+

बच्चाको व्यवहारमा आएको परिवर्तनलाई अभिभावकले गर्नुहुँदैन बेवास्ता

२०८१ जेठ  १४ गते १३:५२ २०८१ जेठ १४ गते १३:५२
बच्चाको व्यवहारमा आएको परिवर्तनलाई अभिभावकले गर्नुहुँदैन बेवास्ता

काठमाडौं । काठमाडौंकी नौ वर्षीय श्रेया बस्नेत (नाम परिवर्तन)ले एक्कासि धेरै कुरा बिर्सन थालिन् । उनलाई केही कुरा सोध्यो भने उनको जवाफ सधैं ‘मलाई थाहा छैन’ भन्ने हुन्थ्यो । उनको यो समस्या देखेर अभिभावक र स्कुलका शिक्षक अचम्ममा परे । श्रेयाको यो समस्या बढ्दै गएपछि उनका बुबाले आत्मन अस्पताल एण्ड हिलिङ सेन्टर लगे ।

आत्मनमा साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट साधना थापासँग उनीहरूको भेट भयो । श्रेयाको बुबाले साधनालाई आफ्नो छोरीको समस्या सुनाए । साधनाले श्रेयालाई उनको विषयमा धेरै कुरा सोधिन् । श्रेयाले उसको नाम, बाबाको नाम र विद्यालय बाहेक अन्य प्रश्नको उत्तर थाहा छैन भनिन् ।

श्रेयामा यो समस्या किन देखापर्‍यो भन्ने कुरा पत्ता लगाउन साधनाले श्रेयाको बाबासँग छुट्टै कुरा गर्ने विचार गरिन् । उनले श्रेयालाई एउटा पेपर कलरहरू दिएर ‘तिमीलाई जे-जे कुरा मनपर्छ त्यसको चित्र बनाऊ’ भनेर बुबालाई बाहिर लगेर घरपरिवारको बारेमा सोधिन् ।

श्रेयाकी मम्मी यता परिवार छोडेर विदेश गएकी रहिछिन् र उतै अर्को परिवार सुरु गरिछिन् । त्यसैले उनको मम्मीसँग खासै कुरा हुँदैन थियो । श्रेया यता बुबासँग बस्थिन् उनको मम्मी अर्कै परिवारसँग बस्ने कुरा उनलाई थाहा थिएन । उनकी मम्मीले कहिलेकाहीं मात्र भिडियोकल गर्थिन् । भिडियोकलमा पछाडि उनले बच्चाको खेलौनाहरू देख्थिन् त्यो कसको हो भनेर सोध्थिन् तर उत्तर पाउँदिन थिइन् ।

मम्मीले राम्ररी कुरा नगरेको, आफूले सोधेको प्रश्नको उत्तर नदिएको उनलाई मन पर्दैन थियो । मेरी मम्मीले किन यस्तो गरेको होला ? मेरो के गल्ती छ भन्ने कुराले उनलाई पिरोलिरहन्थ्यो । त्यसैले उनले पनि अरूले सोधेको प्रश्नको उत्तर दिन छाडिछिन् । कसैले केही सोधे मलाई थाहा छैन भन्न थालिन् । श्रेयाको बुबाको कुरा सुनेर साधना श्रेया भएको कोठामा छिरिन् । श्रेयाले अघि साधनाले सोधका प्रश्नहरूको जवाफ चित्रमार्फत दिइन् । आफूलाई मनपर्ने खाना, मनपर्ने ठाउँ लगायतको कुराको चित्र बनाएकी रहिछन् ।

१३ वर्षीय प्रशान्त राई (नाम परिवर्तन) लाई विद्यालय जान खासै मन पर्दैन थियो । उसको पढाइ अलि कमजोर भएको कारण उनको शिक्षकले उनलाई एउटै कुरा भनिरहन्थे ‘हाम्रो पालामा हामीले कत्ति धेरै दु:ख गरेर पढ्यौं, तिमीहरूले यति धेरै सुख सुविधा पाउँदा पनि राम्ररी पढ्दैनौ । राम्ररी पढेनौ भने तिमीहरूले भविष्यमा राम्रो गर्न सक्दैनौं ।’

शिक्षकको कुरा सुनेर प्रशान्तलाई तनाव हुन्थ्यो, डर लाग्थ्यो । उनलाई विद्यालय पनि जान मन लाग्दैन थियो । एक्लै बस्न मन पर्थ्यो । शिक्षक आफ्नो अगाडि नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यसरी आफ्नो कुरा कसैलाई पनि खुलेर भन्न नसक्दा उसलाई एन्जाइटीको समस्या देखा पर्‍यो ।

यी माथिका त प्रतिनिधि पात्र मात्र हुन्, पछिल्लो समय बालबालिकामा मानिसक समस्या बढ्दै गएको मनोपरामर्शदाता साधना बताउँछिन् । ‘बालबालिकामा मानसिक समस्या देखापर्ने कारण उसको वरवरको वातावरण, पारिवारिक माहौल र विद्यालयको माहौल आदि हुन्छ,’ उनी भन्छिन् ।

साधना थापा, साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट

स्कुल वा घरपरिवारमा तनावजन्य वातावरण छ भने बच्चामा चिन्ता, उदासी लगायतका समस्या देखिने मनोचिकित्सक डा. रचना शर्मा बताउँछिन् । ‘समयमा नै यस्ता समस्यालाई ध्यान नपुर्‍याएमा बच्चाहरूमा कडा खालका मानसिक रोगहरू पनि देखिने खतरा रहन्छ,’ उनी भन्छिन् ।

घरपरिवारमा हुने तनाव, चिन्ता, झैझगडा, हिंसा या दुर्व्यवहारले बच्चामा एन्जाइटी र डिप्रेसन जस्ता मानसिक समस्या देखा पर्नसक्ने शर्मा बताउँछिन् ।

बच्चालाई मानसिक समस्या छ भने यस्ता संकेत दिन सक्छन्

बालबालिकाले आफ्नो समस्या प्रष्ट रुपमा अभिव्यक्त गर्न सक्दैनन् । उदाहरणको रुपमा विद्यालय जान मन लागेन भन्छन्, केही कुरामा उसलाई डर लागिरहेको छ भन्न सक्ने मनोचिकित्सक डा. शर्मा बताउँछिन् ।

‘बालबालिकामा खुलेर कुरा नगर्ने, जिद्दी गर्ने स्वभाव र अभ्यास बढिरहेको छ भने उनीहरूमा मानसिक समस्या बढेको हुनसक्छ,’ उनी भन्छिन् ।

‘बच्चाले स्कुल जान मन छैन भन्छ भने त्यसरी उसले बहाना नबनाएर आफ्नो समस्या अभिव्यक्त गरेको हुनसक्छ, त्यो कुरालाई अभिभावकले बुझ्नु जरुरी हुन्छ,’ शर्मा भन्छिन्, ‘बालबालिकाले कुनै समस्या सुनायो भने त्यसलाई ध्यान दिएर सुन्नुपर्छ । उसले समस्या सुनाएपछि अरू पनि यस्ता समस्या भए मलाई भन भनेर अभिभावकले उसका कुरा धेरै सुनिदिनुपर्छ ।’

अभिभावकलाई आफ्नो बच्चाको स्वभाव र व्यवहार थाहा हुन्छ । स्वभाव र व्यवहारमा परिवर्तन आउन थाल्यो भने समस्या छ भन्ने बुझ्नुपर्छ । यसबारे अभिभावक र विद्यालयका शिक्षक र शिक्षिकाहरू पनि बढी सतर्क हुनुपर्ने शर्मा सुझाउँछिन् ।

डा. रचना शर्मा, मनोचिकित्सक

यी कुराले पनि बच्चालाई तनाव हुनसक्छ

बालबालिकालाई अभिभावकले अरूसँग तुलना गर्ने गर्छन् । यसले बच्चालाई तनाव दिने मानसिक परामर्शदाता साधना थापा बताउँछिन् । ‘अभिभावकले सबैभन्दा धेरै तुलना पढाइमा गरेको पाइन्छ, उसको छोरा त गणित र विज्ञानमा कति राम्रो छ मेरो बच्चा त छैन, उसको बच्चाले यति राम्रो ग्रेड ल्यायो । मेरोले ल्याएन आदि  ।’

अर्को भनेको मेरो बच्चा सामाजिक छैन, अर्काको बच्चा सामाजिक छ । मासको अगाडि राम्ररी बोल्छ, मेरो बच्चा बोल्दैन भनेर तुलना गर्न थाल्छन् । जसले बच्चामा तनाव सिर्जना गर्छ र बिस्तारै त्यो तनाव मानसिक समस्यामा परिणत हुनसक्ने उनी बताउँछिन् ।

धेरै खालका मानसिक समस्या विद्यालयबाटै पनि सुरु हुन्छन् । शिक्षकले गर्ने व्यवहारबाट पनि बालबालिकामा तनाव सिर्जना हुनसक्ने थापा बताउँछिन् । ‘विद्यालयमा साथीहरूले हेप्ने, होच्याउने, गिज्याउने गर्न सक्छन् । यसले पनि उनीहरूमा मानसिक समस्या उत्पन्न हुन्छ,’ उनी भन्छिन् ।

बच्चालाई यस्ता मानसिक समस्याबाट बचाउन के गर्ने ? 

बालबालिकालाई पढाउन मात्रै खोज्दा पनि समस्या बढेका छन् । उनीहरूलाई पढाउनुभन्दा पनि सिकाउनु ठूलो कुरा हो । विद्यालय पढ्न होइन, सिक्न पठाउने हो । घरमा पनि अभिभावकहरूले पढाउने होइन सिकाउने हो भन्ने बुझ्नुपर्छ । यसका लागि अभिभावकहरू पनि तनावरहित अवस्थामा हुनुपर्ने थापा बताउँछिन् ।

घर र विद्यालयमा हाम्रा बालबालिकाले खुलेर कुरा गर्न सक्ने वातावरण हुँदैन । त्यसैले दुवै ठाउँमा बच्चाले आफ्ना समस्या वा भावना व्यक्त गर्न सक्ने वातावरण सिर्जना गरिदिन मनोचिकित्सक शर्मा सुझाउँछिन् ।

‘अभिभावकहरूले आफ्ना बालबालिकालाई समय दिनुपर्छ । दिनभरि अफिसमा व्यस्त भएपनि बेलुका घर फर्किएपछि मोबाइल, टिभी लगायत वस्तुहरू हेर्न छोडेर बालबालिकासँगै समय बिताउनुपर्छ,’ उनी भन्छिन्, ‘जब बालबालिकाको भावना, व्यवहार, सोचाइमा परिवर्तन देखिन थाल्छ र त्यो परिवर्तनले दैनिक क्रियाकलाप गर्न नसक्ने स्थितिमा पुग्छन् तब बच्चालाई मनोचिकित्सक, क्लिनिकल मनोविद् तथा  मनोपरामर्शदाताको सल्लाहमा उपचार गर्नुपर्छ ।’

अभिभावक बालबच्चा मानसिक स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय