+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

थारू कलाकार मञ्चको महाधिवेशन सौराहामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते २०:०८

२६ माघ, चितवन । राष्ट्रिय थारू कलाकार मञ्चको पहिलो महाधिवेशन चितवनको सौराहामा हुने भएको छ । मञ्चले यही माघ २७ र २८ गते महाधिवेशन गर्न लागेको जनाएको छ ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै थारू संस्कार, संस्कृति, पहिचान र परिकारलाई प्रवर्द्धन गर्ने मञ्चका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिए । पाँच वर्षअघि गठन भएको मञ्च थारू कलाकारको क्षमता अभिवृद्धि र पेसागत सुरक्षामा क्रियाशील रहेको उनले बताए ।

‘पाँच वर्षअघि गठन भएको यो हाम्रो सङ्गठन थारू कलाकारको क्षमता बढाउन, पेसाको संरक्षण गर्न क्रियाशील छ, साथै थारू भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थारू समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय छौँ’, अध्यक्ष चौधरीले भने ।

महाधिवेनमा नयाँ नेतृत्व चयनसँगै थारू समुदायको परम्परागत संस्कृति तथा खानाको संरक्षणका लागि बहस गरिने छ । महाधिवेनमा २६ जिल्लाका एक सय ३० प्रतिनिधि र २६ पर्यवेक्षकले भाग लिनेछन् । महाधिवेशनमा भने चार हजार बढी कलाकार तथा थारू समुदायका अगुवा विभिन्न जिल्लाबाट सौराहा आउने छन् ।

अधिवेशनको उद्घाटनमा थारू पौराणिक लोकनाच, लोकगीत, बाजासहित थारू पहिरन र गहनासमेत लगाएका ५० झाँकी प्रस्तुत गरिने चौधरीले बताए ।

दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट कर्‍या चोल्या, उज्जर गोन्यामा सजिएर थारू मन्द्रा, मञ्जौराको तालमा नाचिने सखिया नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।

थारूका आधुनिक र व्यावसायिक सिर्जनाका साथै प्राचीन गीत, सङ्गीत र नृत्य, नाटकलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । थारू समुदायमा प्राचीन लोकभाका र लोकगीत हुर्डुङ्गवा, झुम्रा, सखिया, सज्ना, मैना, माङ्गर, धमरा, धुम्रु, मघौटा, छोक्रा, महोत्या, विरहैन, चाँचैर, बाह्रमासा, तीनमासा, दिन नचवा, अध्यरत्या छन् ।

लोकबाजा मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यस्तै थारू समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु, अन्डीको भात, चिच्चर, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार अधिवेशनमा उपलब्ध गराइने उनले बताए ।

राष्ट्रिय थारू कलाकार मञ्चको नेपालका २६ जिल्लामा सङ्गठन रहेको महासचिव रोशन रत्गैंयाले जानकारी दिए । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले बताए । नेपालमा सात सय ७० थारू समुदायका कलाकार रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?