+

रक्सी पिउने व्यक्तिमा अचानक दिसा र बान्तामा रगत देखिए के हुन्छ ?

२०८१ जेठ  १५ गते १७:२२ २०८१ जेठ १५ गते १७:२२
रक्सी पिउने व्यक्तिमा अचानक दिसा र बान्तामा रगत देखिए के हुन्छ ?

लामो समयदेखि रक्सी पिउने व्यक्तिमा कहिलेकाहीं अचानक रगत बान्ता गर्ने वा दिसामा पनि रगत देखिने समस्या हुनसक्छ । यो एक आपतकालीन अवस्था हो ।

जब रगत बान्ता गर्न थाल्छन्, तुरुन्त अस्पताल लैजानुपर्ने हुन्छ । यो स्थिति किन आउँछ ? के कारणले रगत बान्ता गर्ने वा दिसामा रगत देखिने हुन्छ ? यसको उपचार कति सहज छ ? यसलाई विस्तारमा बुझौं ।

रक्सीले गर्ने हानि

विश्व स्वास्थ्य संगठनका अनुसार रक्सी सेवनको लागि कुनै सुरक्षित सीमा छैन र यसलाई कुनै पनि मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

लामो समय लगातार रक्सीको सेवनले शरीरमा विभिन्न समस्या निम्तिन सक्छ । मदिरा सेवनले उच्च रक्तचाप, मुटुरोग, पक्षघात, कलेजो र पाचनसम्बन्धी समस्या लगायत विभिन्न समस्याहरू निम्तिन्छन् ।

खासगरी रक्सी पिउनेहरूमा कहिलेकाहीं पेट दुख्ने, दिसामा रगत आउने, रगत नै बान्ता हुने समस्या आउन सक्छ । यसरी पेट दुख्छ र  दिसा तथा बान्तामा रगत आउँछ भने रक्सीले शरीरको आन्तरिक अंगमा असर गरेको हुनसक्छ ।

रक्सी सेवनपछि रगतको माध्यमबाट रक्सी कलेजोमा जान्छ । त्यसलाई कलेजोले मेटाबोलाइज गर्छ अर्थात् टुक्र्याउँछ । मेटाबोलाइजेसनको माध्यमबाट शरीरबाट अल्कोहललाई फाल्ने काम कलेजोले गर्छ । त्यही मेटाबोलाइज हुने प्रक्रियामा विभिन्न तरिकाका हानिकारक रसायनहरू उत्पादन हुन्छन् । ती केमिकलहरूले कलेजोलाई असर पुर्‍याउँछन् । लामो समयसम्म पटक-पटक असर हुने हुँदा त्यसले कलेजोको स्वास्थ्यमा नराम्रो प्रभाव पार्छन् ।

कलेजो त्यस्तो अंग हो, जुन खराब भएपनि फेरि पुनर्स्थापित हुनसक्छ । तर मदिराले कलेजोको पुनर्स्थापित हुने क्षमता कमजोर बनाइदिन्छ । नियमित रक्सी खाने व्यक्तिको कलेजो बिग्रिएर फेल हुने अवस्थामा समेत पुग्छ, जसलाई लिभर सिरोसिस भनिन्छ ।

लिभर सिरोसिस हुँदा पेटमा पानी जम्ने भएकाले पेट फुलेर आउने र श्वास फेर्न गाह्रो हुने हुन्छ । खुट्टा फुल्ने र सुन्निने, हिंड्न गाह्रो हुने, बान्ता हुँदा मुखबाट रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने, पिसाब कम हुने, बेलाबेलामा होस गुमाउने समस्या हुन्छ । लिभर सिरोसिस बढ्दै गएमा कलेजोको क्यान्सर समेत हुनसक्छ ।

यस्तो अवस्थामा तुरुन्त के गर्ने ?

यस्तो अवस्था भनेको इमर्जेन्सी अवस्था हो । त्यसैले तुरुन्त अस्पताल जानुपर्छ । कलेजो के-कति बिग्रिएको छ, अरू के-के समस्या छन् भन्ने पत्ता लगाउन केही जाँच गर्नुपर्ने हुन्छ ।

रगतको जाँच, पिसाबको जाँच, भिडियो एक्स-रे, सिटी स्क्यान, इन्डोस्कोपी आदिबाट कलेजोको अवस्था पत्ता लगाइन्छ । समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । बिरामीलाई बचाउन सकिन्छ, तर नियमित डाक्टरलाई देखाइरहनुपर्छ । कतिपय अवस्थामा औषधिबाटै लिभर सिरोसिसको पूर्ण उपचार  नहुन सक्छ र कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नुबाहेक अन्य विकल्प बाँकी रहँदैन ।

उपचारपछि कलेजो सामान्य अवस्थामा फर्किन सक्छ ?

सिरोसिस भइसकेपछि पनि त्यसको कारणलाई निष्क्रिय पार्न सके कलेजोलाई फेल हुनबाट रोक्न सकिन्छ । समस्या बढ्न नदिन, कलेजो थप बिग्रिन नदिन औषधि प्रयोग गर्न सकिन्छ ।

तर जब कलेजो आफ्नो सामान्य कार्यहरू गर्न नसक्ने हदसम्म क्षतिग्रस्त हुन्छ र कलेजो असफल हुने सम्भावना हुन्छ भने कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

कलेजो प्रत्यारोपणपछि बिरामी निको हुने विभिन्न चरण हुन्छ । प्रत्यारोपणपछि बिरामी सातदेखि १४ दिनसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ । त्यसपछि बिरामीको अवस्था हेरेर डिस्चार्ज गर्न सकिन्छ । डिस्चार्जपछि हप्तैपिछे फलोअपको लागि अस्पताल जानुपर्ने हुन्छ ।

प्रत्यारोपण गरेको दुई हप्ताबाट नै बिरामीले सामान्य हिंडडुल गर्न, आफैं खाना खान सक्छन् । तर पूर्ण रूपमा निको हुन कम्तीमा तीनदेखि पाँच महिना लाग्छ । बिरामीको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ ।

कलेजो प्रत्यारोपणपछि पनि बिरामीले फेरि रक्सी सेवन गरेमा कलेजो फेरि बिग्रिन सक्छ ।

कलेजोलाई बिग्रिनबाट बचाउने उपाय

कलेजोलाई स्वस्थ राख्न तौल नियन्त्रण गर्नु जरुरी छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । धेरै भुटेको वा बोसोयुक्त खानेकुरा खाँदा फ्याटी लिभरको समस्या हुनसक्छ । त्यसैले सन्तुलित स्वस्थ आहार अपनाउनुपर्छ । प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, नियमित रूपमा योग वा व्यायाम गर्ने, कलेजोमा कुनै किसिमको समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

डा. शशीकुमार थापा दिसामा रगत बान्तामा रगत मदिरा स्वास्थ्य
डा. शशीकुमार थापा
लेखक
डा. शशीकुमार थापा
वरिष्ठ ग्यास्ट्रोलोजिस्ट

डा. थापा हाल काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ४०९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय