+

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

२०८१ जेठ  १३ गते १८:२९ २०८१ जेठ १३ गते १८:२९
बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

घाँटी र जिब्रोको पछाडि भागमा दुवैतिर बदाम आकारको दुईवटा ग्रन्थी हुन्छन्, जसलाई टन्सिल भनिन्छ । यिनै ग्रन्थी सुन्निएर समस्या आउँदा घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस भनिन्छ । यो ग्रन्थीले रोगसँग लड्ने क्षमताको विकास गर्छ । यसले हाम्रो नाक र मुखबाट आउने रोगका कीटाणु (भाइरस, ब्याक्टेरिया) लाई शरीरभित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम गर्छ । त्यसैले टन्सिललाई घाँटीको द्वारपाल पनि भनिन्छ ।

उमेर बढ्दै गएपछि टन्सिलको महत्वपूर्ण भूमिका कम हुँदै जान्छ । शरीर आफैंले रोगसँग लड्ने क्षमताको विकास गर्दै जान्छ ।

ज्वरो आउने, घाँटी दुख्ने, निल्न गाह्रो हुने, घाँटीमा वरिपरि र बाहिर गाँठागुठी आउने, टन्सिल हुने भाग सुन्निने, रातो देखिने र त्यसमा सेतो पहेंलो फोका देखिने टन्सिलका लक्षण हुन् । टन्सिलाइटिस हुँदा पिप जम्ने समस्या झन् बढ्दै जाने, मुख खोल्न र बोल्न गाह्रो हुने हुन्छ । यस्तो अवस्थामा पेन किलर, एन्टिबायोटिकसँगै पिप निकाल्नुपर्ने हुन्छ । कहिलेकाहीं शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

टन्सिल निकाल्ने शल्यक्रिया

शल्यक्रिया गरेर दुवै टन्सिल निकाल्ने प्रक्रियालाई टन्सिलक्टोमी भनिन्छ । यो शल्यक्रिया पूरै शरीर लठ्याएर  बेहोस पारेर गर्ने गरिन्छ । त्यसका लागि केही दिन अस्पतालमा नै बस्नुपर्ने हुन्छ ।

कस्ता व्यक्तिले शल्यक्रिया गर्नुपर्छ ?

सामान्यतया टन्सिल भाइरल संक्रमणको कारणले हुन्छ, जुन दुई-चार दिनदेखि हप्ता-दश दिनसम्ममा आफैं ठीक हुन्छ । तर कुनै कुनै टन्सिलाइटिस आफैं ठीक नभएर बढ्दै जाने हुन्छ । यसमा पटक-पटक ज्वरो आउने, घाँटी दुख्ने तथा पिप जम्ने हुन्छ । यस्तो समस्यामा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

टन्सिलको शल्यक्रिया गरेपछि हुने फाइदा र बेफाइदा

बारम्बार टन्सिलको संक्रमण हुने, बारम्बार औषधि खाइराख्नुपर्ने समस्या र टन्सिलको संक्रमणको कारण हुने दीर्घकालीन जटिलताबाट बच्न टन्सिलको शल्यक्रिया गर्न सकिन्छ ।

बेफाइदामा सामान्यतया टन्सिलको शल्यक्रियापछि घाँटीमा घाउ हुने भएकाले घाँटी दुख्ने, खानेकुरा निल्न गाह्रो हुने, ज्वरो आउने हुने हुन्छ । कसैकसैलाई टन्सिल निकालेको घाउमा रगत आउने सम्भावना हुनसक्छ । यसो भएमा चिकित्सकको सल्लाहबमोजिम उपचार गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

शल्यक्रियापछि बिरामीले औषधि वा खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । बिरामीले राम्रोसँग खाना खाइसकेपछि मुख कुल्ला नगरेमा र चिकित्सकको सल्लाह बमोजिम औषधि नखाएमा घाउ पाक्न सक्छ । जसकारण ज्वरो आउने हुनसक्छ । कहिलेकाहीं जिब्रोको स्वाद अलिकति फरक हुनसक्छ, जुन समयसँगै ठीक हुन्छ ।

यसको शल्यक्रियापछि मुख खोलेर हेर्दा घाउ सेतो, पहेंलो झिल्लीले ढाक्ने गर्छ, जुन घाउ निको हुने सामान्य प्रक्रिया हो । सेतो झिल्ली बिस्तारै घाउ निको हुँदै गर्दा नर्मल छाला बन्दै गएपछि हराउँछ । घाउमा रगत जम्ने वा रगत निस्केला जस्तो भएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

टन्सिलको शल्यक्रियापछि स्वरमा परिवर्तन हुन्छ ?

धेरैजसो बिरामीले टन्सिलको शल्यक्रियापछि स्वरमा परिवर्तन आउँछ भन्ने जिज्ञासा राख्छन् । किनभने आम मानिसमा अहिले पनि टन्सिलको शल्यक्रियापछि स्वरमा बदलाव आउन भन्ने सोच्छन्, जुन एकदम गलत हो । टन्सिलको शल्यक्रिया गर्दा स्वरमा परिवर्तन आउँदैन ।

बारम्बार टन्सिल संक्रमण हुँदा के हुन्छ ?

बारम्बार टन्सिल हुँदा र समयमा उपचार नगर्नाले शरीरमा दीर्घकालीन समस्या निम्तिन सक्छ । टन्सिल पाकेको अवस्थामा मुटुको भल्बहरुमा असर गरेर मुटुको भल्बमा समस्या भई बाथ, मुटुरोग तथा मिर्गौलामा समस्या हुन जान्छ । यसले गर्दा मुटु कमजोर हुने र शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्छ । त्यस्तै जीवनभर औषधि लिनुपर्ने हुनसक्छ ।

टन्सिलको शल्यक्रिया पछि के खाने ?

सामान्यतया शल्यक्रियापछि घाउले गर्दा दुखाइ हुने भएकाले सुरुसुरुमा खान निल्न गाह्रो हुन्छ । त्यसैले झोल र नरम सहजै पच्ने खानेकुरा जस्तै ज्वानोको रस, ताजा फलफूलको जुस, जाउलो, हरियो सागसब्जी खानुपर्छ । कतिपयले घाउ दुखाइको कारण खानेकुरा नखाने गर्छन् ।

यसले घाउ झन् पाक्ने, रगत आउने समस्या हुनसक्छ । त्यसैले थोरै भएपनि खानेकुरा खानुपर्छ । यसले शल्यक्रियाको घाउ छिटो निको पार्न मद्दत गर्छ ।

टन्सिल डा. नवीन लागेजु मुख स्वास्थ्य
डा. नवीन लागेजु
लेखक
डा. नवीन लागेजु
नाक कान घाँटीरोग विशेषज्ञ

डा. लागेजु हाल काठमाडौंको महाराजगञ्जस्थित  नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमएस गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९१२९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय