+
+

इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १६:३८

१७ माघ, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बसुरा बिबीलाई अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा हेर्ने अदालतले १४ वर्षको सजाय तोकेको छ । उनीहरुमाथि राज्यको सम्पत्ति गैरकानुनी ढंगले बिक्री गरेको अभियोग थियो ।

एक दिनअघि मात्रै खानलाई राज्यको गोप्य सूचना चुहावट गराएको अभियोगमा १० वर्षको जेल सजाय निर्धारण गरिएको थियो । बुधबारको फैसलाले खान दम्पत्तिलाई आगामी १० वर्षसम्म कुनैपनि सार्वजनिक पदमा बस्न अयोग्य रहेको समेत फैसला सुनाएको छ ।

खान दम्पत्तिलाई अदालतले प्रति व्यक्ति ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको छ । यसबारे खानका समर्थकहरुले भनेका छन्-‘न्यायिक इतिहासमा अर्को दुर्भाग्यपूर्ण फैसला भएको छ । हाम्रो न्यायिक प्रणाली फेरि एकपटक ध्वस्त बनाइएको छ । यो हास्यास्पद फैसलालाई माथिल्लो अदालतमा चुनौती दिने तयारीमा हामी छौँ ।’

तोषखाना सम्बन्धी मुद्दा के हो ?

पाकिस्तानको मन्त्रिपरिषद् अन्तर्गतको एक विभाग हो तोषखाना । त्यसको दायित्व भनेको राज्यलाई प्राप्त उपहार तथा राज्यको सम्पत्तिको संरक्षण गर्नु हो । तोषखाना सम्बन्धी कानुन अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै पनि उपहार प्राप्त भएमा पहिले त्यस विभागमा दर्ता वा जम्मा गर्नुपर्नेछ । त्यसपछि उक्ति उपहार सम्बन्धित व्यक्ति स्वयंले प्रयोग गर्न चाहे खण्डमा तोकिए बमोजिमको दस्तुर तिर्नुपर्नेछ ।

तोषखाना सम्बन्धी कानुन अनुसार ३० हजार पाकिस्तानी रुपैयाँ भन्दा कम मूल्यका उपहार भने प्रधानमन्त्री र राष्ट्रपति स्वयंले राख्न पाउने सुविधा छ । त्यसभन्दा बढी मूल्यका सामग्री यदि सार्वजनिक पद धारण गरेका कसैले राख्न चाहे ५० प्रतिशत रकम तोषखानामा जम्मा गर्नुपर्ने हुन्छ । सन् २०१८ मा खानले यस कानुन संशोधन गर्दै २० प्रतिशत रकम तिर्नुपर्ने बनाएका थिए ।

तर आफैँले बनाएको कानुनको समेत पालना नगरेर खान दम्पतीले तोषखानामा कुनै उपहार जम्मा नगरेको र महंगा सामग्री राख्दा मूल्यको २० प्रतिशत रकम तोषखानामा दाखिला नगरेको अभियोग लागेको हो । खानविरुद्ध यो मुद्दा पाकिस्तान मुस्लिम लिग नेतृत्वको सरकारले सन् २०२२ अगस्टमा दर्ता गरेको थियो । राज्यलाई प्राप्त सम्पत्ति तोषखानालाई  जानकारी नगराएको र गैरकानुनी ढंगले बिक्री गरेको अभियोगमा उनीविरुद्ध मुद्दा हालेको थियो ।

खान सन् २०१८ मा सत्तामा आएका थिए । त्यसबखत वैदेशिक सम्बन्ध बिग्रिन सक्ने भन्दै उनले वैदेशिक उपहारबारे सार्वजनिक रुपमा जानकारी गराउन मानेका थिएनन् । सत्तामा रहेको अवस्थामा उनले पाकिस्तानको निर्वाचन आयोगलाई पत्र लेख्दै चार प्रकारका उपहार बेचेको स्वीकार गरेका थिए । त्यहाँबाट सरकारले पाउनुपर्ने रकम कोषमा दाखिला गरेको उनको जिकिर थियो ।

खानविरुद्ध मुद्दा दर्ता भएको दुई महिनापछि जुलाइमा निर्वाचन आयोगले अनुसन्धान गर्दा खानले प्रक्रिया पुरा गरी सामग्री बिक्री गरेको पाइएको थियो । तोषखानालाई प्राप्त हुनुपर्ने रकम दाखिला गरेर उनले सामग्री बिक्री गरेको फैसला गरेको थियो ।

खानले बाहुलामा राखिने कफलिंक्स, रोलेक्स घडी, औँठी र महंगा कलम सहितका सामाग्री बिक्री गरेका थिए । रोलेक्स घडीको ‘मास्टर ग्राफ’ सीमित संस्करणको मूल्य मात्रै ३ लाख डलर बराबर रहेको सरकारी जिकिर थियो ।

खान पाकिस्तानको प्रधानमन्त्री बन्दा सन् २०१८ देखि सन् २०२२ को मध्येसम्म १०८ उपहार प्राप्त गरेको तथ्यांक छ । पाकिस्तानको राष्ट्रिय उत्तरदायित्व ब्यूरोले खान दम्पतीले ५८ उपहार कम मूल्यमा बिक्री गरेको भन्दै १९ डिसेम्बरमा खान दम्पतीविरुद्ध मुद्दाको अर्को मिसिल तयार गरेको थियो ।

ब्यूरोले खान दम्पतीले साउदीका राजकुमार मोहम्मद विन सलमानले दिएको महँगो गहना पनि खान दम्पतीले निकै सस्तो मुल्यम बिक्री गरेको अभियोग लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?