+
+

दयाहाङ स्टारर ‘दयारानी’को बुकिङ खुला, डायस्पोरामा ४०० शो तय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १३:३८

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ ।

पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार काठमाडौं प्रिमियर गर्दैछ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरे । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यका र अन्य सहरमा गरी ३६ शो उपलब्ध गराएको छ ।

आईएनआईले १२, बिग मुभिजले ६, वान सिनेमाजले नौ शो दिएका छन् । रञ्जना, सीके, बीएसआर, सीडीसी र क्युज हलले पनि सोही अनुपातमा शो विभाजन गरेका छन् । दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ । दुवै देशमा फिल्मको ४०० शो तय भएको जनाइएको छ ।

अमेरिकाका २३ हलमा १९७ शो पक्का भएको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले जनाएको छ । टेक्सस, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागोलगायत नेपालीको संख्या उल्लेख्य रहेका सहरमा फिल्म रिलिज हुने जनाइएको छ ।

अष्ट्रेलियामा पनि मुख्य सहरहरुमा फिल्म लाग्ने पनि उल्लेख छ । यो फिल्म खाडीका मुलुकमा १५ फेब्रुअरी र भोलिपल्ट युरोपेली मुलुकमा रिलिज हुने जनाइएको छ ।

रामबाबु गुरुङको बाँसुरी र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङको अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यु आईटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डाइरेक्टर मणिराम पोखरेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?