+
+
कविता :

यसपालि वसन्तमा

डा. ऋषि बस्ताकोटी डा. ऋषि बस्ताकोटी
२०८० चैत १७ गते ९:१८

यसपालि पनि
पुराना सन्तमहन्तहरू आए
र नयाँ वसन्तको गीत गाए !

गीत नयाँ भने पनि
कता कता तिनका भाका पुरानै थिए
गर्न त नयाँ दृश्यको कुरा गरे
यसपालि सन्तमहन्तहरुले
तर तिनका हेर्ने आँखा पुरानै थिए !

लाग्छ –
यतिबेला फुल्न बाँकी फूलहरू
अझ संकटमा छन्
जलवायु परिवर्तनसँगै अनिश्चित भविष्यको संकेत गर्दै
मौसम बदलिरहेछ
आँधीहुरी चलिरहेछ
रूखबिरुवा सबै
घरी खडेरीको तापले सुकेको छ
घरी डढेलोको रापले सेकेको छ
वायुमण्डलभरि प्रदूषण छाएको छ
दृश्यभरि तुँवालो लागेको छ
चराले पनि सुटुक्क
संकटकै सुइँको सुनाएको छ !

पानीको मूल सुकेको बेला
जराले भुइँ टेके पनि
चिस्यान भेटेको छैन कुनै बोटले
जीवनमा हरियाली आउने गरी
तिर्खा मेटेको छैन कुनै बोटले !

परागमा
विषाक्त कण मिसिएको छ
माहुरीहरू विवश छन्
जोखिम मोलेर आफ्नो काम गर्न,
फूलहरु
आफैं दोमनमा छन्
कसरी फुल्ने/कस्तो फुल्ने भनेर !

समय आएपछि
फुल्न त फुल्लान् फूलहरू
प्रतिकूलतासँग पौंठेजोरी खेल्दै
तर
पुराना सन्तमहन्तहरूको
नक्कली नयाँ गीतमा
खै कस्तो फूल मग्मगाउला यसपालि
सुकेका जरामा उभिएर
कस्तो वसन्तको हरियाली छाउला यसपालि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?