+
+

एमाले र राप्रपा संसदीय दल पदाधिकारीमा महिला शून्य

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० माघ २४ गते १०:३०

२४ माघ, काठमाडौं । यही फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । जसमा एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती) पनि पर्छिन् । हाल उनी राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति छिन् ।

सांसद रावल बिदा भएसँगै संघीय संसदको दुवै सभामा एमालेले प्राप्त गरेका जिम्मेवारीमा महिलाको उपस्थिति शून्यमा झर्नेछ । राष्ट्रिय सभाका चार वटा विषयगत समितिमा एमालेका तर्फबाट रावल मात्रै सभापति हुन् ।

प्रतिनिधिसभामा दश वटा विषयगत समिति छन् । त्यसमध्ये दुईवटा विषयगत समितिको सभापतिमा एमालेका सांसद छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापति किरणकुमार साह छन् ।

एमाले संसदीय दलको पदाधिकारीमा भने सुरुदेखि नै महिलाको उपस्थिति छैन । प्रतिनिधि सभामा संसदीय दलको नेतामा केपी शर्मा ओली छन् । उपनेता सुवास नेम्वाङको निधन भएपछि यो जिम्मेवारी कसैलाई दिइएको छैन । प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला छन् ।

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ छन् ।

राजनीतिक दल सम्बन्धी ऐन दफा २५ र दफा २६ अनुसार संसदीय दलको पदाधिकारीमा दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्य सचिव रहन्छन् । यसअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा संसदीय दलको पदाधिकारी चयन र मनोनयन गर्दा महिलाले अवसर नपाएका हुन् ।

प्रतिनिधि सभामा एमालेका ७९ सांसद छन् । राष्ट्रिय सभामा हाल मनोनित सहित १८ सांसद रहेका छन् । यसमध्ये प्रतिनिधि सभामा २६ जना र राष्ट्रिय सभामा ९ जना महिला सांसद छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको पदाधिकारीमा पनि महिला छैनन् । राप्रपाको प्रतिनिधि सभामा संसदीय दलको नेता राजेन्द्र लिङ्देन छन् । प्रमुख सचेतकमा ज्ञानबहादुर शाही छन् । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन् । जसमध्ये पाँच जना महिला सांसद छन् । राष्ट्रिय सभामा राप्रपाको उपस्थिति छैन ।

नेकपा एकीकृत समाजवादीको प्रतिनिधि सभा संसदीय दलको नेता माधवकुमार नेपाल छन् । प्रमुख सचेतकमा मेटमणि चौधरी छन् । प्रतिनिधि सभामा १० सिट रहेको यो पार्टीको महिला सांसद तल्लो सदनमा छैनन् ।

एकीकृत समाजवादीको राष्ट्रिय सभामा संसदीय दलको नेता वेदुराम भुसाल छन् । राष्ट्रिय सभामा एकीकृत समाजवदीको ८ सांसद छन् । जसमध्ये पाँच जना महिला सांसद छन् । तर, महिला सांसदलाई संसदीय दलको पदाधिकारीमा कुनै जिम्मेवारी छैन ।

संसदमा १० वा १० भन्दा बढी सिट रहेका पार्टीको संसदीय दलका पदाधिकारीले संसद सचिवालयबाट थप सुविधा पाउँछन् । १० भन्दा कम सिट भएका पार्टीले सिंहदरबारमा दलको कार्यालय र कार्यालय सञ्चालनका लागि आवश्यक खर्च र कर्मचारी पाउँछन् ।

संघीय संसदमा १३ दलको प्रतिनिधित्व छ । जसमा एमालेसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टी छन् ।

नेपाली कांग्रेसको संसदीय दलको पदाधिकारीहरुमा महिला उपस्थिति छ । प्रतिनिधि सभाको संसदीय दलको नेतामा शेरबहादुर देउवा छन् । उपनेता पद रिक्त छ । प्रमुख सचेतकमा रमेश लेखक र सचेतकमा सुशिला थिङ छन् ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रमेशजंग रायमाझी छन् भने सचेतकमा अनिता देवकोटा छिन् ।

माओवादी केन्द्रको प्रतिनिधि सभामा संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्ड छन् । उपनेता पद रिक्त छ । प्रतिनिधि सभामा प्रमुख सचेतक हितराज पाण्डे छन् भने सचेतकमा रुपा सोसी चौधरी छिन् ।

राष्ट्रिय सभामा माओवादी केन्द्रको संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ छन् भने प्रमुख सचेतक गोपी अछामी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) को प्रतिनिधि सभामा संसदीय दलको नेता रवि लामिछाने र उपनेता विराजभक्त श्रेष्ठ छन् । प्रमुख सचेतकमा सन्तोष परियार छन भने र सचेतकमा निशा डाँगी छिन् । रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन ।

जनमत पार्टीको प्रतिनिधि सभामा दलको नेतामा अध्यक्ष डा.सिके राउत, उपनेतामा अब्दुल खान छन । प्रमुख सचेतक अनिता साह र सचेतक विनिता सिंह दनुवार छन् । राष्ट्रिय सभामा जनमत पार्टीको उपस्थिति छैन ।

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा दलको नेतामा रञ्जिता श्रेष्ठ छिन् । प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतक अरुणकुमार चौधरी छन् ।

जनता समाजवादी पार्टी -जसपा) को प्रतिनिधि सभा संसदीय दलको नेतामा उपेन्द्र यादव छन् । प्रमुख सचेतकमा प्रदीप यादव छन् । यो दलको प्रतिनिधि सभामा महिला सांसद नै छैनन् । राष्ट्रिय सभामा जसपाका तीन सांसद छन् । जसमध्ये एक जना (प्रमिला कुमारी) महिला सांसद छन् । तर, उनलाई संसदीय दलको पदाधिकारीमा कुनै जम्मेवारी दिइएको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर छन् । उपनेता र प्रमुख सचेतक मनोनयन भएका छैनन् । यो दलको प्रतिनिधि सभा र राष्ट्रिय सभामा महिला सांसद छैनन् ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका एक/एक जना (क्रमश प्रेम सुवाल, चित्रबहादुर केसी र प्रभु साह) प्रतिनिधि सभामा छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?