
१८ माघ, काठमाडौं। नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरू भएको छ । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरू भएको हो ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रुपमा आयोजना गरिएको प्रदर्शनीको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरे ।
मेलाको उद्घाटनपश्चात सञ्चारकर्मीहरुसँग कुरागर्दै अर्थमन्त्री महतले विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले विभिन्न खालका उत्पादनहरु उपभोक्ताहरुको बीचमा पुग्ने बताए ।उनले विभिन्न उपभोग्य वस्तुहरु एकै ठाउँमा हेर्न र खरिद गर्न सजिलो हुने बताए ।
मन्त्री महतले उपभोगमा वृद्धि हुँदा मात्रै लगानी वृद्धि हुने भएकाले मेलाले उपभोग बढाउन मद्दत गर्ने दाबी गरे ।उनले मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादित वस्तुहरु राखिएकाले नेपाली उत्पादन पनि गुणस्तरीय भएको उपभोक्ताले अनुभव गर्न पाउने अवसर भएको उल्लेख गरे ।
उनले नेपालको बजार साना नभएको भन्दै ३ करोड जनसख्या ठूलो भएको बताए । उनले आयात भइरहेका वस्तुहरु नेपालमा नै उत्पादन गर्नको लागि प्रेरित गर्ने बताए ।
अर्थमन्त्री महतले लगानी, उपभोग र छनोटका दृष्टिकोणले हेर्दा यस्ता मेलाहरु हुन आवश्यक रहेको बताए । उनले मेलामा विदेशी कम्पनीहरुको सहभागिताले नेपालको बजारका विषयमा जानकार हुँदा लगानी गर्न प्रेरित हुने वातावरण बनाउने बताए ।
उनले सरकारले यस्ता खालका प्रदर्शनीहरुलाई प्रमुख प्राथमिकतामा राखेको बताए । नेपालमा प्रदर्शनीको लागि उपयुक्त स्थल नभएको भन्ने गुनासो रहेकाले उपयुक्त प्रदर्शनी स्थल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भइरहेको अर्थमन्त्री महतको भनाइ छ ।
प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् ।
मेलामा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ ।
मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया 4