२२ माघ, बुटवल । नेपाल उद्योग व्यापार महासंघले सरकारी जग्गा व्यक्तिको नाममा बनाएको घटनामा संलग्नमाथि भइरहेको अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढंगले गर्न सरकारसँग माग गरेको छ ।
कसैको दबाबमा नपरी घट्नामा संलग्न व्यक्तिहरूमाथि स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन अघि बढाउन महासंघले सरकारसँग माग गरेको हो ।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेका व्यक्तिका विषयमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संस्थाले सरकारको आलोचना गरिरहेका बेला नेपाल उद्योग व्यापार महासंघले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष खिमलाल भण्डारीले विज्ञप्ति जारी गर्दै राज्यको सम्पत्तिमाथि कमजोर कानुनको फाइदा उठाइ सीमित व्यक्तिको स्वार्थका लागि गलत नियतका साथ कानुन प्रतिकूल निर्णय गराइ कसैको पक्षमा बनाइदिने घटना निरन्तर उजागर भइरहेको भन्दै यस्ता घटनामा संलग्न सरकारी कर्मचारी, सम्बन्धित व्यक्ति वा संस्था जो कोहीमाथि अनुसन्धान गरी दोषी पाइए कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।
राष्ट्रिय पूँजी, स्वदेशी उद्योग व्यवसायको विकास, संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै हरेक किसिमका अवैध कारोबार, चोरी निकासी, भ्रष्टाचार र कालोबजारी जस्ता गतिविधिलाई निर्मूल पार्नुपर्ने मान्यतामा महासंघ रहेको उल्लेख छ ।
देशमा लामो समयदेखि व्यापकरुपमा मौलाएको भ्रष्टाचार, तस्करी, विभिन्न खाले अवैध गतिविधि नियन्त्रण गर्न र राज्यको नियम कानुन अनुसार स्वच्छरुपले आफ्नो उद्योग व्यवसाय गरेका व्यवसायीलाई उच्च मनोबलका साथ उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन पनि महासंघले सरकारसँग माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4