 
																			१८ माघ, पोखरा । पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ ।
२१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवसको अवसरमा माघ २२ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा गर्न लागेको जानकारी दिइन् ।
सो अवसरमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनी गरिने संग्रहालयले जानकारी दिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ ।
‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् ।
उक्त अवसरमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व उुद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर प्रदर्शन गरिने संग्रहालयले जनाएको छ ।
साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस उत्वसको उद्घाटन पोखराका मेयर धनराज आचार्य र ललितपुरका मेयर चिरिबाबु महर्जनले संयुक्त रुपमा गर्ने संग्रहालयले जनाएको छ ।
सय रोपनी क्षेत्रफलमा फैलिएको विशाल परिसरभित्र साढे ६ रोपनीमा २ तले संग्रहालय बनेको छ । संगग्रहालयको बाहिरी भाग मनास्लु हिमालको प्रतिरुप दिइएको छ । सन् २००२ देखि बनाउन सुरु भएको संग्रहालय २००४ मा उद्घाटन भएको थियो ।
संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्वीर तथा सामग्री प्रदर्शनमा राखिएका छन् ।
यसबाहेक संग्रहालयमा विश्वभरका हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतबारे जानकारीमूलक तस्वीर, सामग्री पनि प्रदर्शनमा राखिएका छन् ।
संग्रहालय स्थापना गर्न स्व. डा हर्क गुरुङ, कुमारखड्ग विक्रम शाह र दावानोर्बु शेर्पाले योगदान दिएका थिए । संग्रहालय परिसरमा उनीहरुको सम्झनामा शालिकसमेत बनाइएको छ ।
दैनिक सरदर साढे ३ सयदेखि ३ हजार जनासम्मले संग्रहालय अवलोकन गर्न आउने संग्रहालय प्रमुख निर्मला न्यौपानेका अनुसार संग्रहालयमा आउने अधिकांश विद्यार्थी हुन्छन् । ‘त्यसमा पनि मध्यपहाडी र तराई भेगमा बढी विद्यार्थी हिमाल चिन्ने उद्देश्यले आउँछन्,’ उनले भनिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4