 
																			पुस्तक नपढ्ने को होला र ! झन्, लेख्ने–पढ्ने पेशा अँगाल्नेहरूलाई त पढ्नु भनेको बुद्धिविलास गर्नु मात्रै होइन, केही सिक्नु पनि हो। संसारमा किताबले सिकाएजति कुरा त कसैले पनि सिकाउन सक्तैन होला !
विभिन्न विषयका किताबहरूले बहुआयामिक सन्देश दिइरहेको हुन्छन् । ती आयामहरू सबैले आ-आफ्नो बुझाइबाट व्याख्या गरिरहेका हुन्छन्। एउटा पाठकलाई राम्रो लागेको कुरालाई अर्को पाठकले सोही सुझबुझका साथ आत्मसात् गरेको हुन्छ भन्ने पनि छैन।
मेरो आफ्नै कुरा गर्दा, केही महिनायता मैले थुप्रै किताब उपहारमा पाएकी थिएँ; तर, ती किताबहरूमध्ये मैले कम मात्रै किताबहरू पढें। कारण, मेरो शारीरिक स्वास्थ्य ठिक नभएको अवस्थामा मैले दिमागलाई बोझ पर्ने किताबहरू पढ्न चाहिनँ। मैले उपहार पाएका कुनै किताबहरूले ठूलै पुरस्कार पनि प्राप्त गरे; तर ती केही किताबहरू मैले चार/पाँच पन्नाभन्दा बढी खुट्याउनै सकिनँ।
आज यहाँ हालसालै पढेको किताबबारे चर्चा गर्दैछु। पुस्तकको नाम हो, ‘पार्श्वधुन’; लेखक, कृष्ण कुसुम। ‘शिखा बुक्स’ द्वारा प्रकाशित पुस्तक २०८० असोजमा निस्किएको हो। यो कथा संग्रह हो, जसमा १३ वटा विविध विषयका कथाहरू समेटिएका छन्।
पुस्तकमा संकलन गरिएका कथाहरूमध्ये केही कथाहरूले अमेरिका पुगेका नेपालीहरूको जीवनकथा बताउँछन् भने केहीचाहिं नेपालको परिवेशलाई नै ध्यानमा राखेर लेखिएका छन्।
किताबको सुरुमै ‘एउटा अन्त्य’ शीर्षकको कथाले अमेरिकामा स्कलरसिपमा पढ्न आएको मानिसको दुखेसोको वर्णन गरेको छ। एउटा विद्यार्थी ढुक्कसँग आफ्नो पढाइलाई अगाडि लैजान खोजिरहेको हुन्छ; तर, उसले नचाहँदा नचाहँदै पनि आफ्नो बसाइको क्रममा पढाइभन्दा बढी आफू अमेरिका बस्न चाहिने कागजपत्रको लागि चिन्तित भइरहनुपर्ने, भुटानी मूलका नेपालीहरूले अमेरिका गएर पनि सन्तोषका साथ जीवनयापन गर्न नसकेका कुराहरू कथामा उल्लेख गरिएको छ।
त्योभन्दा पनि दुःखद् त, अमेरिकाको कानुन राम्ररी नबुझेको कारणले, ढोका खोल्न जाँदा मासु काट्दै गरेको चक्कु हातमा देखेर ‘हतियार लिएर ढोका खोल्न आयो’ भनेर सजाय भोग्नुपरेको कुरा, भुटानी शरणार्थीहरूमा डिप्रेसनले गाँजेर आत्महत्या गरेको कुराहरू उल्लेख गरिएको छ।
वास्तवमा भन्ने हो भने, ‘पार्श्वधुन’ पढ्दा दैनिक रुपमा हाम्रा आँखा अगाडि घटिरहेका कुराहरूलाई सरर्र टिपेर पस्किएको जस्तो लाग्छ। पुस्तकको भाषा पनि सरल छ।
अर्को कथा, ‘क्लोन’मा राजदरबार हत्याकाण्डलाई जोडिएको छ। कतैबाट आएको आवाजलाई ‘श्री ५ स्वयं विस्फोट भएको रे!’ भनेर तानाबाना बुनिएको छ। उक्त कथामा राजतन्त्रको अन्त्यको सम्बोधन गर्दै लेखिएको छ, “अन्त्य राजाको होइन, राजतन्त्रको भएको हो। तन्त्र पड्किंदा व्यक्ति सकिने होइन, शासन सकिने हो।”

कथा ‘क्लोन’लाई व्यंग्य कथा पनि भन्न सकिन्छ। यस कथामा गणतन्त्र आएपछिको राजनैतिक विचलनलाई मज्जाले वर्णन गरिएको छ। श्री ५ को विस्फोट भएपछि, शरीर कसरी विभिन्न स्थानमा पुग्यो स्वस्थानी कथा र रक्तबीजको कथाको उदाहरण दिएर भनिएको छ— “सबै स्थलगत विवरणबाट थाहा भयो, श्री ५ विस्फोट भएको रहेछ। यसरी विस्फोट हुँदा श्री ५ को शरीरका भागहरू उछिट्टिएर देशभरका ७६० स्थान र राजधानीका विभिन्न भागमा केही न केही अंश पुगेछ।….
मुख्य अङ्गहरू भने यसरी फिंजारिएः देब्रे कञ्चट सहितको टाउकोको धेरैजसो भाग सिंहदरबारमा पुग्यो। आँखा र कान शीतलनिवासमा। मुटु र कलेजो नागर्जुनतिर उछिट्टियो। नाक रामशाहपथतिर अड्कियो। गर्धन हेटौंडा पुग्यो। फोक्सो र आन्द्रा पोखरा। पेट र नाभि दाङ। दाहिने पैताला विराटनगर। देब्रे पैताला धनगढी। दाहिने हात जनकपुर। देब्रे हात सुर्खेत। जहाँ-जहाँ अङ्ग-प्रत्यङ्ग पुगे, त्यहाँ-त्यहाँ दरबार स्थापना गरियो….।”
यस कथामा पिर्के सलामी खाने, देशको विभिन्न भू-भागमा पशुपन्छी र फलफूल इत्यादिका मूर्तिहरू बनाएकोमा पनि व्यंग्यात्मक टिप्पणी गरिएको छ। अर्को अर्थमा भन्नुपर्दा ‘क्लोन’ कथा राजनैतिक परिवर्तन र हालको स्थितिको सटिक वर्णनको रूपमा रहेको छ।
कथा संग्रहमा महिलाका प्रसंगहरू भने उही नकारात्मक र पुरातनपन्थी नै देखिन्छ। महिला पात्र उभ्याएको ठाउँमा महिलाहरू कमाउने भएपछि पुरुषको खटनमा बस्दैनन् भन्ने भाष्यलाई नै महत्व दिने, अमेरिकामा भोगेको दुःखमा पनि महिला नै दोषी जस्तो देखिने कथाको प्लट आदित्यादि कुराहरू पढ्दा उही पुरातन कथाहरूको याद आउँदोरहेछ।
हरेकजसो कथा पढ्दा, अहिले अमेरिका जानको लागि अधिकांशले गर्ने मरिहत्ते प्रवृत्तिलाई नै टपक्क टिपेर कथा बुनेको जस्तो लाग्छ। कलाकारको समूहमा मान्छे लगेर छाड्ने, उता पुगेपछि नक्कली विवाह गरेर कागज बनाउने ध्याउन्न, छोराछोरीकहाँ लगिएका बाबुआमाले भोगेका अनुभव आदि घटनाहरूलाई कथामा हुबहु उतारिएको छ।
समग्रमा, कथा संग्रहले अमेरिकामा रहेका नेपालीको जीवन अनुभवलाई रोचक ढंगमा प्रस्तुत गरेको छ।
परिवार पाल्न विदेशिएको लोग्नेलाई भेट्न तीन वर्षसम्म रातको निद्रा न दिनको भोक गरेर कुरिरहेकी श्रीमतीलाई खबर आउँछ, “उहाँ रहनुभएन। हामी लास पठाउने व्यवस्था मिलाउँदैछौं।” श्रीमतीको मनोवादलाई कथाकारको कलमले बिट मार्दै लेख्छन्, “… हो, हजुर उहाँ आफू आउँछु भन्नुभएको समय भन्दा ३१ दिन ढिला गरेर आउनुभो। तर आफैं बाकसमा बन्द भएर। अनि आफ्नै घरमा पनि नपसी सरासर घाटतिर लागिहाल्नुभो।”
हरेकजसो मध्यमवर्गीय परिवारको अहिलेको समयको मनस्थिति, समाजमा भइरहेका घटना, आफैंले घरमा राखेको बच्चीमाथि गरेको यौन दुर्व्यवहारका कुरा, विदेश जाने मोहले जे-जसो गर्न पनि तयार रहने सोच जस्ता विषयहरू समेटिएको पुस्तक ‘पार्श्वधुन’ले हामी बाँचेको समाजको ऐना देखाउँछ।
 
                









 
                     
                                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4