+
+
गफ स्टेसन :

परदेशमा धेरै गाइरहेका रामकृष्ण : ‘देशै विदेशिइरहेको देख्दा मन कुँडिन्छ’

‘अहिले जो हेरे पनि विदेश नै जाने सोचमा देखिन्छ । विद्यार्थीहरु त झन् त्यसै पनि जाने नै भए,’ उनी भन्छन्, ‘देशको यो अवस्थाप्रति सरकारमा बस्नेहरुको किन ध्यान नपुगेको हो ? आफ्नो देशमा बस्न को चाहँदैन र ? यहाँ जसरी हामी कलाकार चिनिन्छौं, बाहिर गएर त त्यसरी चिनिंदा पनि चिनिंदैनौं ।’

खेम रिसाल खेम रिसाल
२०८० माघ १९ गते २१:२०

काठमाडौं । रामकृष्ण ढकाल नेपाली संगीतको सर्वोच्च शिखर चुमेका गायक हुन् । ५० र ६० को गरी दुई दशक त उनले नेपाली सुगम संगीतमा नम्बर एक गायक बनेर राज गरे भन्दा हुन्छ । मखमली आवाज, उच्च गायकी कौशल, प्रस्तुति र व्यक्तित्व हरेक तवरबाट उनी नेपाली श्रोताको मन-मस्तिष्कमा बसिरहे, बसिरहेका छन् ।

सानै उमेरदेखि संगीत क्षेत्रमा पाइला चालेका रामकृष्णको औपचारिक सांगीतिक यात्रा भने २०४६ सालमा ‘हाम्रो सुन्दर संसार थियो’ गीतबाट सुरु भयो । २०५० सालमा ‘आशीर्वाद’ एल्बम निकालेका उनी नेपाली संगीतमा व्यावसायिक युगको प्रवेश गराउने गायकको रुपमा समेत चिनिन्छन् । २०५५ सालमा सार्वजनिक ‘आशा’ एल्बममा संग्रहित ‘ओराली लागेको हरिणको चाल भो’ले उनलाई नेपाली संगीतमा आफ्नो छुट्टै शैली र स्थान बनाइदियो । यो गीतलाई रामकृष्णको ‘सिग्नेचर सङ’को रुपमा मानिन्छ ।

झण्डै डेढ दर्जन सांगीतिक एल्बम, पाँच हजार बढी गीतमा स्वर दिएका यी गायक एक समय पार्श्व गायनमा पनि निकै जमे । आफ्नै जीवनकथामा आधारित फिल्म ‘आशीर्वाद’मा उनले अभिनयसमेत गरे ।

रामकृष्ण ढकालको आज पनि सांगीतिक सक्रियता त उस्तै छ तर पनि उनका गीतहरुको चर्चा पहिलेजस्तो अहिले त्यति सुनिंदैन । यो साता गफ स्टेसनमा अन्तर्वार्ताका लागि आइपुगेका रामकृष्णले आफू स्वदेशमा भन्दा बढी विदेशकै कार्यक्रममा बढी व्यस्त भइरहेको सुनाए । हो पनि, तीन महिना अमेरिकामा सांगीतिक टुर गरेर आएका उनी यो अन्तर्वार्ताको भोलिपल्ट (बिहीबार) कतारको कार्यक्रममा जाने हतारोमा थिए ।

गफ स्टेसनमा उनलाई सोधियो- अब अमेरिकामा धेरै बस्न थाल्नुभएको हो ?

‘त्यस्तो त होइन, मेरो बेस नेपाल नै हो । अमेरिका ठूलो देश अनि नेपालीहरु पनि धेरै हुनुहुन्छ । एकपल्ट गएपछि दुई-तीन महिना त लागिहाल्ने रहेछ । केही कार्यक्रम सकेर नेपाल फर्किऊँ भन्यो, अर्को कार्यक्रमको अफर आइहाल्छ । त्यसैले बसाइ लामो भएको हो,’ उनले स्पष्ट पार्ने कोसिस गरे ।

कलाकारहरुको विदेश दौडाहाले नेपाली संगीतलाई फाइदा नै पुर्‍याइरहेको रामकृष्ण बताउँछन् । यसले नेपाली संगीतको विश्ववव्यापीकरणमा फाइदा पुर्‍याएको उनको बुझाइ छ । ‘अहिले देशको परिस्थिति नै भनौं, धेरै नेपालीहरु परदेशमा हुनुहुन्छ । त्यस गर्दा मलगायत धेरै कलाकारलाई विदेश जाने-आउने बाक्लो सन्दर्भ मिलेको हो,’ उनी भन्छन्, ‘त्यसैले मेरो पनि यता भन्दा बढी उतै व्यस्तता बढेको होला । अमेरिका-युरोपतिर ठूलो ठाउँ धेरै देश, थोरै समयका लागि जाने भन्दा पनि लामो समय रहनुपर्ने परिस्थिति भइहाल्छ ।’

रामकृष्णलाई तपाईं अमेरिकामै सेटल हुन लाग्नुभएको त होइन ? भन्ने प्रश्न गर्दा त्यस्तो हुन नसक्ने बताए । आफूलाई देशले नै लोकप्रिय गायक बनाएको र यहाँजस्तो स्टाटस बाहिर नमिल्ने उनी बताउँछन् । ‘अमेरिका पटक-पटक जानुमा गुडविलले पनि काम गरेको हो । धेरै साथीभाइले कार्यक्रमका लागि बोलाइरहनुहुन्छ । त्यसैले गइरहेको हुँ,’ उनी भन्छन् । यस्तो भनिरहँदा कतारबाट फर्किएपछि उनी फेरि १० दिनका लागि जापान टुरमा जाने तयारीमा रहेको पनि सुनाउँछन् ।  त्यसबीचमा नेपालका कार्यक्रम र गीत रेकर्डिङका बाँकी कामहरु सक्ने उनको योजना छ ।

समय बलवान् हुन्छ

रामकृष्ण ढकालको संगीतप्रतिको लगाव, साधना जति छ, उति नै आफ्ना लागि समय पनि बलवान् भएर आएको उनी बताउँछन् । ‘हामीभन्दा अगाडिका अग्रजहरुले यो क्षेत्रलाई अगाडि बढाउनुभयो । तर उहाँहरुले संगीत क्षेत्रमा केही सेवा दिन र आफ्नो नामका लागि काम गर्नुभयो । संगीतमै लागेर आर्थिक हिसाबमा टेवा पुग्ने अवस्था थिएन,’ रामकृष्ण भन्छन्, ‘तर मेरो प्रवेश यस्तो समयमा भयो जतिबेला नेपाली संगीतमा क्यासेट किनेर सुन्ने चलन सुरु हुँदैथियो । यसले कलाकारलाई आर्थिक हिसाबमा पनि राम्रो हुन्थ्यो । त्यसबेला मेरो एल्बम किन्न तीन दिन वा एक हप्ताको खाजाको पैसा कटाएको पनि धेरै श्रोताले सुनाउनुहुन्थ्यो । यसबाट लाग्थ्यो हामीप्रतिको माया कति थियो उहाँहरुको ।’

रामकृष्ण संगीत क्षेत्रमा लाग्दा रेडियो नेपालमा भ्वाइस टेस्ट पास नगरी गीत गाउन पाइँदैनथ्यो । पास भएपछि बल्ल गायक-गायिकाको सर्टिफिकेट पाइन्थ्यो अनि गीत रेकर्ड गर्न पाइन्थ्यो । ‘त्यो बेला मिडिया भनेकै रेडियो नेपाल र नेपाल टेलिभिजन मात्रै थियो । त्यो बेला गीत-संगीत मान्छेको समय बिताउने, सुख-दु:ख बाँड्ने, मनोरञ्जन लिने माध्यम थियो । त्यो बेला एल्बम किन्दा त्यसको भ्यालु पनि थियो । त्यसबेला ४०-५० रुपैयाँ एउटा गीति एल्बमका लागि खर्च गर्नु राम्रै पैसा थियो,’ रामकृष्ण भन्छन्,’ त्यसबेला हाम्रा एल्बमका सबै गीत श्रोताहरुलाई कण्ठै हुन्थ्यो ।

जीवनका उकाली ओराली, मायाप्रेमका गीत बढी भएकाले आफ्ना गीतले मान्छेलाई धेरै छोएको रामकृष्ण बताउँछन् । ‘खासमा मेरा गीतले संघर्षशील मान्छेलाई छुनेरहेछ । दु:ख पाएको मान्छेले यो गीत मेरा लागि गाएको हो भन्ने महसुस गर्नेरहेछ । सबै वर्गका श्रोताले सुन्नुहुन्छ तर पनि मेरा खास श्रोता संघर्षशील मानिस हुन् भन्ने लाग्छ । त्यो बेलामा ती गीतहरु उहाँहरुका साथी बने,’ उनी भन्छन् ।

अहिले इन्टरनेट र सामाजिक सञ्जालको जमानामा कुन गीत कति बेला आयो भनेर मान्छेलाई थाहा दिन पनि गाह्रो रहेको रामकृष्ण बताउँछन् । माध्यम सजिलो भए पनि भिडभाडमा राम्रो गीत ओझेल परिरहेको उनको बुझाइ छ ।

‘अहिले गीत रेकर्डिङभन्दा पनि त्यसो सशक्त म्युजिक भिडियो बनाएर दर्शक-श्रोतामाझ नोटिस्ड गराउनुपर्ने बाध्यता छ । पुर्‍याएर मात्रै भएन, क्लिक गराउन गाह्रो छ । मेरो पनि एक महिनामा एउटा गीत त आइरहेकै छ । तर पछिल्लो समय क्लिक हुने गीत नआएकै हो,’ उनी भन्छन् । यसैलाई उनी ‘समय बलवान् हुन्छ’ भन्छन् ।

उनी अगाडि भन्छन्, ”ममा पनि जलन छ’ गीतपछि मेरा पनि खास नोटिस्ड हुने गीत नआएकै हुन् । यसको भिडियो बनाए पनि रुचाइदिनुभयो । हिजोआज राम्रा गीत बन्न पनि गाह्रो छ खर्चको कारणले । अडियो बनाउन नै एक लाखभन्दा बढी लाग्ने समय आइसक्यो, म्युजिक भिडियोमा २० लाखसम्म खर्च गर्न थालिसके । अब हरेक गीतलाई त्यत्रो पैसा खर्च गरेर ल्याउन पनि सहज छैन, सम्भव हुँदैन । हामीलाई मन पराउने साथीभाइको सहयोगमा ठिक्क खालको म्युजिक भिडियो ल्याउनुपर्ने हुन्छ ।’

उनलाई सोधियो- अहिले अडियन्सले अर्को ओराली लागेको गीत खोज्दैछन् नि ?

अहिले संगीतको ट्रेण्ड परिवर्तन भएको रामकृष्ण बताउँछन् । ‘पहिले पहिले जस्तो सबैले एउटै खालको गीत सुन्ने भन्ने पनि हुँदैन । अहिले नयाँपुस्ताले युट्युब लगायतका प्लाटफर्ममा फलो गरेका एक किसिमका संगीत छन् । लोक तथा दोहोरीगीतको अर्कै बजार छ । भाइरलवाला फास्ट गीतको पनि अर्कै मार्केट छ,’ उनी भन्छन्, ‘यो बीचमा राम्रो खालको शब्द, संगीत र मेलोडी भएको गीत ल्याएर क्लिक गराउनु चाहिं चुनौतीपूर्ण छ । तर पनि उहाँहरुले खोजेजस्तो नयाँ गीत ल्याउने नै छु ।’

रामकृष्णका गीत-संगीतबाहेक अरु केही योजना पनि छन् । एउटा राम्रो म्युजिक स्कुल खोल्ने र त्यहाँ देशभरका राम्रा ‘ट्यालेन्ट’लाई ल्याएर संगीत सिकाउने र विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएर विदेशमा संगीत पढ्न पठाउने उनको सपना छ । साथै आफ्नै स्टुडियो खोलेर ती बालबालिका र आफ्नै गीत पनि रेकर्डिङ गरौं भन्ने उनको योजना सूचीमा छ ।

अहिलेका गीत कस्ता ?

गफ स्टेसनमा रामकृष्णले अहिलेको नेपाली संगीतबारे पनि विश्लेषण गरे । बढ्दो खर्चले गीत बाहिर ल्याउन नै गाह्रो भइरहेको र श्रोतासम्म पुर्‍याउन पनि सकसपूर्ण अवस्था रहेको उनी बताउँछन् ।

‘खासमा अहिले म्युजिकमा लगानी बाहिर बस्नेहरुले नै गरिरहेका छन् । यस्तोमा कति राम्रा पनि छन्, कति रहरले मात्र पनि गर्ने छन् । रहरले गर्नेहरुले संगीतको स्तर कायम राख्न पनि सकेका छैनन्,’ उनी भन्छन्, ‘तर बाध्यता छ कलाकारलाई पनि काम नै यही भएपछि गाउनुपर्छ । मैले सकेसम्म सेलेक्टेड गीत गाउने नै कोसिस गरिरहेको छु ।’

कन्सर्टमा दर्शकहरुले नाच्ने र उफ्रिने शैलीका गीत खोज्दा पनि स्तरीय मेलोडियस गीतहरु ओझेल परिरहेको रामकृष्ण बताउँछन् । ‘मनोरञ्जन सुनेर पनि हुन्छ । कन्सर्टमा मबाट नाच्ने र उफ्रिने गीतहरुको अपेक्षा राख्नुहुन्छ । त्यस्तोमा सुरुमा मेलोडियस गीत सुनाएर पछि मेरा फिल्मी गीतहरु सुनाउने गरेको छु,’ उनी भन्छन्, ‘लाइभ ब्याण्डसँगै शान्त भएर गीत सुन्ने पनि त रमाइलो नै हो नि । त्यसको आनन्द बेग्लै हुन्छ नि । आयोजकसँगै अडियन्सले पनि फलानो कलाकार आउने भनेपछि सोहीअनुसारको अपेक्षा राखिदिनुपर्‍यो ।’

रामकृष्णले कन्सर्टमा आफ्नो सिग्नेचर गीत ‘ओराली लागेको’पछि छिटको गुन्यू, माया जदौ, चरीले त छाडेर, हीरा काट्ने, रिसाउँदा नि आफ्नैको धेरै माग हुने सुनाए ।

अहिले नेपाली संगीतमा रेकर्डिङदेखि अन्य प्राविधिक कुरा स्तरीय भएको रामकृष्ण बताउँछन् । ‘पहिले राम्रो रेकर्डिङको लागि बाहिर जानुपर्थ्यो भने अहिले यहीं गर्न सकिन्छ । गीतको कुरा गर्ने हो भने सबै नराम्रा मात्रै आएका छन् भनेर भन्दिनँ, राम्रा गीतहरु पनि धेरै आएका छन्,’ उनी भन्छन्, ‘युट्युब हुँदै टिकटकमा समाज अगाडि बढ्दै जाँदा अलि भाइरल बन्ने गीत सिर्जना बढी भइरहेको देखिन्छ । त्यो कसैलाई राम्रो पनि लाग्छ होला अन्यथा लिन पनि मिल्दैन । तर संगीतलाई फिल्टर गरेर सुन्दा फाइदा पुग्छ ।’

संगीतमा सरकारी तवरबाट कुनै साथ, सहयोग नभएकोमा भने उनले चिन्ता व्यक्त गरे । सबै सर्जक र कलाकार आ-आफ्नै मेहनतले मात्रै अघि बढिरहेको, सरकारले ‘राष्ट्रका गहना’ भन्नेबाहेक खास केही नगरेको उनको गुनासो छ । ‘रोयल्टीलगायतका कुरामा सरकारले चाह्यो भने धेरै कुरा गर्न सक्छ । सरकारको चासो कुर्सी टिकाउने र भागभण्डा मिलाउनेबाहेकमा खास देखिंदैन । हामी कलाकारलाई कुनै ठूलो रोग लागेमा जनतामा गएर सहयोग माग्नुबाहेक विकल्प छैन,’ रामकृष्ण दु:खेसो पोख्छन् ।

देशै विदेशिरहेको देखिन्छ

अहिले नेपालमा जताततै सुनिने कुरा हो, ‘देशमा भविष्य छैन, विदेश गएर सेटल हुने हो ।’ रामकृष्ण पनि यो अवस्थाले चिन्तित सुनिए ।

‘अहिले जो हेरे पनि विदेश नै जाने सोचमा देखिन्छ । विद्यार्थीहरु त झन् त्यसै पनि जाने नै भए,’ उनी भन्छन्, ‘देशको यो अवस्थाप्रति सरकारमा बस्नेहरुको किन ध्यान नपुगेको हो ? आफ्नो देशमा बस्न को चाहँदैन र ? यहाँ जसरी हामी कलाकार चिनिन्छौं, बाहिर गएर त त्यसरी चिनिंदा पनि चिनिंदैनौं ।’

देशमा कसैले राम्रो पढेर जागिर खान खोज्यो भने बिना सोर्सफोर्स, चिनजान पाउन नसक्ने र ऊ निराश भएर विदेशिन बाध्य हुने उनी बताउँछन् ।

‘सबै जना विदेशिरहेको देख्दा देशै खाली हुन लागे जस्तै भइरहेछ । हरेकतिर राजनीति मात्रै हाबी छ । संगीतका संघ-संस्थामा पनि त्यस्तै छ । जहाँ पनि आफ्ना मान्छे ल्याउने परिपाटी छ । सक्षम र योग्य मान्छेलाई पाखा लगाउने चलन छ,’ रामकृष्ण भन्छन्, ‘आफ्नो तरिकाले राम्रो काम गरेको मान्छेलाई न कहिल्यै पुरस्कृत गरिन्छ, न कुनै सहयोग । त्यहाँ पनि कसैले सिफारिस नै गरिदिनुपर्छ । अनि फ्रस्टेसनले सताउँछ ।’

रामकृष्णले देश र समाजबारे यतिका चिन्ता गरिरहँदा गफ स्टेसनमा उनलाई सोधियो- राजनीतिकै लागेर देशको मैलो पखालौं भन्ने लाग्दैन ?

उनको जवाफ थियो, ‘राजनीतिमा लाग्न मेरो स्वभावले पनि दिंदैन । त्यता गएपछि यता बोल्नुपर्ने, उता आश्वासन दिनुपर्ने, अर्कोतिर झगडा गर्नुपर्ने, आरोप-प्रत्यारोपमा उत्रिनुपर्ने दुनियाँ गर्नुपर्ने हुन्छ । त्यस्तो जीवनशैलीमा म इन्जोय गर्न सक्दिनँ । म चिन्तित हुने कुरा चाहिं के हो, संगीतकर्मीको अधिकारप्रति । एउटा सर्जक र कलाकारले सही रोयल्टी पाओस्, उनीहरुका समस्याप्रति राज्यबाट पनि केही सम्बोधन होस् भन्ने चाहन्छु ।’

भन्नुपर्ने कुरा

गफ स्टेसनको बिट मार्ने बेला रामकृष्णले समाज, राजनीतिक दल वा राज्यलाई केही आग्रह गरे । ‘देशमा बेथिति हुँदाहुँदै पनि म एउटा आग्रह गर्न चाहन्छु- जहिल्यै पोजेटिभ चाहिं रहनुपर्छ । नेपाली राजनीतिमा हाम्रा समकालीन पुस्ता आइरहनुभएको छ । मलाई लाग्छ उहाँहरुले केही परिवर्तन ल्याउनुहोला,’ उनी भन्छन्, ‘भन्नुपर्ने कुरा सुन्ने मान्छेलाई पनि थाहा छ । पुग्नुपर्ने ठाउँमा नपुगेको कुरा कहाँ छ र ? उहाँहरुका अप्ठ्याराहरु होलान् तर लामो समयदेखि देशलाई रुल गरिरहेका पार्टीहरुले समाजका लागि, राष्ट्रका लागि गर्नुपर्ने काममा कमी देखिन्छ । तर आशा मार्नु हुँदैन नयाँपुस्ताले यसलाई बुझेर अगाडि लैजाओस् भन्ने अपेक्षा गरौं ।’

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर  

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?