटोपन, प्रतिरोध क्षमता कम हुने रोग (अटोइम्युन रोग) र हार्मोन गडबड ।

प्रिक्लेमसिया हुँदा शरीरमा पर्ने प्रभाव

प्रिक्लेमसिया हुँदा शरीरमा रक्तचाप बढ्छ । रक्तचापको स्तर १४०/९० एमएमएचजी भन्दा बढी हुन्छ । जुन सामान्य स्तर होइन । यसले मुटु, मिर्गौला, फोक्सो र पिसाबसम्बन्धी समस्या ल्याउन सक्छ ।

यो समस्याले धमनीलाई पनि असर गर्न सक्छ, जसले गर्भनालमा असर गर्छ । गर्भनाल प्रभावित हुँदा गर्भमा हुर्किरहेको बच्चालाई अक्सिजन र पोषक तत्व पुग्न सक्दैन । र, भ्रूणको विकास क्रम रोक्ने जोखिम बढ्छ । कतिपय अवस्थामा यसले समयपूर्व प्रसवको सम्भावना बढाउँछ ।

यसरी जन्मिएका शिशुमा तौल कम हुने, श्वासप्रश्वासमा समस्या हुने र अन्य स्वास्थ्य सम्बन्धी जटिलता देखिन्छ ।

जटिलता

यसको जटिलता भनेको प्लेटलेट (रगत जमाउने तत्व)को काउन्ट कम हुने अवस्था एचईएलपी गराउन सक्छ । जसले कलेजो र रक्तकोषिकालाई हानि गर्ने, आँखाले धमिलो देख्नु र छाती दुख्ने जस्ता समस्या गराउँछ ।

साथै, बच्चा जन्मिएपछि पनि मिर्गौला, मुटु सम्बन्धी रोग र स्ट्रोक हुने जोखिम पनि आमालाई रहन्छ । त्यस्तै, प्रिक्लेम्पसियाको समयमा पहिचान नभई ढिला उपचार भएमा इक्लेम्पसिया हुने सम्भावना रहन्छ । इक्लेम्पसिया भएमा आमामा छारेको समस्या गराउँछ । पटक-पटक छारे हान्दा दिमागमा रगतको नसा फुट्ने, कलेजोमा हान्ने, हात खुट्टा नचल्ने र अवस्था गम्भीर भई तत्काल भेन्टिलेसनमै राख्नुपर्ने अवस्था आउँछ ।

लक्षण

उच्च रक्तचाप तथा पिसाबमा प्रोटिन बाहेक टाउको दुख्ने, छातीमा दुखाइ, सास फेर्नमा समस्या र पेटको माथिल्लो भागमा दुख्ने जस्ता लक्षण देखिन्छ ।

पहिचान

प्रिक्लेमसियाको पहिचान बच्चामा गर्भ रहेपछि स्वास्थ्य परीक्षण गराउँदा गरिन्छ । तौल, रक्तचाप र पिसाब परीक्षणबाट प्रिक्लेम्पसिया भए नभएको पत्ता लाग्छ ।

यदि रिपोर्ट शंकास्पद छ भने निम्न परीक्षणहरू आवश्यक हुन्छ ।

– मिर्गौला र कलेजोको कार्यावस्था जाँच गर्न थप रगत परीक्षण गरिन्छ ।

– २४ घण्टाको पिसाब संकलनपछि परीक्षण हुन्छ ।

– भ्रूणको आकार हेर्न र एम्नियोटिक तरल पदार्थको मात्रा मूल्यांकन गर्न अल्ट्रासाउन्ड गरिन्छ ।

प्रिक्लाम्पसिया हल्का र गम्भीर गरी दुईवटामा वर्गीकृत गरिन्छ । उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन मात्र छ भने हल्का प्रिक्लेम्पसिया भनिन्छ ।

यी बाहेक अन्य लक्षण छन् भने अवस्था गम्भीर मानिन्छ । मिर्गौला तथा कलेजोमा क्षति, आँखा कम देख्नु, टाउको दुख्नु र चक्कर आउने जस्ता समस्या पर्छन् ।

उपचार

प्रिक्लेम्पसियाको उपचारमा यसको लक्षण कति गम्भीर र प्रसवको मिति कति टाढा छ भन्नेमा भर पर्छ । यसको ठोस उपचार छैन तर माथि उल्लेखित लक्षण देखिए तुरुन्त अस्पताल लैजानुपर्छ । पहिलो उपचारमै उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि दिइन्छ । त्यसपछि बच्चाको अवस्था हेर्न परीक्षण गर्नुपर्छ । यदि उच्च रक्तचाप अनियन्त्रित भएर कलेजोमा समस्या छ र शिशुको अवस्था बिग्रिंदै गएको छ भने बच्चा तुरुन्तै निकाल्नुपर्छ ।

यस्तोमा बच्चाको स्वास्थ्य भन्दा पनि आमाको ज्यान बचाउनतिर लाग्नुपर्ने हुन्छ । तर औषधि उपचारपछि रक्तचाप नियन्त्रणमा छ भने गर्भावस्थाको मिति लम्ब्याउन सकिन्छ । छारेको समस्या आउन नदिन कतिपय अवस्थामा म्याग्नेसियम सल्फेट दिनुपर्ने हुनसक्छ । प्रिक्लेम्पसियाको जोखिम हुँदा रोकथाम गर्न सकिन्छ ।

प्रिक्लेम्पसियाको जोखिम कारक भएकाले गर्भावस्था अघि र गर्भावस्थापछि जीवनशैलीमा ध्यान दिए रोकथाम हुनसक्छ ।

– अत्याधिक तौल भएकी महिलाले सन्तान जान चाहेमा तौल नियन्त्रण गर्ने उपायमा ध्यान दिनु आवश्यक हुन्छ ।

– मधुमेह र रक्तचाप भएमा नियन्त्रण गरेर गर्भधारण गर्न सकिन्छ ।

– नियमित व्यायाम र आठ घण्टा पर्याप्त सुत्ने बानी बसाल्नुपर्छ ।

– अत्याधिक मसालेदार खानेकुरा, जंकफुड, मदिरा र धुम्रपानबाट टाढा रहनुपर्छ ।

गर्भावस्था डा. सविता थापा प्रिक्लेमसिया
डा. सविता थापा
लेखक
डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. थापा भरतपुरस्थित वात्सल्य नेचुरल आइभिएफ सेन्टरमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?