+
+

श्रीमतीलाई क्यान्सर भएपछि लाग्यो- यो त मृत्युदण्ड पाएसरह हुनेरहेछ : मदनकृष्ण श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १२:४६

विराटनगर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतना जरुरी रहेको बताएका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा आइतबार मोरङको टंकीसिनुवारीमा विराट क्यान्सर इन्स्टिच्युटले गरेको ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रममा क्यान्सरबाट श्रीमती यशोदाको मृत्यु भएको उल्लेख गर्दै कलाकार श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले क्यान्सर लाग्नु भनेको मृत्युदण्ड पाउनुसरह हुने बताए । ‘क्यान्सरबाट सबै मानिस पर रहून् । क्यान्सर रोग असाध्यै प्राणघातक रोग हो । यसबाट बच्न सक्नुपर्छ । क्यान्सर लाग्नु भनेको मृत्यदण्ड पाएसरह हो,’ उनले भने, ‘मैले मेरो श्रीमती क्यान्सर रोग लागेर मृत्यु भएपछि प्रत्यक्ष भोगेको अनुभूति हो यो । क्यान्सर लागेपछि उपचार पनि खर्चिलो हुन्छ । पैसाको खोला बगेजस्तो हुन्छ । कतिपय मान्छेको घर खेत जाँदो रहेछ ।’

श्रेष्ठले श्रीमतीको छ वर्षसम्म उपचार गरेको र विदेशमा पनि उपचारमा लगेको सुनाए । ‘त्यसपछि सकिनँ । त्यसकारण पनि क्यान्सर रोगसँग मलाई असाध्यै डर लाग्छ । पाँच जनामा एक जनामा क्यान्सर लाग्ने भन्ने सर्वेक्षणबाट सुनेको छु । यो सुनेर झन् मलाई डर लाग्छ,’ उनले भने, ‘त्यसैले यो रोग लाग्न दिनु हुँदैन । क्यान्सर रोग लाग्न नदिन जनचेतनाको जरुरी छ । अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियानमा हिंड्ने गरेको छु । त्यसैले अहिले विराटनगरमा छु ।’

श्रेष्ठले अगाडि सुनाए, ‘मेरी श्रीमतीलाई ९९ वटा किमोथेरापी दिइएको थियो । त्यसबाहेक मुखबाट खाने औषधि कति हो कति त्यसको गणना नै छैन । एक महिनामा नौ लाख रुपैयाँसम्म खर्च हुने औषधि पनि खुवाए । औषधि जापानबाट ल्याएर पनि खुवाइयो । मेरो छोराको साथीले उक्त औषधि दिएका थिए । श्रीमतीको उपचारमा मैले थुप्रै चिकित्सकहरुको साथ सपोर्ट पनि पाए । त्यसबेला नेपालमा पेट स्क्यान गर्ने उपकरण थिएन । पेट स्क्यानको लागि विदेश जानुपर्ने अवस्था थियो । स्वदेशमा नपाएपछि बैंकक गएका थियौं । त्यसबेला एक लाख ३४ हजार रुपैयाँ पेट स्क्यानमा खर्च भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?