News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ गते नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा जेनजी प्रदर्शनका क्रममा गोली लागेका घाइतेहरूको उपचार गरिएको थियो।
- प्रहरीले रबर बुलेटको सट्टा सामान्य गोली प्रहार गर्दा अस्पतालमा गम्भीर चोटपटक भएका बिरामीहरू आएका थिए।
काठमाडौँको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पताल, जहाँ सामान्यतया बिरामीको जीवन रक्षाका लागि दौडधुप हुन्छ प्राय । भदौ २३ गतेको दिन भने अस्पतालले युद्धभूमिको झल्को दिइरहेको थियो ।
जेनजीको प्रदर्शनका कारण काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएपछि नजिकै रहेको सिभिल अस्पताल घाइतले भरिएको थियो । अस्पातलमा घाइतेको संख्या बढेपछि थप चिकित्सक आवश्यक परेको सूचना आएपछि डा. सन्देश लम्साल सिभिल अस्पताल पुगे ।
स्वयंसेवकको रूपमा सेवा गर्न पुगेका डा.लम्सालले अस्पतालमा घाइतेको उपचार गर्दा भोगेको दुई दिनको अनुभव साटेका छन् ।
दुई दिन सिभिल अस्पतालमा जे देखियो
दुई दिनको आन्दोलनको समयमा सिभिल सर्भिस अस्पतालमा मैले अनुभव गरेको अवस्था अत्यन्तै दु:खद् र चिन्ताजनक थियो । घटनास्थलनजिकै भएकाले घाइतेहरू निरन्तर आउँदै थिए । अस्पताललाई सधैं सुरक्षितस्थल मानिन्छ । बिरामीको उपचार प्राथमिकता हुन्छ र बाहिरको राजनीति, क्रोध वा बल प्रयोग भित्र पस्न हुँदैन । तर त्यो दिन मैले देखेको दृश्यले मलाई स्तब्ध बनायो ।
सबैभन्दा पहिले, भीड नियन्त्रण गर्नका लागि प्रयोग गरिने रबर बुलेटको सट्टा वास्तविक गोली प्रयोग भएको देखियो । हामीले उपचार गरेका धेरै घाइतेहरूमा गोली टाउको र छातीमा नै लागेको थियो । यस्तो चोट सामान्यतया ‘भीड नियन्त्रण’का लागि गोली प्रहार गर्दा प्रयोग हुँदैन । कतिपयको अस्पताल आइपुग्दा नै प्राण गइसकेको थियो ।
अस्पतालभित्रको अवस्था अझै भयावह थियो । प्रहरीहरू बन्दुकसहित आपतकालीन कक्षमा पसे । अस्पतालभित्र कुनै पनि घाइतेलाई पहिले स्थिर पारेर मात्र प्रहरीलाई हस्तान्तरण गरिन्छ भन्ने प्रोटोकल छ, तर त्यो दिन प्रहरीहरूको व्यवहार पूर्णतया अराजक थियो ।
एक वरिष्ठ डाक्टरलाई अस्पतालमै कुटपिट गरियो । त्यो क्षण मलाई लाग्यो–यदि डाक्टर नै सुरक्षित छैन भने बिरामीहरूको अवस्था के होला ?
आन्दोलनकारीहरूलाई नियन्त्रण गर्न पुलिसले रबर बुलेटको सट्टा सामान्य गोली प्रयोग गरेको देखियो, जसले गर्दा गम्भीर चोटपटकका केसहरू अस्पतालमा आए । हामीले टाउको, छाती, र पेटमा गोली लागेका बिरामीहरूको उपचार गर्नुपर्यो ।
यस्तो क्रूर व्यवहारले मानवअधिकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मापदण्डहरूको ठाडो उल्लंघन गरेको थियो । अझ चिन्ताजनक कुरा, पुलिस अस्पतालभित्रै बन्दुकसहित प्रवेश गर्न खोज्यो । एकजना वरिष्ठ चिकित्सकमाथि हातपात भयो, जुन कुनै पनि दृष्टिकोणले स्वीकार्य छैन ।
अस्पतालभित्र गोली चलेको र अश्रुग्यासको प्रयोग भएको अवस्था पनि देखियो । यस्तो व्यवहारले अस्पतालको पवित्रता र सुरक्षित स्थलको मान्यता खण्डित भएको महसुस भयो । पहिलो दिन हामीले धेरैजसो गोलीका चोटहरूको उपचार गर्यौँ । विशेषगरी, टाउको र छातीमा गोली लागेका केसहरू अत्यन्तै गम्भीर थिए । एकजना बिरामीको निधारमा गोलीले प्वाल परेको दृश्यले निकै स्तब्ध बनायो ।
हामीले बिरामीहरूलाई रातो, पहेंलो र हरियो जोनमा वर्गीकरण गरेर उपचार गर्यौँ । गम्भीर अवस्थाका बिरामीहरूलाई तत्काल सघन उपचार (रातो जोन) मा राखियो । सामान्य चोटपटक भएकाहरूलाई हरियो जोनमा उपचार गरियो । तर, अधिकांश केसहरू गोलीका चोटसँग सम्बन्धित थिए, जसले पुलिसको अत्यधिक बल प्रयोगको चित्रण गर्छ।
दोस्रो दिन
दोस्रो दिन केसहरूको संख्या केही कम भए पनि क्रूरताको स्तर उस्तै थियो । केही बिरामीहरू स्कुटरमा ल्याइएका थिए, तर उनीहरूले पहिल्यै ज्यान गुमाइसकेका थिए । दोस्रो दिन महानगर प्रहरीले समन्वय गरेर अस्पतालको प्रवेशद्वारमा सुरक्षा व्यवस्था कडा पार्यो । यसले बिरामी र उनका आफन्तहरूको आवागमनलाई व्यवस्थित गर्न सहयोग गर्यो।
महानगर प्रहरीको व्यवहार र समन्वयकारी भूमिकाको म प्रशंसा गर्न चाहन्छु । उनीहरूले अस्पताललाई सुरक्षित राख्न महत्त्वपूर्ण योगदान दिए । यद्यपि, पहिलो दिनको अराजकता र क्रूरताको प्रभाव यति गहिरो थियो कि, दोस्रो दिनको सुधारले पनि त्यसलाई पूर्णरूपमा मेटाउन सकेन ।
यो अवस्थाले मलाई गहिरो पीडा दियो । अस्पतालभित्र पुलिसको हस्तक्षेप र हिंसाले हाम्रो कामलाई जटिल बनायो । हामीले बिरामीको ज्यान जोगाउने प्राथमिकतामा काम गरिरहँदा, पुलिसको व्यवहारले हामीलाई असुरक्षित महसुस गरायो ।
मैले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयलाई सम्पर्क गरेर यस्तो अवस्था रोक्न आग्रह गरें, तर उनीहरूको जवाफ सन्तोषजनक थिएन । म स्वयंसेवकको रूपमा दुई दिन लगातार २४ घण्टा खटिएँ । यो मेरो नियमित काम थिएन, तर चिकित्सकहरूको आह्वानमा म त्यहाँ पुगेको थिएँ । यस्तो संकटको समयमा, हामीले बिरामीको ज्यान जोगाउन हरसम्भव प्रयास गर्यौ, तर पुलिसको असंयमित व्यवहार र अराजकताले हाम्रो प्रयासलाई बाधा पुर्यायो ।
यो घटनाले पुलिसको प्रशिक्षण, संयमता र मानवअधिकारप्रतिको जिम्मेवारीमा ठूलो प्रश्न उठाएको छ । पुलिसको काम जनताको सुरक्षा गर्नु हो, आन्दोलन नियन्त्रण गर्नु हो, न कि अस्पताल जस्तो संवेदनशील स्थलमा हस्तक्षेप गर्नु । गोली चलाउनु अन्तिम विकल्प हुनुपर्छ, र त्यसमा पनि रबर बुलेटबाट सुरु गर्नुपर्छ । अस्पतालमा प्रवेश गर्नुअघि पुलिसले कडा समन्वय र संयमता अपनाउनुपर्छ । साथै, स्वास्थ्य क्षेत्रमा पनि सुधारको खाँचो छ ।
यदि हामीले चिकित्सक र प्रहरी दुवैको क्वालिटी र प्रशिक्षणमा ध्यान नदिने हो भने, यस्ता घटनाहरू दोहोरिरहनेछन् । यो घटना नेपालको स्वास्थ्य र सुरक्षा क्षेत्रको कमजोरीको प्रतिबिम्ब हो । पुलिसले जनताको विश्वास जित्न संयमता र जिम्मेवारी अपनाउनुपर्छ । अस्पताललाई सधैं सुरक्षित र तटस्थ स्थलको रूपमा राख्नुपर्छ ।
यो अनुभवले मलाई गहिरो छाप छोड्यो, र म आशा गर्छु कि भविष्यमा यस्तो अराजकता दोहोरिनेछैन । महानगर प्रहरीलाई धन्यवाद दिँदै, म सबै पक्षलाई संयमित र मानवीय व्यवहार अपनाउन अनुरोध गर्छु । हामीले जनताको विश्वास जित्नु छ, र त्यसका लागि संयमता र जिम्मेवारी अपरिहार्य छ ।
प्रतिक्रिया 4