 
																			१७ माघ, सुर्खेत । पार्टीको आन्तरिक कलह बढ्दै गएपछि एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । आगामी फागुन ४, ५ र ६ गते तोकिएको अधिवेशन बुधबार एक विज्ञप्ति जारी गर्दै स्थगित भएको गरिएको हो ।
जिल्ला अध्यक्ष अमृत बिसीले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा आन्तरिक गुटबन्दी मौलाउँदै गएको र आफूमाथि अपमानजनक व्यवहार भएकाले आगामी अधिवेशन स्थगित गरिएको बताएका छन् ।
आठौ जिल्ला अधिवेशनबाट आजसम्म आइपुग्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको अध्यक्ष विसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरुलाई बन्धक बनाएर निर्णय गर्न थालियो’, विसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिएको, अधिवेशनबाट बाहिरिएका जिम्मेवार नेताहरुलाई आग्रहपूर्ण तरिकाले बाहिर राखिएको र केही जिम्मेवारीमा रहेका नेताहरुलले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गरेको आरोप समेत लगाएका छन् ।
अध्यक्ष बिसीले एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा थप असहजता भएको बताएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अभियान अन्तर्गत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि हुँदैन’, बिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बिसीले नवीकरणको समय हुँदाहुँदै दूरदराजका पार्टी सदस्यहरु नवीकरणबाट वञ्चित भएको पनि बताएका छन् । आठौं जिल्ला अधिवेशन पश्चात् आन्तरिक प्रतिस्पर्धालाई व्ययस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको पनि बताए ।
पार्टी सचिव कविन्द्र कुमार केसीले भने आफूहरुलाई जानकारी नदिएर अध्यक्षले विज्ञप्ति जारी गरेको बताए । ‘यो विषयमा अध्यक्षज्यूले हामीसँग त कुनैपनि छलफल गर्नु भएन । मैले पनि भर्खरै फेसबुकबाट विज्ञप्ति हेरेँ’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4