+
+

नसोचेको जिम्मेवारीमा रुक्मिणी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते २१:०८

११ माघ, विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको महिला कोटामा नेकपा एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छन् । कांग्रेससहित सत्तारुढ गठबन्धनको समर्थनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी चम्पादेवी कार्कीलाई पराजित गर्दै उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएकी हुन् ।

रुक्मिणी कोइराला नेकपा एमालेको पुरानो कार्यकर्ता हुन् । पार्टीको कामसँगै उनी खेती किसानी गर्छिन् ।

जिल्ला हुँदै प्रदेश कमिटीले उम्मेदवारको रुपमा सिफारिस गर्दा उनलाई राष्ट्रियसभामा उम्मेदवार बन्ने पत्यार नै लागेको थिएन । तर केन्द्रबाट एक्कासी नागरिकता माग भएपछि उनले सोधीखोजी गरिन् ।

उम्मेदवार बनाउने निर्णय भएपछि उनी उत्साहित भइन् । पार्टीले न्याय गरेको अनुभूति गरिन् । ‘केन्द्रबाट नागरिकता मागेपछि उम्मेदवार हुने जानकारी पाएँ’, निर्वाचित भएपछि उनले भनिन्, ‘सुरुदेखि निरन्तर लागेको लाग्यै थिएँ, बल्ल मेरो पालो आएछ जस्तै लाग्यो ।’

सत्तारुढ गठबन्धन दल भन्दा मतभार कमजोर भएका कारण नेताहरुले जित्ने आकलन गरेका थिएनन् । तर उनले चुनाव जितिन् । चुनाव जितेपछि कोइरालाले राष्ट्रिय सभामा महिलाका मुद्दालाई उठान गर्ने बताइन् ।

‘२०३२–३३ सालदेखि सिकेका कुरा त्यसका अनुभवका आधारमा राष्ट्रिय सभामा आवाज उठाउँछु’, उनले भनिन्,‘त्यहाँका मुद्दाहरु अध्ययन गरेर आवाज उठाउँछु ।’

राष्ट्रिय सभा उम्मेदवार बनेपछि एकाएक चर्चामा आएकी कोइरालाको परिवार तत्कालिन मालेसँग जोडिएको छ । उनका जेठाजू स्वर्गीय ओम कोइराला जननेता मदन भण्डारीका नजिकका सहकर्मी थिए ।

भूमिगतकालमा उनको घर पार्टीको सेल्टर थियो । उनको घरमा नेताहरुको आउजाउ बाक्लो हुन्थ्यो । ‘भूमिगत कालमा उहाँको घर पार्टीका नेता बस्ने सेल्टर थियो’, नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी भन्छन् ,‘उहाँहरुले २०३३ तिरदेखि नै पार्टी राजनीतिमा निरन्तर हुनुहुन्थ्यो ।’ पार्टीमा निरन्तर जोडिएर संघर्ष गरेका कारण जिल्ला र प्रदेश कमिटीको सिफारिसका आधारमा कोइरालाले टिकट पाएकी थिइन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी इटहरी उपमहानगरपालिकाको उपप्रमुखको दाबेदार थिइन् । तर पार्टीले क्लस्टर मिलाउन भन्दै संगीता चौधरीलाई टिकट दियो । चौधरी उपमेयरमा निर्वाचित भइन् । टिकट नपाएपनि कोइराला पार्टी अभियानमा लागिरहिन् । स्थानीय तह निर्वाचनमा उनका देवर माधव कोइरालाले इटहरी उपमहानगरपालिका–२ को वडा अध्यक्ष जिते ।

कोइराला गत असोजमा सम्पन्न एमाले कोशी प्रदेश अधिवेशनमा प्रदेश सदस्यको उम्मेदवार पनि थिइन्, तर पराजित भइन् । पराजित कोइरालालाई प्रदेश कमिटीले प्रदेशको सल्लाहकार बनाएको थियो । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज पनि हुन् । उनका दुई छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?