+

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

२०८१ जेठ  १३ गते १८:२९ २०८१ जेठ १३ गते १८:२९
Shares
बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

घाँटी र जिब्रोको पछाडि भागमा दुवैतिर बदाम आकारको दुईवटा ग्रन्थी हुन्छन्, जसलाई टन्सिल भनिन्छ । यिनै ग्रन्थी सुन्निएर समस्या आउँदा घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस भनिन्छ । यो ग्रन्थीले रोगसँग लड्ने क्षमताको विकास गर्छ । यसले हाम्रो नाक र मुखबाट आउने रोगका कीटाणु (भाइरस, ब्याक्टेरिया) लाई शरीरभित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम गर्छ । त्यसैले टन्सिललाई घाँटीको द्वारपाल पनि भनिन्छ ।

उमेर बढ्दै गएपछि टन्सिलको महत्वपूर्ण भूमिका कम हुँदै जान्छ । शरीर आफैंले रोगसँग लड्ने क्षमताको विकास गर्दै जान्छ ।

ज्वरो आउने, घाँटी दुख्ने, निल्न गाह्रो हुने, घाँटीमा वरिपरि र बाहिर गाँठागुठी आउने, टन्सिल हुने भाग सुन्निने, रातो देखिने र त्यसमा सेतो पहेंलो फोका देखिने टन्सिलका लक्षण हुन् । टन्सिलाइटिस हुँदा पिप जम्ने समस्या झन् बढ्दै जाने, मुख खोल्न र बोल्न गाह्रो हुने हुन्छ । यस्तो अवस्थामा पेन किलर, एन्टिबायोटिकसँगै पिप निकाल्नुपर्ने हुन्छ । कहिलेकाहीं शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

टन्सिल निकाल्ने शल्यक्रिया

शल्यक्रिया गरेर दुवै टन्सिल निकाल्ने प्रक्रियालाई टन्सिलक्टोमी भनिन्छ । यो शल्यक्रिया पूरै शरीर लठ्याएर  बेहोस पारेर गर्ने गरिन्छ । त्यसका लागि केही दिन अस्पतालमा नै बस्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिले शल्यक्रिया गर्नुपर्छ ?

सामान्यतया टन्सिल भाइरल संक्रमणको कारणले हुन्छ, जुन दुई-चार दिनदेखि हप्ता-दश दिनसम्ममा आफैं ठीक हुन्छ । तर कुनै कुनै टन्सिलाइटिस आफैं ठीक नभएर बढ्दै जाने हुन्छ । यसमा पटक-पटक ज्वरो आउने, घाँटी दुख्ने तथा पिप जम्ने हुन्छ । यस्तो समस्यामा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

टन्सिलको शल्यक्रिया गरेपछि हुने फाइदा र बेफाइदा

बारम्बार टन्सिलको संक्रमण हुने, बारम्बार औषधि खाइराख्नुपर्ने समस्या र टन्सिलको संक्रमणको कारण हुने दीर्घकालीन जटिलताबाट बच्न टन्सिलको शल्यक्रिया गर्न सकिन्छ ।

बेफाइदामा सामान्यतया टन्सिलको शल्यक्रियापछि घाँटीमा घाउ हुने भएकाले घाँटी दुख्ने, खानेकुरा निल्न गाह्रो हुने, ज्वरो आउने हुने हुन्छ । कसैकसैलाई टन्सिल निकालेको घाउमा रगत आउने सम्भावना हुनसक्छ । यसो भएमा चिकित्सकको सल्लाहबमोजिम उपचार गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

शल्यक्रियापछि बिरामीले औषधि वा खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । बिरामीले राम्रोसँग खाना खाइसकेपछि मुख कुल्ला नगरेमा र चिकित्सकको सल्लाह बमोजिम औषधि नखाएमा घाउ पाक्न सक्छ । जसकारण ज्वरो आउने हुनसक्छ । कहिलेकाहीं जिब्रोको स्वाद अलिकति फरक हुनसक्छ, जुन समयसँगै ठीक हुन्छ ।

यसको शल्यक्रियापछि मुख खोलेर हेर्दा घाउ सेतो, पहेंलो झिल्लीले ढाक्ने गर्छ, जुन घाउ निको हुने सामान्य प्रक्रिया हो । सेतो झिल्ली बिस्तारै घाउ निको हुँदै गर्दा नर्मल छाला बन्दै गएपछि हराउँछ । घाउमा रगत जम्ने वा रगत निस्केला जस्तो भएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

टन्सिलको शल्यक्रियापछि स्वरमा परिवर्तन हुन्छ ?

धेरैजसो बिरामीले टन्सिलको शल्यक्रियापछि स्वरमा परिवर्तन आउँछ भन्ने जिज्ञासा राख्छन् । किनभने आम मानिसमा अहिले पनि टन्सिलको शल्यक्रियापछि स्वरमा बदलाव आउन भन्ने सोच्छन्, जुन एकदम गलत हो । टन्सिलको शल्यक्रिया गर्दा स्वरमा परिवर्तन आउँदैन ।

बारम्बार टन्सिल संक्रमण हुँदा के हुन्छ ?

बारम्बार टन्सिल हुँदा र समयमा उपचार नगर्नाले शरीरमा दीर्घकालीन समस्या निम्तिन सक्छ । टन्सिल पाकेको अवस्थामा मुटुको भल्बहरुमा असर गरेर मुटुको भल्बमा समस्या भई बाथ, मुटुरोग तथा मिर्गौलामा समस्या हुन जान्छ । यसले गर्दा मुटु कमजोर हुने र शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्छ । त्यस्तै जीवनभर औषधि लिनुपर्ने हुनसक्छ ।

टन्सिलको शल्यक्रिया पछि के खाने ?

सामान्यतया शल्यक्रियापछि घाउले गर्दा दुखाइ हुने भएकाले सुरुसुरुमा खान निल्न गाह्रो हुन्छ । त्यसैले झोल र नरम सहजै पच्ने खानेकुरा जस्तै ज्वानोको रस, ताजा फलफूलको जुस, जाउलो, हरियो सागसब्जी खानुपर्छ । कतिपयले घाउ दुखाइको कारण खानेकुरा नखाने गर्छन् ।

यसले घाउ झन् पाक्ने, रगत आउने समस्या हुनसक्छ । त्यसैले थोरै भएपनि खानेकुरा खानुपर्छ । यसले शल्यक्रियाको घाउ छिटो निको पार्न मद्दत गर्छ ।

टन्सिल डा. नवीन लागेजु मुख स्वास्थ्य
डा. नवीन लागेजु
लेखक
डा. नवीन लागेजु
नाक कान घाँटीरोग विशेषज्ञ

डा. लागेजु हाल काठमाडौंको महाराजगञ्जस्थित  नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमएस गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९१२९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग