+
+

‘भूठान’को छायांकन सकियो, निर्देशक भन्छन्- हलिउड मापदण्डमा फिल्म बनेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ११:५१

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको नयाँ फिल्म ‘भूठान’को छायांकन अमेरिकाको ओहायोमा सकिएको छ । छायांकन सकेर नेपाली अभिनेता हरिवंश आचार्य र दयाहाङ राई स्वदेश फर्किएका छन् ।

प्रसिद्ध हलिउड अभिनेता ब्रुस डर्नले समेत अभिनय गरेको यो फिल्मको अंग्रेजी नाम ‘द वर्ल्ड ह्यापिएस्ट म्यान’ राखिएको छ । तेस्रो देश पुनर्वासमा पुगेका भुटानी शरणार्थीको कथावस्तु समेटिएको यो फिल्मबाट पूजा चन्द र ऋचा घिमिरेले पुनरागमन गरेका छन् ।

भारतीय अभिनेत्री अनुराधा मजुमदारसहित नेपाली कलाकार भुवन प्याकुरेल, अदिती प्याकुरेल र कौशिला खनाल पनि फिल्ममा छन् । ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र नाटक निर्देशक विमल सुवेदी पनि अभिनेताका रुपमा यसमा छन् ।

हलिउडको अन्तर्राष्ट्रिय मापदण्डमा रहेर फिल्म बनाइएको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ ।

‘यो नेपालको लागि पहिलो युनियन (स्याग) फिल्म हुनेछ । यसमा बुरस डर्न मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिक पनि जोडिएका छन्, जसले गर्दा यसको प्रविधिक पक्ष अत्यन्तै सबल छ,’ निर्देशक पौडेलले भने, ‘यो फिल्ममार्फत हामी विश्वबजारमा आफ्नो पहुँच बनाउने कुरामा विश्वस्त छौं, जुन सम्पूर्ण नेपाल र नेपालीको गर्वको कुरा हो ।’

म्याड मंकी फिल्म्सले निर्माण गरेको यो फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोज र नेपालबाट अवेकन प्रोडक्सन कम्पनी सहकार्य गरेका छन् । यसका कार्यकारी निर्मातामा कौशिला खनाल कर्मचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट छन् । निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।

यो फिल्म सन् २०२४ को अन्त्यसम्म दर्शकसामु ल्याउने र विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजना रहेकको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?