+
+

देशको अखण्डताबाहेकका विषयमा फिल्मको सेन्सरसिप जरुरी छैन : एमाले प्रमुख सचेतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १२:२९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक तथा पूर्वस्वास्थ्यमन्त्री पदम गिरीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुनेगरी सरकारले ल्याउन लागेको फिल्म सेन्सर कार्यविधिप्रति आपत्ति जनाएका छन् ।

दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’को प्रिमियरमा पुगेका नेता गिरीले देशको अखण्डतालाई कमजोर पार्ने बाहेकका फिल्मलाई सेन्सर गर्नु जरुरी नरहेको बताए ।

उनले भने, ‘देशको अखण्डतालाई खण्डित गर्ने काम हुन्छ भने त्यस्तो कुरामा सेन्सरसिप लगाउने हो । बाँकी कुरामा सेन्सरसिप लगाउनुपर्छ जस्तो आवश्यकता म देख्दिनँ ।’

उनले सेन्सर बोर्डका पदाधिकारीलाई परम्परागत सोचले नसोच्न समेत सुझाव दिए । ‘सेन्सर बोर्डका मान्छेले परम्परागतरुपले सोच्नुभएन । सिर्जनात्मक रुपले सोच्नुपर्‍यो । आजभन्दा २०-५० वर्षअघिको मानसिकताबाट अहिलेको समाजलाई बुझ्न सकिंदैन । नयाँ एंगलबाट सोच्नुपर्छ ।’

उनले पछिल्ला फिल्ममा कहीं पनि सेन्सरसिप गर्न जरुरी नरहेको बताए । ‘फिल्मलाई त्यहाँभित्र पसेर त्यसको मर्मबाट हेर्न सक्नुपर्छ । परम्परागत ढंगबाट सोच्ने हो भने अहिलेको नयाँपुस्तामा त्यो कुरा स्थापित हुँदैन । अहिलेको समाजलाई त्यो फिल्मले प्रतिनिधित्व पनि गर्न सक्दैन,’ उनले भने ।

फिल्म हेरिसकेपछि गिरीले ‘दयारानी’को कथा र अभिनय पक्षको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?