+
+

कोरियामा नाम निकालेका राजकुमार रुस-युक्रेन युद्धको रेड जोनमा

आठ लाख बुझाएपछि एजेन्टले उनलाई दुबई हुँदै रुस पुर्‍याए । रुसको मस्को पुर्‍याएको अर्काे दिन नै त्यहाँको एजेन्टले उनलाई रुसी सेनाको क्याम्प बाहिर छोडिदियो ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० माघ २५ गते २१:२०

२५ माघ, काठमाडौं । दुबई र कतारमा सात वर्ष बिताए, इलामको रोङ गाउँपालिका-३ का २७ वर्षीय राजकुमार मुखियाले ।

खाडीको तातो भूमिमा जति पसिना बगाउँदा पनि जीवन उँभो लाग्ने देखेनन् उनले । त्यसपछि उनी स्वदेश फर्किए । परदेशमा पाएको दुःख सम्झेर स्वदेशमै केही गर्ने योजना बुने ।

घर फर्केको केही वर्षपछि झापाको बिर्तामोडमा रेष्टुरेन्ट खोले । तर व्यापार सोचे जस्तो चलेन । त्यसपछि रत्तिएका उनले पुनः विदेश जाने सोच बनाए । यो दुई वर्षअघिको कुरा हो ।

यसपटक फरक गन्तव्य खोजिरहेका उनले भाषा सिकेर कोरिया जाने तयारी गरे । कोरिया भाषाको तयारी गरेको दुई वर्ष अर्थात गत असारमा भएको शिप विल्डीङमा नाम निकाले ।

बाबुआमा बितेपछि एक्ला थिए, राजकुमार । दिदी सुमी चाम्लिङले नै उनलाई हुर्काएकी थिइन् । राजकुमारको अभिभावक भन्नु उनी मात्र थिइन् । विदेश गएर फर्केको भाइ व्यवसायमा लागेपछि दिदीले भाइप्रति चिन्ता लिनुपर्ने खास कारण थिएन । व्यापार राम्रो नचले पनि कोरियामा जान नाम निकालेका थिए । सबै ठिकठाक चलिरहकै थियो ।

तर भाषा परीक्षामा नाम निकालेका भाइ कोरिया गएनन् । कोरिया जाने तयारी गरिरहेकै बेला मोरङका सुर्य राई र काठमाडौंको सुर्य थापाले उनलाई रुसी सेनामा पठाइदिने भनेर लोभ देखाए । युद्ध लड्न नमर्ने र मासिक पाँच लाखसम्म कमाई हुने, पिआर पाइने र परिवारलाई समेत उतै लैजाने मिल्ने भन्दै प्रलोभन उनले देखाए ।

कोरिया भन्दा राम्रो कमाई हुने लोभ देखाएपछि भाइ राजकुमार विश्वासमा परिहाले । ‘रुसमा युद्ध भइरहेको कुरा हामीलाई थाहा भएन’ दिदी सुमी भन्छिन्, ‘एजेन्टले पनि त्यो कुरा भनेन । कोरिया भन्दा राम्रो रुसमा कमाई हुने भनेपछि भाइले उतै जान्छु भन्यो ।’

आठ लाख बुझाएपछि एजेन्टले उनलाई दुबई हुँदै रुस पुर्‍याए । रुसको मस्को पुर्‍याएको अर्काे दिन नै त्यहाँको एजेन्टले उनलाई रुसी सेनाको क्याम्प बाहिर छोडिदियो । युद्ध लड्न मान्छे खोजिरहेको रुसले सजिलै भर्ना लियो । केहीदिनको तालिम पछि सिधै युद्ध भूमिमा पठाएछ ।

‘त्यहाँ पुगेपछिमात्र युद्धमा लड्न पठाउने कुरा थाहाँ भयो’ दिदी सुमिले भनिन्, ‘एजेन्टले हामीलाई नराम्रोसँग झुक्याएछ ।’

१५ दिनको तालिमपछि राजकुमारलाई रुसले युक्रेनसँग युद्ध चलिरहेको क्षेत्रको रोड जोनमा पठायो । त्यसयता उनी युक्रेनी युद्धग्रस्त भूमि बखमुटमा छन् । जहाँ दुई देशबीच लगातार बमवर्षा भइरहेका छन् । त्यही युद्धमा महिना दिनयता फँसेका भाई राजकुमार अत्तालिदै दिदीलाई फोन गर्छन् । युक्रेनले गर्ने आक्रमणमा परेर नेपालीहरुले ज्यान गुमाइरहेका घटनाहरु सुनाइरहन्छन् । ‘युद्ध क्षेत्रमा साह्रै जोखिम छ, जति बेला जे पनि हुनसक्छ भन्दै भाइ रुदै फोन गर्छ’ उनले भनिन् ।

आमा बुबाझै माया दिएर हुर्काएको भाई परदेशको युद्धमा फसेको कुराले दिदी सुमीको मनमा चैन छैन । ‘कोरिया जाने तयारी गरेको भाई युद्धमा फस्यो’ उनले भनिन्, ‘भाइ मृत्युको मुखमा छ भन्ने कुरा सुने यता हामीलाई निन्द्रा छैन ।’

त्यसमाथि रुस युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको आइरहने खबरले उनी झन् अत्तालिन्छिन् । भाइसँग दुईचार दिन सम्पर्क नहुँदा त उनको मुटुले ठाउँ नै छोड्छ ।

विर्तामोडमा भाइ राजकुमारको श्रीमती र तीन वर्षकी छोरी पनि छन् । श्रीमान्को खबर सुनेर अत्तालिएकी बुहारीलाई पनि उनले नै सम्झाइबुझाई गरिरहेकी छन् ।

‘कोरिया जाने तयारी गरेको भाई युद्धमा फस्यो’ उनले भनिन्, ‘भाइ मृत्युको मुखमा छ भन्ने कुरा सुने यता हामीलाई निन्द्रा छैन ।’

दिदी सुमीचाहिँ युद्धमा फसेको भाईलाई स्वदेश फर्काउन भन्दै दौडधुप गरिरहेकी छन् । कहिले रुसको राजदुतावास धाइरहेकी छन्, कहिले परराष्ट्र मन्त्रालय । तर कतैबाट चित्तबुझ्दो जवाफ पाएकी छैनन् ।

थुप्रै नेपालीहरु युद्धमा फसेको थाहा हुँदाहुँदै पनि सरकारले उद्धारका लागि प्रयास नगरेकोमा आक्रोश पोख्छिन् उनी । ‘नजानेरै रुसी सेनामा पुगेका थुप्रै नेपालीहरु मृत्युको मुखमा छन्’ उनी भन्छिन्, ‘यस्तो हुँदा पनि सरकार थाहा नपाए झैँ गरी बसेको छ ।’

युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरु मृत्युमा परिरहेका खबरहरु तारन्तार आइरहँदा पनि सरकारले देखाएको गैरजिम्मेवारीका कारण पीडित परिवारलाई थप चिन्ता थपिएको उनी बताउँछन् । ‘बित्ने बितिसके,’ उनी भन्छिन्, ‘तर जो मृत्युको मुखमा उनीहरुलाई त उद्धार गरेर बचाउन त सकिन्छ नि ।’

आफ्नो मान्छे युद्धमा फसेको र सरकारले उद्धार नगर्नुको पीडा एकातिर छ । त्यसमाथि सरकारी निकायले नै किन पठाएको भनी सोेधेका बेला उनलाई थप पीडाबोध हुन्छ । ‘जानाजान मृत्युको मुखमा रहर कसैलाई हुँदैन’ उनले भनिन्, ‘युद्ध लड्नुपर्छ भन्ने थाहा पाएको भए किन पो पठाउने थियौं र ?’ समस्यामा परेका आफ्नो नागरिकलाई उद्धार गर्नुको साटो पीडित परिवारलाई दिने गैरजिम्मेवार जवाफले झन् घाउमा नुनचुक थपेको उनी बताउँछिन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?