+
+
कविता :

मूर्ति

डा. ऋषि बस्ताकोटी डा. ऋषि बस्ताकोटी
२०८० माघ १३ गते ११:५०

फालिएका कुँडाकर्कट बटुलेर
मिल्किएका धातुहरू गालेर
पत्थर खोपेर
अलिकति आफैलाई खारेर
अलिकति आफैलाई झारेर
उसले मूर्ति बनायो

उसैको कलाकौशलले
अनि उसैको मिहिनेतले सुन्दर मूर्ति बन्यो
निर्जीव मूर्तिको
उसलाई माया लागेर आयो
मन्दिरभित्र लगेर प्राण प्रतिष्ठा गरिदियो
मूर्तिको महिमा गान गाइदियो
देश दुनियाँलाई चिनाइदियो

मन्दिरमा भक्तजनको घुइँचो लाग्न थाल्यो
मूर्तिको पूजा हुन थाल्यो
हुलका हुल आएर मूर्तिको पूजा गर्न थाले
सुनेका जतिले
देखेका जतिले
मूर्तिकै आराधना गर्न थाले
मूर्ति गमक्क पर्‍यो

फालिएको कुँडाकर्कट अब कुँडाकर्कट रहेन
मिल्किएको धातुको टुक्रा अब मात्र धातु रहेन
बगरको ढुङ्गा-पत्थर पनि अब पत्थर मात्र रहेन
मन्दिरमा भित्रिएर पूजा हुन थालेपछि
मूर्ति अब भगवान भयो
उसको अलग्गै परिचय बन्यो
मूर्तिकारले यो सब मौन हेरिरह्यो
मूर्तिको मान नै आफ्नो पहिचान ठान्यो
मूर्तिकारले आफ्नो कुनै स्थान खोजेन

मूर्तिकार भक्तहरूको आँखाबाट ओझेल पर्दै गयो
आखिरी मन्दिरबाट बाहिर भयो
मूर्तिले कहिल्यै मूर्तिकार देखेन
मूर्तिकार सम्झेन
न त सम्झिन जरुरी नै ठान्यो
आफ्नै पुरानो अस्तित्वहीन इतिहास

मूर्तिकार भने ऋषिमन लिएर बाहिरियो
मूर्तिको भलो चिताइरह्यो
मूर्तिको प्रतिष्ठामा खुसी भइरह्यो
भक्तहरू उसैलाई ठेल्दै कुल्चिंदै
मन्दिर पसिरहे, पूजा गरिरहे
ऊ भने फेरि फर्केर कहिल्यै मन्दिर पसेन
विना पछुतो किनारीकृत भयो
उसैको मूर्ति पुजियो, ऊ अछुत नै रह्यो

पौराणिक कथाका द्रोणाचार्यले
एकलव्यको बुढी औंला मागे जसरी
मूर्तिकारले मूर्तिको आँखा मागेन
हातखुट्टा, मुटु, कलेजो केही मागेन
बरु पुन कुँडाकर्कट जम्मा पारेर
धातुलाई पगालेर
पत्थर खोपेर
मूर्तिका नूतन आकृति बनाइरह्यो
ऋषिमन लिएर
मन्दिर बाहिर आफैलाई गालेर
आफैलाई रित्याएर
नयाँ, नयाँ मूर्ति बनाइरहयो
र मूर्तिलाई अनेक-अनेक मन्दिरभित्र पठाइरह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?