+
+
राष्ट्रियसभा निर्वाचन :

एमालेको अर्को सरप्राइज जित

कांग्रेसमा डर थियो, क्षति भयो माओवादीलाई

त्यो सरप्राइज जितलाई दुई वर्षपछि एमालेले दोहोर्‍याएको छ । अनि सरप्राइज हारको पीडा भने माओवादीकी चम्पादेवीले खेप्नु परेको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८० माघ ११ गते २२:४७
कोशीमा राष्ट्रियसभामा निर्वाचित भएको प्रमाणपत्र लिँदै एमालेकी रुक्मिणी कोइराला । तस्वीर : रासस

११ माघ, काठमाडौं । राष्ट्रियसभा चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा फेरि अर्को सर्प्राइज जित निकालेको छ । सत्ता गठबन्धनबाट महिलातर्फ उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन् ।

कोइरालाले ५ हजार ८६ मतभार पाएर जित्दा कार्कीले ४ हजार ९९२ मतभार मात्रै पाइन् । अर्थात् ९४ मतभारको झिनो अन्तरले कार्की पछाडि परिन् । कार्कीलाई प्रदेशसभाका ४४ र पालिका पदाधिकारीहरुबाट १४० जनाको मत परेको छ । तर कोइरालाले १३१ जना पालिका पदाधिकारी र ४९ प्रदेशसभा सदस्यको मत पाएर सरप्राइज जित निकालिन् ।

जबकी प्रदेशसभामा ४० जना प्रदेशसभा सदस्य र ११० जना पालिका पदाधिकारी गरी ४ हजार २१० मतभार मात्रै थियो ।

राप्रपासँग गठबन्धन गरेकाले कोइरालाले ४ हजार ६०४ मतभार पाउने मताधार थियो । राप्रपासँग कोशीमा ६ जना प्रदेशसभा सदस्य र ४ जना पालिका पदाधिकारी छन् ।

तर बन्द मतदानको लाभ उठाउँदै एमालेकी कोइरालाले सत्ता गठबन्धनविरुद्ध जित निकालिन् । ‘गठबन्धनकै जनप्रतिनिधिले मत हालेर एमालेलाई जिताउने बदमासी भयो, यसको राजनीतिक छानबिन हुन्छ’, नेपाली कांग्रेस प्रदेशसभाका प्रमुख सचेतक भूपेन्द्र राई भन्छन् ।

यसरी फ्लोरक्रस हुनसक्ने डर गठबन्धनका नेताहरुमा थियो । त्यसैले मतदान हुने अघिल्लो दिन (बुधबार) सम्म पनि निर्वाचन आचारसंहिता विपरीत भेला तथा चियापान आयोजना गरिएको थियो । दुवै तर्फका नेताहरुले आचारसंहिता विपरीत गतिविधि गरेपछि निर्वाचन आयोगले मोरङ जिल्ला प्रशासनलाई २४ घण्टे प्रतिवेदन समेत माग्नुपर्‍यो ।

तर आफैंले बनाएको निर्वाचन संहिता विपरीतको गतिविधिमा सत्ता पक्षले आफ्ना उम्मेद्वारहरु कृष्णप्रसाद सिटौला (अन्यतर्फ) र चम्पादेवी कार्की (महिलातर्फ) लाई जिताउनकै लागि कांग्रेस नेता डा.शेखर कोइरालाको निवासमा बुधबार चियापान राखे । डा.शेखरकै नेतृत्वमा उम्मेदवार सिटौला, महामन्त्री गगन थापा सहितका शीर्ष नेताहरु सहभागी थिए ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई विराटनगर पठाएका थिए ।

एमालेले पनि आफ्ना उम्मेदवारहरु उद्धव पौडेल (अन्य तर्फ) र रुक्मिणी कोइराला (महिला तर्फ) जिताउन एक होटलमा भेला गरेका थिए । आफ्नो मात्रै मतले नपुग्ने भएकाले एमाले र राप्रपालाई गठबन्धनकै मत तान्नुपर्ने थियो । सत्ता पक्षकै मत तानेर पौडेल र कोइरालालाई जिताउने उद्देश्यले महासचिव शंकर पोखरेल आफैं विराटनगर पुगेका थिए ।

तर एमालेकी कोइरालाले जिते पनि राप्रपाका पौडेलले जित्न सकेनन् । पौडेलले ४ हजार ५६२ मतभार पाउँदा सत्ता गठबन्धनका उम्मेदवार रहेका कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले ५ हजार २९२ मतभार पाए । अन्य तर्फको यो कोटामा राप्रपाका पौडेललाई समर्थन गरेपनि एमालेका पर्शुराम अधिकारीले १४८ मतभार पाए ।

यो नतिजासँगै पौडेललाई जिताएर २२ वर्षपछि राष्ट्रियसभामा पुग्ने सपना पूरा नहुँदा राप्रपाका नेताहरु एमालेसँग असन्तुष्ट देखिएका छन् । ‘एमालेले धोका दियो, इमान्दार हुँदा हामीले जित्ने थियौ’, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन् ।

तर पौडेल हारेर सिटौला जित्दा सत्ता गठबन्धन नेताहरुको प्रयत्न भने सफल भएको छ । किनकि मत परिणाम नआउँदासम्म गठबन्धनका नेताहरुमा सिटौला हार्न सक्ने भय थियो । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाएको सिटौला अन्तर्घातबाटै पराजित हुनसक्ने अनुमानकै कारण सत्तारुढ नेताहरुले कोशी प्रदेशमा गतिविधि बढाएका थिए ।

निर्वाचित भएको प्रमाणपत्र लिँदै कांग्रेस नेता कृष्णप्रसाद सिटौला ।

विशेषगरी अन्तर्घात चिन्ताले कांग्रेस नेताहरु सतर्क थिए । गत वर्ष प्रतिनिधिसभा चुनाव हारेकाले राष्ट्रियसभामा त्यो नियति दोहोरिन नदिन स्वयं सिटौला मनोनयन दर्तापछि धेरैजसो जिल्ला पुगेका थिए ।

सत्ता गठबन्धनसँग चुनाव जित्ने प्रष्ट मत हुँदाहुँदै पनि सिटौलाले चिन्ता गर्नुको पछाडि कांग्रेसभित्रको अन्तसंघर्ष र अघिल्लो राष्ट्रियसभा चुनावको नतिजा थियो । किनकि १३ माघ २०७८ मा सम्पन्न राष्ट्रियसभा चुनावमा एमालेले आजकै जस्तो सरप्राइज जित निकालेको थियो ।

त्यसबेला अहिलेकै सत्ता गठबन्धन (त्यसबेला पाँचदलीय) विरुद्ध राष्ट्रियसभाका १९ पदका निम्ति एक्लै चुनावमा भाग लिएको एमालेले कोशीमा सोनाम ग्याल्जेन शेर्पालाई जिताएको थियो । अल्पसंख्यक कोटातर्फ शेर्पाले सत्ता गठबन्धन तर्फबाट उम्मेदवार रहेका जनता समाजवादी पार्टी (जसपा) का हेमराज राईलाई हराएका थिए ।

शेर्पाले प्रदेशसभाका ४२ र स्थानीय तहका पदाधिकारीहरुबाट १५२ मत गरी ४ हजार ७५२ मतभार पाएर जितेका थिए । तर गठबन्धनकै मत क्रस भएपछि राईले ४ हजार ३८६ मतभार मात्रै पाएका थिए । उनलाई ४९ जना प्रदेशसभा सदस्य र ११३ जना पालिका पदाधिकारीले मत दिएका थिए ।

त्यो सरप्राइज जितलाई दुई वर्षपछि एमालेले दोहोर्‍याएको छ । अनि सरप्राइज हारको पीडा भने माओवादीकी चम्पादेवीले खेप्नु परेको छ । ‘अप्रत्यासित नजिताले गम्भीर बनाएको छ । अन्तरघात भएको छ’, माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ भन्छन् । हुन पनि गठबन्धनका दलहरुबीच जुटेको सहमति बमोजिम मत खसेका थिए भने चम्पादेवीले हार्नुपर्ने थिएन ।

कोशीमा रुक्मिणीको जितबाट एमाले भने उत्साहित बनेको छ । ‘हाम्रो मात्रै मतले जित्ने थिएनौं । तर जितेर देखायौं, गठबन्धनभित्र अविश्वास सिर्जना गर्न सफल भयौ’, एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की भन्छन् ।

पूर्वमुख्यमन्त्री कार्की, सत्ता गठबन्धनलाई राष्ट्रियसभाको नतिजाले ठूलै झापड लागेको बताउँछन् । ‘भाग माग्न आयो भनेर चुनाव अगाडि हल्ला चलाइएको थियो, तर चुनाव पछि आफै उठ्न नसक्नेगरी गठबन्धन तिल्मिलायो’, उनी भन्छन् ।

उत्साहित एमाले

कोशीको महिला कोटातर्फ जितै निकाल्न सफल एमालेले अरु प्रदेशमा नजिते पनि पार्टी मतधार भन्दा धेरै मत तान्न सफल भएको छ । कोशीमा राप्रपाको सहित गरी एमालेले पार्टीको भन्दा आठ सय बढी मतभार पायो ।

मधेशमा सय मतभार बढी पायो । अन्य कोटातर्फ एमालेकी विजेता चौधरीले दुई हजार ४८४ मतभार पाइन् भने महिला तर्फ उषा झाले दुई हजार ४४६ मतभार पाइन् । मधेशमा एमालेसँग २३ प्रदेशसभा सदस्य र ५७ जना पालिका पदाधिकारी गरी दुई हजार ३०२ मतभार छ ।

बागमतीमा पाँच सयसम्म बढी मतभार एमाले उम्मेदवारले पाएका छन् । अन्यतर्फ त्रिलोचन पौडेलले दुई हजार ३५९, महिलातर्फ रुकु चौलागाईले दुई हजार ५२२ मतभार, अपाङ्ग तर्फ विवेक देवकोटाले दुई हजार ७३४ मतभार र दलिततर्फ ध्रुब विश्वकर्माले तीन हजार ५२ मतभार पाएका छन् । यो प्रदेशमा २७ प्रदेशसभा सदस्य र ६० पालिका सहित दुई हजार ५७१ मतभार छ ।

२२ जना प्रदेशसभा सदस्य र ६८ जना पालिका पदाधिकारी गरी दुई हजार ४५८ मतभार रहेको गण्डकीमा पनि एमाले उम्मेद्वारले अन्य दलको मत तानेको छ । यो प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका चक्र पराजुलीले दुई हजार ४७७ मतभार, अपाङ्ग तर्फ हेमचन्द्र शेरचनले दुई हजार ४५८ र महिलातर्फ सम्झना देवकाटोले दुई हजार ५५३ मतभार पाइन् । शेरचनले चाहिँ पार्टी मत मात्रै पाएको देखिन्छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमा पनि एमालेका उम्मेदवारले पार्टी मत भन्दा धेरै ल्याएका छन् । लुम्बिनीमा महिला तर्फकी उम्मेदवार तुलसा केसीले दुई हजार ८६७ मतभार र अन्यतर्फ झपेन्द्र खत्रीले तीन हजार ३९ मतभार पाए । लुम्बिनीमा २९ प्रदेशसभा सदस्य र ६७ पालिका पदाधिकारी गरी एमालेको मताधार दुई हजार ८११ मतभार मात्रै छ ।

कर्णालीमा अन्य तर्फका एमाले उम्मेदवार डिल्लीप्रसाद भट्टले एक हजार २१४ मतभार, दलित तर्फका हिम्मत विकले एक हजार २६७ र महिलातर्फका बिमलाकुमारी शाहीले एक हजार ३६२ मतभार ल्याइन् । जबकी ९ जना प्रदेशसभा सदस्य र ३५ जना पालिका पदाधिकारी गरी एमालेसँग कर्णालीमा १ हजार १४२ मत मात्रै छ ।

१० प्रदेशसभा सदस्य र ५० पालिका पदाधिकारी गरी एक हजार ४८० मतभार मात्रै रहेको सुदुरपश्चिममा पनि एमाले उम्मेद्वारहरुले बढी मत ल्याएका छन् । महिला तर्फका सावित्रा घिमिरेले एक हजार ५७१, अन्यतर्फका ईश्वरीप्रसाद पोखरेलले एक हजार ६९६ र अपाङ्गतर्फका रामचन्द्र जोशीले एक हजार ६९६ मत ल्याएका छन् ।

‘कोशीमा नतिजा हाम्रै पक्षमा आयो, र देखियो । तर हामीलाई सबै प्रदेशमा सत्ता गठबन्धनबाटै मत आयो’, एमाले स्थायी कमिटी सदस्य कार्की भन्छन् ।

नरोकिएको ओरालो यात्रा

यद्यपि यो सानोतिना फ्लोर क्रस र कोशीमा देखिएको सरप्राइज जितले मात्रै राष्ट्रियसभामा एमालेको क्षति भने रोकिएको छैन । यो चुनावपछि ५९ सदस्य राष्ट्रियसभामा एमाले अब १० सिटमा झरेको छ ।

राष्ट्रियसभामा एमालेको ओरालो यात्रा भने नेकपा फुटेपछि सुरु भएको हो । नेकपा फुट्नासाथ ६ जेठ २०७८ मा राष्ट्रियसभाको उपनिर्वाचन भएको थियो । २०७४ सालमा माओवादीबाट राष्ट्रियसभामा जितेका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का एमालेतिर लाग्दा उनीहरु पदमुक्त भएका थिए ।

एमालेले रिक्त स्थानको उपनिर्वाचनमा तिनै बादल र खड्कालाई उम्मेद्वार बनाएको थियो । तर बागमती प्रदेशबाट सत्ता गठबन्धनका खिमलाल देवकोटा र लुम्बिनी प्रदेशबाट दीर्घनारायण पाण्डेय निर्वाचित भए । यो सिट गुमाउँदा पनि एमालेसँग राष्ट्रियसभामा २५ (विमला पौडेल राई सहित) सिट थियो ।

तर दुई वर्ष अगाडि सम्पन्न राष्ट्रियसभाको चुनावबाट त्यो संख्या घटेर १७ मा झर्‍यो । र, आज थप ८ सिट गुमाएकाले आगामी १९ फागुनपछि एमाले राष्ट्रियसभाको तेस्रो शक्तिमा सीमित हुनेछ भने १६ सिट सहित कांग्रेस दोस्रो हुनेछ ।

जबकी नेकपा फुट्नु अगाडि राष्ट्रियसभा लगभग कम्युनिष्टमय बन्न पुगेको थियो । २०७६ माघको चुनावपछि राष्ट्रियसभामा नेकपाका ५० जना सांसद थिए भने कांग्रेसका ६ र जसपाको ३ सिट थियो । तर नेकपा फुटेपछि घट्दै गएको एमाले अर्को दुई वर्षपछि पनि अहिलेकै गठबन्धन कायम रहे दुई जनामा सीमित रहनेछन् । त्यो भनेको जनमोर्चा बराबरको हैसियत हो ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?