News Summary
Generated by OK AI. Editorially reviewed.- परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल वि.सं. २०१६ मा स्थापना भएको नेपालको एक मात्र स्त्री रोग अस्पताल हो।
- अस्पतालमा वार्षिक २२ हजारदेखि २४ हजार महिलाको प्रसूति गराइन्छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल नेपालको एक मात्र स्त्री रोग अस्पताल हो । यो अस्पताल प्रसूति गृहको नामले चिनिन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण संस्थाको रूपमा स्थापित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले महिलाहरूको स्वास्थ्य र मातृत्व सुरक्षामा अमूल्य योगदान दिइरहेको छ ।
यो अस्पतालले विशेष गरी प्रसूति, स्त्री रोग र नवजात शिशुको स्वास्थ्यमा केन्द्रित रही नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।
स्थापना र प्रारम्भिक इतिहास
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्थापना वि.सं. २०१६ मा भएको हो । यो अस्पताल तत्कालीन राजा महेन्द्र शाहकी पत्नी इन्द्रराज्य लक्ष्मी देवी शाहको नाममा स्थापना भएको थियो । स्थापनाको समयमा यो अस्पताल परोपकार संस्थाको सहयोगमा अस्पतालको जग्गा सिंह शमशेरले प्रदान गरेका थिए ।
इन्द्रराज्य लक्ष्मी देवी शाहको सुत्केरी हुन नसकेर मृत्यु भएको थियो । यही कारण यस खालको समस्याबाट अरूको पनि मृत्यु नहोस् भन्ने उद्देश्यले उनको नाममा अस्पताल स्थापना गरिएको कुरा इतिहासमा उल्लेख छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल नेपालको गौरवशाली स्वास्थ्य संस्था हो, जसले ६६ वर्षको अवधिमा लाखौं महिलाहरूलाई प्रसूति र स्त्री रोग सम्बन्धी सेवा प्रदान गरेको छ ।
विस्तार र विकास
अस्पतालले ६६ वर्षको अवधिमा उल्लेखनीय प्रगति गरेको छ । सुरुमा ४० बेडबाट सुरु भएको यो अस्पताल हाल ५१५ बेडको क्षमतामा सञ्चालित छ, र ७०० बेडमा विस्तार गर्ने प्रस्ताव सरकारसमक्ष पेश गरिएको छ । प्रत्येक वर्ष यहाँ २२ हजारदेखि २४ हजार महिलाको प्रसूति गराइन्छ ।
अस्पतालले प्रसूति सेवासँगै स्त्री रोगसम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ, जसमा पाठेघर खस्ने, पाठेघरको ट्युमर, क्यान्सर, रक्तस्राव, अण्डाशयको ट्युमर र प्रजनन सम्बन्धी समस्याहरूको उपचार समावेश छ।
विशिष्टकृत सेवाहरू
अस्पतालले समयसँगै विशिष्टकृत सेवाहरू विस्तार गरेको छ । परोपकार प्रसूति गृह नेपालको पहिलो सरकारी अस्पताल हो जसले निः सन्तान उपचार ‘आईभीएफ’ सेवा सुरु गरेको छ । यो सेवा कुपण्डोलमा रहेको आईभीएफ केन्द्रमा व्यवस्थित रूपमा सञ्चालित छ ।
यो केन्द्रलाई उत्कृष्टता केन्द्र (सेन्टर अफ एक्सिलेन्स) बनाउने योजना छ, र हालसम्म ५ प्रदेश चिकित्सक र नर्सहरूलाई तालिम प्रदान गरिएको छ ।
पिसाब चुहिने समस्याको उपचारका लागि नेपाल सरकार, स्वास्थ्य सेवा विभाग र युनएफपिएसँगको त्रिपक्षीय सम्झौतामार्फत यो सेवा सुरु गरिएको छ । यो सेवा विशेषगरी जटिल प्रसव र सर्जरीबाट प्रभावित महिलाहरूका लागि निःशुल्क प्रदान गरिन्छ । दुईजना चिकित्सकलाई यो सेवाका लागि पाकिस्तानमा तालिमका लागि पठाउने योजना छ ।
प्रसूति गृहले नवजात शिशु स्क्रिनिङ पनि सुरु गरेको छ । वंशाणुगत विकालाङ्ग पहिचान गर्न गत वर्षदेखि ‘न्यू बर्न स्क्रिनिङ’ सेवा सुरु भएको हो । थाइरोइड, फिनाइलकेटोनुरिया, थालासेमिया लगायत ७ वटा वंशाणुगत रोगको पहिचान गर्न सकिन्छ ।
जसमा २००० नवजात शिशुको परीक्षण गरी २० जनाको निदान र उपचार भएको छ । जसले गर्दा नवजात शिशुको मृत्युदर घटाउन मद्दत गर्नेछ ।
फिटल र मातृ इकोकार्डियोग्राफीको सुविधा पनि उपलब्ध छ । जसबाट एक वर्षमा ६ हजार १०० जना बिरामीले सेवा लिइरहेका छन् । गर्भवती महिलाको र नवजात शिशुको मुटुको जाँचका लागि गंगालाल अस्पताल र वीर अस्पतालका विशेषज्ञहरूसँग सहकार्य गरी यो सेवा सञ्चालन गरिएको छ । यो सेवाले बिरामीहरूलाई निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हटाएको छ । यसले विशेषगरी जटिल गर्भावस्थामा मुटुसम्बन्धी समस्याहरूको समयमै पहिचान गरी उपचार गर्न सहयोग गरेको छ ।
अस्पातलमा मानसिक स्वास्थ्य ओपिडीको पनि व्यवस्था छ जसमार्फत १८०० बिरामीले लाभ लिइसकेका छन् । प्रसव पछिका मानसिक स्वास्थ्य समस्याहरूको उपचारका लागि मानसिक स्वास्थ्य ओपिडी सेवा सुरु गरिएको हो ।
डा. श्रीप्रसाद अधिकारी निर्देशक भएपछि के-के गरे ?
वर्तमान निर्देशक डा. श्रीप्रसाद अधिकारीले विगत दुई वर्षमा अस्पतालमा उल्लेखनीय सुधार गरेका छन् । उनी नेतृत्वमा आएपछि चारवटा नयाँ काउन्टर दुई ओपिडी, एक बिलिङ, एक फार्मेसी थपिएका छन् । अनलाइन टिकटिङ प्रणालीलाई व्यवस्थित र उन्नत बनाइएको छ, जसले बिरामीहरूलाई लाइनमा बस्नुपर्ने बाध्यता हटाएको छ । २०८१ असार १५ बाट कुपण्डोलमा सेवा विस्तार भएको छ । आईभीएफ सेवा, निःसन्तान उपचार, सुरक्षित गर्भपतन र नर्सिङ कलेज सञ्चालनमा ल्याइएको छ ।
निः सन्तान उपचार सेवा सुरु भएसँगै ९ हजार १०० जना नि:सन्तानको उपचार गर्न आएका छन् । यसमध्ये ३०० आईयूआई र ४३ जनाले आईभीएफ सेवा लिइसकेको डा. अधिकारी बताउँछन् ।
अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको अस्पताल निर्देशक डा. अधिकारीको भनाइ छ । कुनै बिरामीलाई असर नपुर्याइकन उपचारका अभ्यास सञ्चालन गर्ने उनले बताए ।
फिस्टुला सर्जरीको सुरुवात पनि गरिएको छ । यो सेवा सरकारी अस्पतालमा पहिलो पटक सञ्चालित छ, जसले जटिल प्रसवबाट प्रभावित महिलाहरूलाई निःशुल्क उपचार प्रदान गर्छ ।
पूर्वनिर्देशक डा. शिला बर्माको भनाइ
प्रसूति गृह आफूलाई माइती घरजस्तै लाग्ने पूर्व निर्देशक डा. शिला बर्मा बताउँछिन् । ‘यहाँका स्टाफ र कर्मचारीहरूको समर्पण र सहयोगले मलाई सधैं प्रभावित बनायो, ‘उनी भन्छिन्, ‘म यहाँ काम गर्न पाएकोमा गर्व गर्छु ।’
डा.बर्माका अनुसार उनको कार्यकामा मातृसुरक्षा कार्यक्रम लागू भएको थियो, जुन नेपालभर फैलियो । यो कार्यक्रमले धेरै महिलाहरूलाई सेवा प्रदान गर्यो, तर स्रोत–साधनको कमीले चुनौतीहरू पनि थिए । यहाँको टिमको समर्पण र अस्पताललाई उत्कृष्ट बनाउने चाहनाले यो संस्थालाई यहाँसम्म ल्याएको उनी बताउँछिन् ।
मातृसुरक्षा कार्यक्रमले नेपालको ग्रामीण क्षेत्रमा मातृ मृत्युदर घटाउन उल्लेखनीय योगदान गरेको उनले सुनाइन् । जुन स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
अस्पातलका चुनौतीहरू
अस्पतालले समयसँगै धेरै प्रगति गरे पनि केही चुनौतीहरू कायम छन् । अस्पतालका भवनहरू पुराना छन्, वर्षात् हुँदा पानी चुहिने समस्या छ । नयाँ भवन र क्याबिनको आवश्यकता भएको निर्देशक डा.अधिकारी बताउँछन् ।
अस्पताल हाल समितिको दरबन्दी र करार कर्मचारीहरूबाट सञ्चालित छ । ७०० बेडको प्रस्ताव स्वीकृत भएमा दरबन्दी र सेवाहरू थप गर्न सकिन्छ । बजेट पनि प्रत्येक वर्ष घट्दै गएको छ, जसले सेवा विस्तारमा बाधा पुर्याएको उनको गुनासो छ । सवारी पार्किङको अभाव र ठाउँको कमीले बिरामीहरूलाई असुविधा छ ।
सेवा र समर्पणको प्रतीक
प्रसूति गृह राजपरिवारको दुःखद घटनाबाट जन्मिएर आज नेपालका सबै तहका सेवाग्राहीको विश्वासिलो साथी बनेको छ । यो अस्पतालले निम्न र मध्यम आए भएका महिलाहरूका लागि मात्र होइन, उच्च मध्यम वर्गलाई पनि विशेष सेवाहरू प्रदान गर्दै आएको छ । अस्पतालले हाल वार्षिक १ लाखभन्दा बढी बिरामीहरूलाई ओपिडी सेवा प्रदान गर्छ, जुन नेपालको अन्य सरकारी अस्पतालहरूको तुलनामा उल्लेखनीय छ ।
प्रतिक्रिया 4