+
+

मम्मी ! मिथिला आर्टमा किन हिमाल छैन ?

समयसापेक्ष मिथिला चित्रहरूमा परिष्कृत गर्दै जाने, सरोकारवाला निकायले वर्तमान सापेक्षिक कार्यक्रम बनाउने, प्रविधिको प्रयोग भरपुर गर्ने! छोरीको यही बुझाइसँग सिंगो महिला उद्यमशीलताका चुनौतीको हल लुकेको छ।

प्रकृति मैनाली प्रकृति मैनाली
२०८० माघ १५ गते ९:१५

एकदिन मलाई मेरी ८ वर्षीया छोरीले सोधिन्, ‘मम्मी मिथिला आर्टमा किन हिमाल छैन ?’

उसको हरेक चित्रमा पहाड, हिमाल, रूख, चराचुरुङ्गी, घर, मान्छे लगायत बिम्बहरू अट्ने गर्छन्। त्यसैले उसको बुझाइको चित्रले हिमाल खोज्नु असाधारण होइन पनि होला !

समथर भूभागमा बस्ने, सामाजिक प्रतिनिधित्व नै घरभित्रको चुलाचौकाभित्र सीमित भएका मधेशका महिलाहरूको स्वस्फूर्त अभिव्यक्ति हो मधेशको प्रतिनिधित्व गर्ने मिथिला आर्ट। त्यसैले, मिथिला चित्रले हिमाल नदेख्नु स्वाभाविक हो। साथै हिमालको उपस्थिति हुनु या नहुनुसँग मधेशका महिलाको तटस्थता अस्वाभाविक होइन पनि !

हिमाल नदेखेका मधेशका पात्रहरूले, मधेश नदेखेको हिमालका पात्रहरूले आफ्नो स्निग्ध दृष्टिमा परेका र आफूलाई महत्वपूर्ण लागेका घटना अभिव्यक्त गर्ने न हो कला मार्फत ! सबै चिज सबैका लागि उत्तिकै महत्वपूर्ण हुँदैनन्। छोरीलाई यो बुझ्न केही समय लाग्नेछ। जस्तो कि छोरीले खोज्ने हिमालका चित्रहरूले उसको हिमालप्रतिको झुकाव भविष्यले प्रमाणित गर्ला, या नगर्ला ! नगरेमा उसको अन्वेषणात्मक समय थियो भनेर बुझ्नुपर्ने हुन्छ।

अनि, उसको अर्को प्रश्न थियो, ‘मधेशमा फोन छैन र ? मधेशका मान्छेले हिमाल नै देखेका छैनन् र ? म त फोन हेरी–हेरी कत्ति चित्र बनाउँछु !’ छोरीले भर्खर गरेको कुरा समयसापेक्षताको थियो र यो बढी महत्वपूर्ण प्रश्न थियो। छोरीले जस्तै स्मार्ट फोन हेर्ने जनसङ्ख्या देशमा ७५ प्रतिशत रहेछ। समयसँगै भावना, अभिव्यक्ति, परिचयहरू जसरी विकसित हुन्छन् तिनको सापेक्षिक अभिव्यक्ति दैनिक व्यवहारमा छुट्नुहुँदैन भन्ने छोरीको मौन आग्रह गलत थिएन।

समाज परिवर्तनशील छ। परिवर्तन मात्र स्थिर छ र बाँकी सबै अस्थिर। हिजोको महिला दिदीबहिनीहरूले आफूलाई जुन मध्यमबाट, जुन बिम्ब र प्रतीक सापेक्षिक आफूलाई व्यक्त गर्नुहुन्थ्यो, आज पनि ठिक त्यस्तै अभिव्यक्ति हुनुले वर्तमानका सम्भावनासँग महिलाहरूको सम्बन्धविच्छेद, महिला आर्थिक सशक्तीकरणमा सिर्जनशीलताको कमि, सरोकारवाला निकायको अकर्मण्यता, ऐतिहासिक परिचयको बोझको निरन्तरताले महिला स्वयंले आफ्नो अवस्थालाई मौन स्वीकृति दिएको संकेत गर्छ।

नियन्त्रण बाहिरका अन्य थुप्रै सामाजिक, सांस्कृतिक र राजनीतिक कारणहरू पनि छन्। जसलाई आफू अनुकूल बनाउन महिला मुद्दा केवल महिला सशक्तीकरणसँग मात्र नजोडिएर समग्र सीमान्तकृत वर्ग, समुदाय, लैङ्गिक अल्पसङ्ख्यक र सम्पूर्ण पिछडिएको समुदायको साझा आवाज बन्नुपर्थ्यो। महिला सशक्तीकरण एक्लो मुद्दा बन्नु नै इतिहास लम्बिनुको कारण हो।

प्रविधिको युगमा पनि मिथिला चित्रमा हिमाल छुट्नु भनेको वर्तमानको परिदृश्य छुट्नु हो र इतिहास मात्र हावी हुनु हो जुन राम्रो कुरा होइन। छोरीले बुझेको वर्तमान समयको वास्तविकता पनि यही हो।

आज पनि महिला उद्यमशीलताको परिभाषामा अटाउने सीपहरूमा मुख्यतया अचार बनाउने, गुन्द्रुक, सिन्की बनाउने, सिलाई, ब्युटिसियन, साबुन, धुप, क्रिस्टलको पोते, बाख्रापालन भन्दा माथिको छैन।

प्रश्न कुन सीप ठूलो या सानो भन्ने होइन। महत्वपूर्ण प्रश्न यहाँ सीपको प्रासंगिकता हो। आजको प्रसङ्गसँग, समयको मागसँग पूर्तिको अनमेल हुने गरी महिला उद्यमशीलताका मुद्दा अगाडि बढाउने हो भने हामीले निर्माण गर्न खोजेको समतामूलक समाजको सपना हामीभन्दा १३५ वर्ष पछाडि धकेलिने तथ्य टाइम्सले २०२० मै प्रक्षेपण गरेको थियो।

मान्छेको चित्रहरूमा सिङ, तीनवटा आँखा हलिदिन सक्छन्, टाउको तल भएको मान्छे अनि दुई खुट्टे बाघ बनाइदिन सक्छन्। किनकि सोच्न उसको उमेरका बालबालिकालाई कसले रोक्न सक्छ र ? यो असीमित सृजनशीलता बालबालिकाको आमाबुवा अनि नेतृत्ववर्गहरूमा कसरी ल्याउने होला ?

महिला उद्यमी भएर पारम्परिक र साथीभाइको भन्दा फरक बाटो हिंडेको पनि एक दशक पुग्न लागेछ। तर आज पनि स्थानीय सरकारका प्रतिनिधिहरूसँगको प्रत्येक भेटमा सुनिने र कहिल्यै बासी नहुने साझा अभिव्यक्ति ‘बालुवामा पानी खन्याए जस्तै छ उद्यमशीलताका तालिमहरू’ भन्ने नै हो।

एक दशकअघिको कार्यशैली र आजको कार्यशैलीमा रत्ति पनि परिवर्तन छैन। फरक यत्ति छ कि आजकल डिजिटल साक्षरता कार्यक्रम थप भएका छन्। न त हिजो चुस्त मूल्याङ्कन प्रणाली थियो जसले उद्यमी बनाउने भनेर प्रति महिला सहभागी रु.२५००० को खर्चको फर्स्योट गर्थ्यो आज पनि त्यही गर्छ। तालिम पाएर कति जना महिला उद्यमी उत्पादन भए न हिजो हिसाब राखिन्थ्यो न त आज नै !

प्रविधिले फैलाइदिएको संभावनाको आयतनलाई फेरि पनि महिला उद्यमशीलताका पुरातन परिभाषाभित्र खुम्चाउन खोज्ने हो भने, घरेलु उद्यमी भन्दा माथि समग्र महिला उद्यमशीलताको स्थान पुग्न सक्दैन।

छिट्टै १ बिलियन डलरको अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको, र ५०० मिलियन डलरको अर्थतन्त्र बनिसकेको आइटी क्षेत्रमा उल्लेख्य महिला सहभागिताको सपना कहिले देख्ने ?

पंक्तिकारले उद्यम विकास समितिमा बसेर स्थानीय सरकारसँग महिला उद्यमशीलता प्रबर्धनको लागि काम गर्न बेलाबखत कार्यक्रमहरूमा जाँदा, सहभागी हुने अधिकांश महिला ४० देखि ६० उमेर समूहको पाएको छ। कहींकतै जागिर नगरेका, सीपमा उत्कृष्टता भए पनि घर बाहिर काम गर्ने तरिका नजानेका, प्रविधिसँग त्यति अपरिचित महिलाको प्रतिनिधित्व हुने गरेको छ।

अहिलेको परिप्रेक्ष्यमा महिला उद्यमशीलता प्रबर्धनका सरोकारवाला निकाय भनेका तीनै तहका सरकार, संघसंस्था, व्यावसायिक संघ–महासंघ, निजी संस्थान, घरेलु संघ हुन् ! साझा उद्देश्यको बावजुद सम्बन्धित निकायहरूबीच समन्वय नहुनु अर्को दुर्भाग्य हो। अन्तर्राष्ट्रिय बजार मेलामा जाँदा कसैले ठूलो भोलुमको अर्डर ल्यायो भने, सहकार्यमा काम गर्न सकिने संयन्त्र नहुँदा ठूलो अर्डर लिन इन्कार गर्नु परेको अनुभव तितो यथार्थ हो। के गर्नुपर्छ थाहा हुने तर कसरी गर्नुपर्छ जानकार नहुनु नै समग्र नैराश्यताको कारक हो।

एकापट्टि हामी महिला उद्यमशीलताको कुरा पनि गर्छौं। राजनीतिक दलहरूको घोषणापत्रहरूले लाखौंको सङ्ख्यामा रोजगारी सिर्जना गर्ने पनि भन्छ। हाराहारी ५० प्रतिशत युवा भएको जनसाङ्ख्यिक बनोट भएको देशमा युवा उद्यमशीलता प्रबर्धन विना त्यो सम्भव छैन।

तर हामी यस्तो विरोधाभासपूर्ण समाधानको परिकल्पना गरिराखेका छौं जहाँ हामी एकै घरका महिला अनि तिनका छोराछोरीलाई छुट्टाछुट्टै सीप अनि व्यवसाय गराउन अग्रसर जस्तो देखिएका छौं। एकै घरका दुई पुस्ताको सहकार्यमा एक घर : एक उद्यम भनेर सोच्न सकेका छैनौं।

त्यसैले अहिलेको हाम्रो कार्यशैलीले ‘एक घर: दुई उद्यमी’को परिकल्पना गरेको जस्तो देखिन्छ। जुन गाह्रो कुरा हो। महिला भएका हरेक घरमा युवा छन् तर हामी महिला र युवा उद्यमशीलताका गतिविधिहरूमा एकाकार हुनसकेका छैनौं।

भौगोलिक विकटताले चर्को ढुवानीको चेपुवामा स्वदेशी वस्तु महँगो हुनु र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन नसक्नुको कारण वस्तु निर्यात चुनौती पूर्ण हो। तर प्रविधिको विकास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो आउटसोर्सिङको चलनले गर्दा नेपाल जस्तो देशको किफायती ज्याला खर्चको कारणले बढी प्रतिस्पर्धी भएको कारण सेवा निर्यात गर्न सकिने सम्भावना र अवसर जन्मिनु महत्वपूर्ण प्याराडाइम सिफ्ट हो।

एउटा कुरा के बुझ्नुपर्ने हुन्छ भने, व्यापार संवेदनामा चल्दैन। हाम्रा युवाहरूले देशमा बसेर विदेशी कम्पनीको काम गर्ने अवसर आफ्नो क्षमताले तुलनात्मक रूपमा सस्तो ज्याला भएको कारण पाएका हुन्। काम दिने देशले, काम लिने देशलाई उद्धार गर्छु भनेर दिने होइनन्। विचरा ! नेपाली युवा भनेर माया गरेर दिएका पनि होइनन्। गुणस्तर र मूल्यमा प्रतिस्पर्धी हुनु नै व्यापारिक सम्बन्धको दीर्घायुको कारक हो।

वस्तु निर्यात नेपालको तुलनात्मक लाभको क्षेत्र नहुँदानहुँदै पनि पटक–पटक यो पंक्तिकार राजधानीका पाँचतारे होटलहरूमा हुने निर्यात चुनौतीका बहसहरूमा सामेल भएको अनुभवको आधारमा के भन्न सक्छु भने नेपालले सेवा क्षेत्रमा आफ्नो आर्थिक पहिचान खोज्नुको विकल्प छैन।

आज छोरीले चित्रमा हिमाल खोज्दैछे ! र फोन हेरेर बनाए हुन्छ नि भनेर सरल आग्रह गर्दैछे। यही समाजमा, यही यथास्थितिमा ऊ हुर्कंदै जाँदा उसले अबको एक दशकभित्र सोध्न सक्ने अनुमानित प्रश्नहरूको अनुमान लगाउँदैछु। देश–विदेश घुमेर पनि नेताहरूले देश किन बनाएनन् मम्मी भनेर उसले प्रश्न सोधी भने के उत्तर दिने भनी सोच्दैछु

वस्तु उत्पादनलाई निर्यातसँग मात्र नभई आयात प्रतिस्थापनको साधनको रूपमा बुझ्ने हो भने अनगिन्ती रोजगारीको अवसर देशभित्रै सिर्जना हुन्छ। यसमा राज्य पक्षले साना उत्पादकहरूको उत्पादन स्वदेशी बजारमै उपयोग हुनसक्ने संयन्त्र निर्माण गरिदिनु भने पर्छ, जुन त्यति ठूलो महत्वाकांक्षी कदम होइन। जस्तो कि केही समय अघिसम्म मासुजन्य उत्पादन आयात गर्ने हामी अहिले आत्मनिर्भर भएका उदाहरण हामीमाझ छन्।

सेवा निर्यात र वस्तु उत्पादनलाई क्रमिक रूपमा आयात प्रतिस्थापनको माध्यम बनाउने दुई योजनाले देशमा विदेशी मुद्रा संचितिमा उल्लेख्य वृद्धि हुन्छ। अर्थशास्त्रको यो साधारण बुझाइमा पाँचतारे होटलमा हुने जस्तो कुनै बहस नै आवश्यक छैन।

प्राय:जसो संघ–संस्थाहरूको कार्यक्रमहरूमा मलाई बारम्बार सोधिने एउटै प्रश्न : कसरी उद्यमी बनाउने र बन्ने भन्ने नै हो। मलाई सोधिने प्रश्नको एउटा प्रतिनिधि उदाहरण दिन्छु; एक जना बाजुराको महिला जसले त्यति धेरै पढ्नुभएको छैन, पूँजी पनि त्यति छैन, उहाँ जस्ता महिलालाई कसरी उद्यमी बनाउने? भएको अलिअलि पैसा पनि व्यवसायमा लगाएर भोलि उहाँको व्यवसाय चलेन भने के गर्ने?

जोखिम लिन पनि पूँजीको आकलन हुनुपर्छ। सबैजना उद्यमी बन्नुपर्छ भन्ने छैन। सबैलाई उद्यमी बनाउनुपर्छ भनी सोच्नु पनि आवश्यक छैन। उहाँको अवस्थाले व्यापार होइन जागिर गर्ने हो। सबै बुझ्नुभएको तपाइँ जस्तो पढेलेखेका, केही पूँजी भएका, प्रविधि बुझेका, सिक्न सक्ने वर्गले उद्यम गरेर उहाँजस्तो महिलालाई रोजगारी दिएको राम्रो।

उहाँहरूले दोहोर्‍याएर मलाई कार्यक्रममा बोलाउनुभएन। सबैलाई मेरो कुरा मिठो नलाग्नु स्वाभाविक हो।

अन्त्यमा, मिथिला चित्रकलालाई यहाँ महिला सीपको प्रतिनिधित्व हुने साधनको रूपमा मात्र प्रयोग गरिएको हो। मिथिला चित्रमा एकै किसिमका अभिव्यक्तिहरूको निरन्तरता हुनु र वर्तमान समयसम्म आइपुग्दा पनि पात्रहरूका अभिव्यक्ति नबदलिनुले हाम्रो महिला उद्यमशीलता विकासको वर्तमान अवस्था, समग्र आर्थिक विकासको हाम्रो कछुवा गति, हाम्रो पुरातन मनस्थिति सापेक्षिक हाम्रो वर्तमान अवस्था बोलेको कुरा इन्कार गर्न सकिन्न।

नदेखेको चिजहरू, नसुनिएको कथाहरू, पात्रहरू सिर्जनशीलतामा अटाउनुपर्छ भने देखेको चिज त अटाउनै पर्छ नि भनी छोरीले सोच्नु नाजायज होइन। किनकि उसका उमेरका केटाकेटीले कहिल्यै नसुनेको कथाहरू तत्काल बनाएर सुनाउन सक्छन्।

मान्छेको चित्रहरूमा सिङ, तीनवटा आँखा हलिदिन सक्छन्, टाउको तल भएको मान्छे अनि दुई खुट्टे बाघ बनाइदिन सक्छन्। किनकि सोच्न उसको उमेरका बालबालिकालाई कसले रोक्न सक्छ र ? यो असीमित सृजनशीलता बालबालिकाको आमाबुवा अनि नेतृत्ववर्गहरूमा कसरी ल्याउने होला ? बच्चा जस्तो सरल सोच्ने अब फेरि कसरी बन्ने होला ? सरल सोचमा जटिल प्रश्नहरूको उत्तर भेटेको उदाहरण हामीमाझ धेरै छन्।

समयसापेक्ष मिथिला चित्रहरूमा परिष्कृत गर्दै जाने, सरोकारवाला निकायले वर्तमान सापेक्षिक कार्यक्रम बनाउने, प्रविधिको प्रयोग भरपुर गर्ने! छोरीको यही बुझाइसँग सिंगो महिला उद्यमशीलताका चुनौतीको हल लुकेको छ। आफू स्वयम् उत्पादक भएको हुनाले म सकेसम्म स्वदेशी वस्तु प्रयोग गर्न कोसिस गर्छु र त्यस्तै मान्यता राख्छु। यस्तै एउटा मान्यताले मात्र पनि महिला आर्थिक विकासको मुद्दाले गति लिन सक्छ। म यो मनदेखि विश्वास गर्छु।

आज छोरीले चित्रमा हिमाल खोज्दैछे ! र फोन हेरेर बनाए हुन्छ नि भनेर सरल आग्रह गर्दैछे। यही समाजमा, यही यथास्थितिमा ऊ हुर्कंदै जाँदा उसले अबको एक दशकभित्र सोध्न सक्ने अनुमानित प्रश्नहरूको अनुमान लगाउँदैछु। देश–विदेश घुमेर पनि नेताहरूले देश किन बनाएनन् मम्मी भनेर उसले प्रश्न सोधी भने के उत्तर दिने भनी सोच्दैछु।

लेखकको बारेमा
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?