+
+
अभिनेता दयाहाङ राईसँग संवाद :

‘घरेलु र विश्व बजार दुवैका लागि काम गर्नुपरेको छ, मैले चाहेको पनि यही हो’

‘भोलि हामी जाने त विश्व बजार नै हो । विश्व बजारको लागि लक्षित फिल्म हो भने त्यसलाई त्यहीअनुसार काम गर्नुपर्ने तौरतरिका हुन्छन् । यो भनेको निर्देशकको आफ्नो सोच हो । निर्देशकले यसरी प्रयास गरौं भन्यो भने मैले त्यसरी प्रयास गर्छु । लोकल मार्केटका लागि हो भने निर्देशकले बनाएको डिजाइनअनुसार काम गर्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १८:४५

काठमाडौं । यस्तो लाग्छ, यतिबेला दयाहाङ राई एक्लैले नेपाली फिल्मको भार बोकेका छन् । नहोस् पनि किन, उनले कति फिल्म साइन गरे र कति फिल्मको प्रस्ताव आएको छ, उनी स्वयंलाई थाहा छैन । निर्विवाद, उनी यतिबेला घरेलु फिल्ममा ‘सबैभन्दा बढी खोजिएका’ अभिनेता हुन् । आर्ट हाउसदेखि ‘व्यावसायिक’ फिल्मसम्म दयाहाङको एकछत्र राजजस्तो देखिन्छ ।

यस वर्षको सुरुवातमा रिलिज भएको ‘जारी’ले घरेलु फिल्ममा मानक कायम राख्यो । दयाहाङसँग कम्तीमा दुई वर्षको लागि पुग्ने ‘लाइनअप’ छ । अबको एक वर्षसम्म उनले फिल्म साइन नै नगर्ने भएका छन् । माघ २६ गते उनी अभिनित ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज हुँदैछन् । एउटै स्टारको फिल्म एकै मितिमा जुध्दा यसलाई कसरी लिने ? नेपाली फिल्ममा समुदायको कथा कसरी भनिनुपर्छ ? आर्टहाउस र व्यावसायिक फिल्मको सन्तुलन लगायतका आयाममा अभिनेता दयाहाङ राईसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संवादको सम्पादित अंश :

तपाईंले अभिनय गरेका ‘जारी’, ‘दयारानी’जस्ता फिल्ममा समुदायको कथा छ । समुदायका कथा मूलधारमा आउनु किन जरुरी छ ?

नेपालमा सांस्कृतिक तथा भौगोलिक हिसाबले विविधता छ भनेर हामीले स्वीकारेको कुरा हो । फिल्मको कथासहित रहनसहन र जीवनमा पनि विविधता छ । साहित्यमा केही समयअघिदेखि आएको होला । फिल्ममा ती विविधिता आइरहेको थिएन । संगीतमा केही आए होलान् । विविधता आउनु आफैंमा सुन्दर कुरा हो । यसको क्राफ्ट भोलि विकास हुँदै जाला । अहिले जति कोसिस भएको छ, यसले नेपाली फिल्मलाई नै माथिल्लो ठाउँमा पुर्‍याउने बाटो मलाई लाग्छ ।

दयारानी’को कथावस्तुलाई अहिलेको समाजको सान्दर्भिकतासँग कसरी जोड्न सकिन्छ ?

अहिले पनि त्यो सोच छ घरभित्र । सन्तानको चाहना सबै मान्छेलाई हुन्छ । आफू आमा बन्नुको महसुस महिला कसरी गर्छन् ? महिलाको लागि त्यो क्षण, खुसी हुने र आफूलाई गर्व गर्ने क्षण होला । हाम्रो समाज पितृसत्तात्मक सोचको अभ्यास भएको समाज हो । समाजको संरचनाअनुसार आफूले सन्तान जन्माउनु भनेको आफ्नो ठूलो कर्मजस्तो देखिन्छ । आजको सोचले फरक तरिकाले हेरिएला तर व्यक्ति, घरभित्र पसेर हेर्दाखेरि यो सोच अहिले पनि हामीभित्र छ । यसले गर्दा यो चीज अहिले पनि कनेक्ट हुन्छ । समस्या आइसकेपछि ती पात्रले कसरी आफ्नो जीवनलाई भोग्छन् र के सोच्छन् भन्ने बढी देखिन्छ ।

‘दयारानी’ श्रीमान–श्रीमतीबीचको सम्बन्धको कथामा बनेको फिल्म हो । विवाहको लामो समयसम्म पनि सन्तान नभइसकेपछि उनीहरुको सम्बन्धमा, सोचमा आउने परिवर्तनकै कथा हो यो । गुरुङ समुदायभित्रका महिलाले कसरी हेर्छन् भन्ने कथा हो ।

माघ २६ मा तपाईंले शीर्ष भूमिका निर्वाह गरेका दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ सँगै रिलिज हुँदैछन् । अभिनेताको रुपमा तपाईंले यो क्षणलाई कसरी हेर्नुभएको छ ?

व्यावसायिक पाटोबाट हेर्दा कठिन होला । व्यक्तिगत कोणबाट हेर्दा मैले नयाँ कुरा अनुभव गर्न पाउँछु । किनभने मैले भोगें नि त त्यो । दुईटा फिल्म एकैपटक आउँदा कुनमा दर्शकको स्वाद बढी छ, त्यो थाहा हुने भयो । अर्को हिसाबले हेर्दा यसलाई जुधेको नभनौं, संयोगले रिलिज भएका हुन् । दुईटा फिल्मको स्वाद फरक छ । जसकारणले चाहिं दर्शक आफ्नो स्वादलाई पछ्याएर जानुहोला भन्ने मलाई लाग्छ ।

तपाईंले एकसाथ आर्टहाउस फिल्म पनि गर्नुभएको छ, सँगै तपाईंले व्यवसायिक सोचले बनाइएका फिल्म पनि गर्नुभएको छ । दुई भिन्न जनराका फिल्मलाई अभिनेताको रुपमा कसरी सन्तुलन मिलाउनुभएको छ ?

विभिन्न निर्देशकका अलग फिल्ममा काम गर्न पाउनु मेरो सौभाग्य नै हो । भूठान, गाउँ आएको बाटो, राजागञ्ज, सेतो सूर्य, हाइवेजस्ता फिल्म पनि मैले गर्न पाएको छु । यता मूलधारतिर पनि स्थानीय बजारलाई लक्षित गर्दै बनाइएकामा काम गरेको छु । एउटा अभिनेताको लागि बुझ्नुपर्ने कुरा– हामीले केको लागि काम गर्दैछौं ? स्थानीय बजारको लागि कि विश्व बजारको लागि ? विश्व बजारमा हामी स्थापित त छैनौं । तर कोसिस भइराखेको छ ।

भोलि हामी जाने त विश्व बजार नै हो । विश्व बजारको लागि लक्षित फिल्म हो भने त्यसलाई त्यहीअनुसार काम गर्नुपर्ने तौरतरिका हुन्छन् । यो भनेको निर्देशकको आफ्नो सोच हो । निर्देशकले यसरी प्रयास गरौं भन्यो भने मैले त्यसरी प्रयास गर्छु । लोकल मार्केटका लागि हो भने निर्देशकले बनाएको डिजाइनअनुसार काम गर्छु । म यो चीज, त्यो चीज भन्ने छुट्याउदिनँ । सानो सोच मात्रै हो– हामी केको लागि काम गर्दैछौं त ? त्यो स्पष्ट हुनुपर्छ ।

मानौं, हामीले घरेलु बजारलाई लक्षित फिल्म बनाउँदै छौं भने केही स्टाइलिस, दर्शकलाई अपिलिङ गर्ने टाइपका कामलाई बढी मात्रामा फोकस गरेको अभ्यास छ । यसलाई ब्रेक गरेर इमोसनमा काम गर्ने कोसिस छ । मैले काम गर्ने शैलीमा केही भिन्नता होला । निर्देशकको सोचअनुसार जाने हो । तर धेरै भिन्न ढंगले म दुईटा फिल्ममा काम गर्छु भन्ने छैन ।

यीमध्ये तपाईंको रुचि कुन पक्षमा छ ? किन ?

दुईटै चीज चाहिन्छ । हामी जब लोकल मार्केटमा स्थापित भएर वा यहाँ चाहिं बजार बचाउन सकिंदैन भने फिल्म पनि बनिरहँदैन । जो विश्व बजार भनेर अर्को हिसाबले लागिरहेका छन् । त्यो आँट गर्नेहरु एकदमै थोरै हुनुहुन्छ । तर यहाँको माहोल स्थापित गर्दैगर्दा विश्व बजारमा एउटा कोसिस मात्र हो । बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा ‘शाम्बाला’ छनोट भएको छ । यो चीज एकदिन त आउँछ । यो चीजलाई सन्तुलन मिलाउन हाम्रो अभ्यास स्थानीय बजारदेखि विश्व बजारमा पुर्‍याउने हुनुपर्छ । हामीलाई दुईटै शैलीको फिल्म जरुरी छ ।

आफू अभिनित फिल्म एकसाथ जुध्ने सन्दर्भमा तपाईंले निर्मातालाई कुनै सल्लाह दिनुहुन्न ?

पहिलो कुरा त स्क्रिप्ट पढिसकेपछि अभिनेता असन्तुष्ट हुन पाउँछ । प्रि-प्रोडक्सनसम्म म असन्तुष्टि थुप्रै जनाउँछु । तर अन्तिम त निर्देशक हो । एक्टर भइसकेपछि निर्देशकले कसरी सोच्नुभएको छ, त्यसमा म जानैपर्छ । किनभने फिल्म एक्टरको नभएर निर्देशकको माध्यम हो । स्क्रिप्ट पढिसकेपछि मैले पात्रभन्दा कथा कसरी भनिएको छ, त्यसको शैलीमाथि थुप्रै किसिमको बहस हुन्छ, कुरा हुन्छ । त्यसपछि क्यारेक्टरको निर्माण, सोच र मनोविज्ञानको विषयमा धेरै कुरा हुन्छ । जब फिल्डमा पुगेपछि हामी या पहिल्यै एउटा बिन्दुमा सहमत हुनुपर्छ । फिल्डमा मेरो हात केही पनि हुँदैन । त्यसपछि निर्देशकको हात हुन्छ ।

अहिले कतिवटा फिल्म साइन गरिसक्नुभयो तपाईंले ?

मैले गनेको छैन । घोषणा भएको कुरा गर्दा ‘मनसरा’को सुटिङ शनिबारदेखि थालेको छु । त्यसपछि घरज्वाइँ, कार्साङ, लोकल हिरो, दुःखी आत्मा लगायतका फिल्म गर्दैछु ।

तपाईंले अहिले सबैभन्दा बढी डिमान्डेड अभिनेता हुनुहुन्छ । फिल्ममा तपाईंको खोजी उत्कर्ष बिन्दुमा छ यतिबेला । व्यक्ति दयाहाङले नभएर अभिनेता दयाहाङले यो परिस्थितिलाई कसरी हेर्नुभएको छ ?

सुन्दा इजी पनि सुनिएला र झूर पनि सुनिएला । तर मेरो यो एकदमै सिकाइको समय हो । सिकाइ कुन अर्थमा हो भने जीवनमा कुनै समय यही समयको लागि धेरै लगानी गरियो होला । धेरै समय पर्खिएँ होला । आज मेरो आँखा र शरीरसमक्ष आइपुगेको छ यो कुरा । मेरा लागि यो समय ठूलो परीक्षा हो । यतिबेला मैले सबै कुरा सम्हालेर परीक्षा दिन सकिन र राम्रो काम गर्न सकिन भने मैले यो अवसर मलाई सधैं आउँदैन । यसले भोलिको मेरो दिन निर्धारण गर्छ होला ।

लोकल मार्केटको लागि पनि मैले त्यसरी नै काम गर्नुपरेको छ । विश्व बजारको लागि पनि मैले फिल्म गरिरहेको छु । काम गर्ने मौका पाएको छु । मैले जम्माजम्मी खोजेको यिनै कुरा हुन् । यी कामले मैले आफूलाई कहाँ पुर्‍याउँछु त आफूलाई ? त्यो एउटा सिकाइको समय हो । भोलि पक्कै पनि मैले राम्रो काम गरें भने यसले मलाई जीवन सिकाउँछ । अनुभव सिकाउँछ । मलाई लागेको छ- मैले अझै धेरै मेहनत गर्नुपर्ने छ । दिनदिनै काम गर्नुपरेको छ । फुर्सद भन्दा पनि मैले अझै धेरै सिक्नुपर्छ ।

तपाईंले लगातार फिल्म साइन गर्नुभएको छ । फिल्म साइन गर्नुअघि तपाईंका पूर्वसर्त केके हुन्छन् ?

घोषित फिल्मका पूर्वसर्त सुनाउँदाखेरि केही अप्ठ्यारो पनि परेको छ । स्क्रिप्ट अझै बनाऊँ भन्ने । शतप्रतिशत स्क्रिप्ट चित्त नबुझेसम्म काम अघि बढाउँदिन भन्दाभन्दै पनि केही चीज अघि बढेको छ नढाँटी भन्दा । मलाई आउने सबै कामसँग चित्त नबुझ्दो रहेछ । कतै म स्वार्थी भएँ कि भन्ने पनि कताकता लाग्छ । स्वार्थी त भएको हैन, पर्सनल कुरा गर्‍यो हो ।

यसरी हेर्दा लाग्दो रहेछ मैले गल्ती चाहिं गरेको छैन । एउटा दबाब सिर्जना गरेको रहेछु । त्यो भनेको निर्माता र हामी सबैलाई अहिलेको आदत हटाऊँ भन्ने हो । कमसेकम शतप्रतिशत यो चीज गर्दैछु भनेर सबैजना स्पष्ट भएर आऊँ । ठीकै छ गर्दै जाऊँ भनेर त हिजो पनि गरेकै हो हामीले । भोलिको दिनमा कमसेकम सबैजनाले शतप्रतिशत म यो गर्दैछु भनेर सोच बोकेर आऊँ ।

यो काम भइरहेको छैन । घोषणा हुन मेरा कतिपय फिल्म बाँकी छन् । मैले सबैलाई भनेको छु- केही समय मैले काम गर्न सक्दिनँ । किनभने प्रि-प्लान भइराखेको छ । मैले वचन दिइसकेको छु केही निर्देशकलाई । उहाँहरुको आइडिया मलाई मन परेको छ । त्यो आइडियामाथि स्क्रिप्ट लेख्नुभएको छ । दिने भन्नुभएको छ । मलाई पछुतो छैन, एक किसिमको आनन्द लागिरहेको छ ।

अबको १० वर्षमा तपाईंलाई हामीले कहाँ देख्न पाउँछौ ?

मेरो कोसिस के हो भने अहिले जति मैले आफूलाई व्यस्त राखेको छु, मेरो अभ्यासको लागि राखेको छु । १० वर्ष पछाडि म यो ठाउँमा यसरी नै काम गरिराखेको हुन्छु । निर्देशन र अभिनय दुवै पनि हुनसक्छ । मैले अभिनयलाई नै अगाडि लगाइरहेको हुन्छु । फिल्म निर्देशक भनेको एउटा सपना हो । त्यो कहिले पूरा हुन्छ, थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?