+
+
Shares

चितवनबाट रवि-बालेनको सन्देश : गुटबन्दीको विषालु फल फलाउँदैनौं

चार वर्षे अवधिमा आरोह र अवरोह बेहोर्दै आएको रास्वपाले पहिलो राजनीतिक शक्ति बनेर प्रथम महाधिवेशन आइतबारबाट सुरु गरेको छ । पार्टी स्थापनाको बेला केन्द्रीय सदस्य पाउनै मुस्किल भएको रास्वपामा त्यही पदमा तछाडमछाड गर्नेहरू सयौं छन् ।

लिलु डुम्रे दिनेश गौतम सुवास पण्डित लिलु डुम्रे, दिनेश गौतम, सुवास पण्डित
२०८३ असार ७ गते २२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा चितवनको भरतपुरमा भव्य रूपमा शुरू भएको छ ।
  • महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिँदै रास्वपाले छोटो समयमा हासिल गरेको राजनीतिक सफलताको प्रशंसा गर्नुभयो ।
  • सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र गुट र उपगुटको राजनीति नगर्न नेता तथा कार्यकर्ताहरूलाई विशेष आग्रह गर्नुभएको छ ।

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना गर्ने क्रमदेखि नै अड्चन र व्यवधानहरू बेहोर्नु परेको थियो । २०७९ साल असारमा जन्मेको रास्वपाका लागि सुरुमै पार्टीको नाम र चुनाव चिह्न (घण्टी) माथि कानुनी अवरोध सिर्जना आयो । पार्टीका लागि जन्म समयदेखि प्रतिकूलताहरू छिचोल्दै पहिलो महाधिवेशनसम्म आइपुगेको छ ।

तत्कालीन समयमा नयाँ पार्टी स्थापना गर्दैगर्दा आर्थिक र मानवीय स्रोत सीमित थियो । देशभर प्रभावकारी चुनावी अभियान चलाउन सक्ने सामर्थ्य त्यसबेला रास्वपासँग थिएन । २०७९ सालको निर्वाचनमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १११ क्षेत्रमा मात्र उम्मेदवार उठायो ।

आज भन्दा ठीक चार वर्षअघि पार्टी गठन गर्ने क्रममा २१ जना केन्द्रीय सदस्य पूरा गरेर निर्वाचन आयोगमा पेश गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई हम्मे हम्मे परेको थियो । त्यही शक्ति चार वर्षको यो अवधिका आरोह अवरोह पार गर्दै देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको छ ।

संगठनको बलमा सीमितता भए पनि सामाजिक सञ्जालको प्रयोगमा अन्य दललाई रास्वपाले अन्य दललाई उछिन्यो ।

चुनावी प्रचारको अस्त्र मूलतः सामाजिक सञ्जालाई बनायो । फेसबुक, एक्स (ट्वीटर), इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग र वेबसाइट सुरु गरेर जनतासँगै सम्बन्ध जोड्ने काममा रास्वपा सफल बन्यो ।

कांग्रेस–एमाले गठबन्धनको सरकार भएको बेला सभापति रवि लामिछानेविरुद्ध तत्कालीन सरकारले ‘राजनीतिक प्रतिशोध गरेको’ भन्दै गरिएको हस्ताक्षर अभियान नागरिकसँग जोड्ने अर्को माध्यम बनेको थियो ।

परम्परागत राजनीतिबाट नागरिक आजित भइरहेको बेला जेनजी आन्दोलन भयो । सुशासन र भ्रष्टाचारको अन्त्यको माग राखेर जेनजीले आन्दोलन भयो ।

जेनजी आन्दोलनमा उठेको मूल मुद्दा सुशासन र भ्रष्टाचारको अन्त्यलाई चुनावी एजेन्डा बनायो । जेनजी आन्दोलनमा देखियो । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिटसहित प्रतिनिधि सभामा पहिलो शक्ति बन्यो ।

गत निर्वाचनमा जनताको अभूतपूर्व समर्थन प्राप्त गरेर सरकार गठन गरे लगत्तै महाधिवेशन उन्मुख भयो । चुनावको छ महिनापछि प्रथम महाधिवेशन गर्ने यसअघि गरेको निर्णयबाट अझ अघि बढेर असारमै महाधिवेशन गर्ने समय निर्धारण गर्‍यो । जेठको पहिलो सातादेखि कार्यतालिका प्रारम्भ गरेको रास्वपाले छोटा अवधिमा वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्‍यो ।

मधेशबाहेक अन्य प्रदेश समिति बनेको छ । ६४ जिल्लाको अधिवेशन सकिएको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार ६५८ पालिकामा समिति रहेको र ६०९ पालिकाको अधिवेशनबाट नयाँ नेतृत्व आएको छ । चुनावलगत्तै तीव्र संगठन विस्तार गरेको रास्वपाले चार हजार ३०० वडामा संगठन बनाएको छ ।

रास्वपा विना संगठन २०७९ सालको निर्वाचनमा होमिएर थियो । गत निर्वाचन अघि पनि सांगठनिक अवस्थामा रास्वपामा मजबुत बनिसकेको थिएन । धीमा गतिमा बढिरहेको संगठन निर्माणले चुनाव लगत्तै तीव्रता पायो । निर्वाचनबाट प्राप्त परिणाम र त्यसलगत्तै आयोजना गरिएको महाधिवेशनले रास्वपा सांगठनिक रुपमा बलियो शक्तिका रुपमा उभिने अवस्थामा पुगेको छ ।

देशभरका ५ लाख बढी सदस्यको बलमा तय भएका प्रतिनिधिहरू यतिबेला रास्वपाको इतिहास कोर्नका लागि चितवनमा भेला भएका छन् । रास्वपा सभापति रवि लामिछानेको शब्दमा ‘निलो क्रान्तिको राजधानी’ मा रास्वपाका नेता कार्यकर्ता उत्साहका साथ भेला भएका छन् ।

तत्कालीन समयमा २१ जना केन्द्रीय सदस्य पुर्‍याउन कठिनाइ भोगेको रास्वपाको केन्द्रीय समितिमा पुग्न खोज्नेहरूको तछाडमछाड छ । निर्वाचनका लागि केन्द्रीय सदस्यका लागि छुट्याइएको ९९ जनामा पुग्नका लागि उम्मेदवारका आकांक्षीहरूले हजार बढी रहेको एक केन्द्रीय सदस्यले दाबी गरे । उनी भन्छन्,‘चार वर्ष अघिको रास्वपामा केन्द्रीय सदस्य बनिदेउन भन्दा मान्छे पाइने थिएन । अहिले जो भेट्यो, केन्द्रीय सदस्यमा उठ्छु भन्छन् ।’

पार्टी गठन भएको चारवर्ष पुगेकै दिन आयोजित प्रथम महाधिवशेनमा देशभरका नेता कार्यकर्ता र शुभेच्छुकहरू भरतपुरमा उतारेर रास्वपाले उद्घाटन सत्रलाई ‘विशेष’ बनायो । रास्वपाले आफ्ना कार्यकर्ता र शुभेच्छुक मात्रै भेला गरेन, अन्य दलका नेताहरुलाई निमन्त्रणा गरेर पार्टी र सरकारको लागि सुझाव लियो ।

महामन्त्री बुर्लाकोटीका अनुसार प्रतिनिधि र राष्ट्रिय सभामा रहेका दलहरुको मूल नेतृत्वलाई महाधिवेशन आमन्त्रण गरिएको थियो ।

नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं आफैं रास्वपाको महाधिवेशनमा अतिथि बने । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतका अध्यक्ष डा.सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत शुभकामना मन्तव्य दिए ।

रास्वपाको उद्घाटन सत्रले सत्ता र प्रतिपक्षमा देखिएको तिक्ततालाई कम गर्ने माध्यम बनेको छ ।

चुनावअघि एकविरुद्ध अर्को खरो उत्रने नेताहरुलाई नजिक ल्याउने माध्यम समेत रास्वपामा महाधिवशेन बनेको छ । कांग्रेस सभापति थापाले रास्वपामा सिक्ने भन्दै उक्त दलका नेता कार्यकर्तालाई फुरुङ्ग बनाए । रास्वपाको चार वर्षे सफलता लोभलाग्दो रहेको बताए ।

‘पार्टी गठन भएको चार वर्षमै तपाईहरुले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ । यो लोभलाग्दो छ । म यसको मुक्तकण्ठले प्रशंसा गर्दछु,’ कांग्रेस सभापति थापाले भने, ‘संगठन निर्माणदेखि सभापति र प्रधानमन्त्री बधाईको पात्र हुनुहुन्छ ।’

रास्वपाले यो बीचमा बनाएको संगठन र निर्वाचनमा प्राप्त जनमतको अन्य सबै दलले प्रशंसा गरे । अर्कोतर्फ रास्वपा सभापति लामिछानेले ठूलो दल भएर दम्भ नदेखाउने विश्वास दिलाए । उनी भन्छन्, ‘शक्तिशाली हुन भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन । प्रतिशोध साँध्ने लाइसेन्स प्राप्त गर्नु होइन ।’

चार वर्षमा पार्टी संगठन र राष्ट्रिय चुनावमा छलाङ मार्न रास्वपा सफल भएपनि दलभित्र कहिकतै समस्या आउनेप्रति सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह दुवै सचेत देखिए ।

गुट र उपगुटको राजनीति गरियो भने त्यसले दिने फल विषालु हुने भन्दै नेता कार्यकर्तालाई गुटगत राजनीति नगर्न सभापति लामिछानेले आग्रह गरे ।

गुटगत राजनीति सुरु गर्ने प्रस्थान विन्दु महाधिवेशन हुनसक्ने प्रति सभापति लामिछाने सचेत देखिए । नेता कार्यकर्तालाई भने, ‘तर के रहेछ भने साथीहरू, बलिदान अरुले गरे ठिक मान्ने । अरुले आफूले गर्‍यो भने दुःख मान्ने ।’

वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेनले नेता बन्न जनताको विश्वास जित्नुपर्ने बताए । गुट उपगुट बनाउन नलाग्न आग्रह गर्दै नेता कार्यकर्तालाई भने, ‘एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्दछ । कुनै समूह बनाएर हुँदैन । त्यही भएर समूह बनाउने तिर नलाग्नुहोला ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?