+
+
बिदा कुमार दाइ :

म अलेक्जेन्डरको घोडा हुँ

कृष्ण धरावासी कृष्ण धरावासी
२०८० माघ २७ गते २०:०५

मैले पहिलोपल्ट राष्ट्रिय पञ्चायतको चुनाव जितेर सदनमा पुगेपछि आफ्नो बोल्ने पालमा रोस्ट्रममा उभिएर भनेको थिएँ— अलेक्जेन्डरको घोडा (बुकोफालेस) हुँ, मलाई तेज दौडाउन सक्ने अलेक्जेन्डरको खोजीमा छु।वास्तवमा मैले मेरो राजनीतिक जीवनभरि नै मलाई हाँक्न सक्ने कुनै नेता भेटिनँ नै बारम्बार राजनीतिक क्याम्पहरू फेरिरहनु पर्‍यो। जे भए पनि पछिल्लो कालमा देशलाई इतिहासको सुनौलो पाना उपहार दिइसकेपछि मैले सोचे– ‘सबैको आफ्नो सगरमाथा हुन्छ। अब मलाई पुग्यो। यही नै हो मेरो सगरमाथा। मैले मेरो सगरमाथा टेके अब मैले सकुशल आफ्नो नाम्चेबजार ओर्लिनुपर्छ।

तीन सय पृष्ठ मोटो आफ्नो आत्मजीवनी पुस्तकको अन्त्यमा केशवकुमार बुढाथोकीले भनेको कुरा हो, यो। आफ्नो लामो जीवनयात्रापछि मान्छेमा आफैंप्रति सन्तुष्टि हुनसक्नु यो खास कुरा हो। जीवनलाई बुझे पनि नबुझे पनि हुनत हामीले यसलाई भोगिरहेकै हुन्छौं। भोगाइका विभिन्न चरणमा आफ्नो खासखास उपस्थितिलाई आफैंले मूल्य दिनसक्नु बँचाइको सचेत उपस्थिति हो।

यसै त वेगले बगिरहेको नदीको पानीको अनियन्त्रित स्थिति जस्तै हो जिन्दगी। यसलाई हामीले कसरी सम्हालिरहेका छौं वा यसको वेगलाई कहाँ–कहाँ रोक्न खोजिरहेका छौं र सकेका छैनौं ! हरेक मानिसको जिन्दगी उसको आफ्नै हो कि त्यो अरू कसैको पनि हो ? हामीले आफूलाई कहाँनेर राखेर सीमावद्ध गरिरहेका हुन्छौं !

उमेरको हिसाब गर्ने हो भने म कुमार दाइ भन्दा सोह्र वर्ष कान्छो थिएँ तर, साथसंगतको हिसाबले समकालीन सरह। कक्षा एकको विद्यार्थी थिएँ म २०२५ सालमा। पहिलोपल्ट मैले उहाँलाई नेता भनेरै चिनें। अर्थात् झापामा भएको पहिलो र ठूलो विद्यार्थी आन्दोलन थियो त्यो, जसको नेतृत्व उहाँले गरेको थियो।

त्यसबेला गौरादहमा नरबहादुर डिट्ठा प्रधानपञ्च थिए। त्यहाँ, स्कुलको जमिन र नम्बरी जमिनलाई लिएर ठूलो विवाद परेको रहेछ। त्यो विवादमा प्रधानपञ्चले नै विद्यार्थी उचालेर विरोध गराएछन्। पञ्चायतकालको बेला- नाराजुलुस, भेला आदिमा प्रतिबन्ध छँदैथियो। विरोधमा निस्किएका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेछन्।

तात्कालीन एसपी शैलेन्द्रसिंहको आदेशमा लाठीचार्ज भई विद्यार्थीहरू सख्त घाइते भए भन्ने खबर सबैतिर फैलियो। त्यो सुन्नासाथ अरू विद्यालयहरूमा पनि विद्यार्थीहरू जुर्मुराउने नै भए। एक वर्ष अघि शिक्षक कुटेको आरोपमा नौ महिना जेल बसेर रेस्टिकेट फिर्ता नभएपछि कलेज पढ्न नपाई घर आएर बसेका केशवकुमार बुढाथोकी विद्यार्थीमाथि भएको ज्यादतीको विरोधमा निस्किहाले। गौरादहबाट सुरू भएको आन्दोलन माई तरेर शनिश्चरे, अनारमनी, भद्रपुर, घैलाडुब्बा सबैतिर छिरलियो। जति नियन्त्रण गर्न खोज्यो उति उग्र रूप लिन थाल्यो। दिनदिनै नाराजुलुस हुन थाल्यो। पारि नक्सल र सिलिगुडीमा बसेका काङ्ग्रेसहरू पनि आन्दोलनलाई चर्काउन सक्रिय हुनथाले।

त्यसबेला मैले चिनेका शनिश्चरेको आन्दोलनमा सक्रिय हुनेहरूमा स्कुलका विद्यार्थी नारद कोइराला, भैरव थापा, धनबहादुर काफ्ले, इन्द्र कार्कीहरू थिए। गौरादहपछिको दोस्रो केन्द्र भएछ शनिश्चरे। यथार्थमा माग के हो त्यो कसैलाई थाहा थिएन। निहुँ थियो विद्यार्थीमाथि लाठीचार्ज किन गरियो ? आन्दोलन शनिश्चरेबाट सरेर भद्रपुर पुग्यो। त्यहाँ पनि लाठीचार्ज भयो। त्यो लाठीचार्जमा पदमबहादुर गिरीकी छोरी राधा गिरीको अगाडिको दाँत फुटेछ। छोरीमाथि लाठीचार्ज भएर दाँतै फुटेर झरिसकेपछि पदमबहादुर गिरीहरूको नेतृत्वमा नरनाथ पराजुली, गोपालचन्द्र राजवंशी आदि पञ्च अभिभावकहरू पनि निस्केछन् सडकमा।

त्यसबेला शनिश्चरेमा एक हप्तासम्म बजार बन्द भएको थियो। सबैभन्दा लामो पहिलो बन्द देखेको मैले त्यही थियो। त्यो बन्दको असर मेरी आमाको सुर्ती दोकानलाई परेकोले पनि मैले यसलाई नबिर्सिने गरी सम्झेको हुनुपर्छ। अनि म पनि ती विद्यार्थीको जुलुसमा अघिअघि ‘एसपी शैलिन्द्रे’ भनेपछि ‘मुर्दावाद’ भन्नु भनेकाले त्यसै भन्दै हात ठाडो पार्दै कुद्थें।

पछि केके भएर कुरा मिल्यो मलाई थाहा भएन तर त्यसैबेला सुनेको थिएँ- ‘कुमारबाबुलाई पुलिसले समातेर थुने अरे!’

बुबाले आमासँग कुरा गरेको सुन्थें- ‘कुमार बाबु त राजाका छोरासँग पढेका। राजाका साथी पो त! धेरै दिन किन थुन्थे र!’ नभन्दै केही दिनमै उहाँलाई हामीले शनिश्चरेमै देख्यौं। अरूले त उहाँलाई कसरी चिन्थे, म चाहिं हिन्दी फिल्मको हिरो जस्तो- राम्रो पनि, वीर पनि भनेर बुझ्थें। कुमार बाबुलाई कसैले पनि जित्न सक्दैनन् भन्ने लाग्थ्यो। बाल्यकालमा मेरो मस्तिष्कमा परेको पहिलो धिरोदात्त नायकको विम्ब भनेकै केशवकुमार बुढाथोकी हुनुहुन्थ्यो।

कालान्तरमा म कसरी उहाँको नजरमा पर्दै गएँ थाहै भएन। मलाई झिनो सम्झना छ- स्कुलमा बेलाबेला हुने हाजिरीजवाफ, कवि गोष्ठीहरूमा प्रधानपञ्चको रूपमा प्रमुख अतिथि भएका उहाँले मेरा कविता र उत्तरहरू सुनेर- ‘यो केटो टाठो छ’ भनेको सुन्थें। उहाँले मलाई नचिने पनि म त चिन्थें र फुरुक्क हुन्थें। पछिल्लोपल्ट २०३३ पुसमा मेची क्याम्पसमा राष्ट्रवादी विद्यार्थी मण्डलले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा मैले मञ्चबाट तात्तिई–तात्तिई बोलिरहेका बेला श्रोताका रूपमा तल बसेकाहरूको बीचबाट- ‘यो हाम्रो सनश्चरेको विद्यार्थी हो बनेर चिनाइरहनुभएको थाहा पाएको थिएँ।

उहाँले मलाई चिनेको छैन भन्ने लाग्थ्यो तर उहाँलाई त म कसको छोरो हुँ भन्ने सबै थाहा रहेछ। मेरा बारेमा सबै कुरा पहिलेदेखि नै थाहा पाएकैले रहेछ मैले एसएलसी पास गरेपछि कलेज पढ्न इलाम पठाएको। (यसबारेमा मैले विस्तृत रूपमा आधाबाटो पुस्तकमा लेखिसकेको छु।)

****

२०२५ सालको विद्यार्थी आन्दोलनपछि एकाएक जिल्लाभरि नै उहाँको नाम नसुन्ने र नचिन्ने कोही भएनन्। २०२९ सालतिर पञ्चायतको वर्गीय संगठन अन्तर्गतको युवक संगठनको सदस्य बनेर जिल्ला सभापतिमा चुनाव लडी विजयी हुनुभयो। यो पद निकै महत्वपूर्ण हुन्थ्यो। यस पदमा बसेर कैयौं निर्णायक कुराहरूमा आफ्ना मत र सुझावहरू दिन सकिन्थ्यो। ती कुरा उहाँको पुस्तकमा विस्तृत रूपमा पढ्न सकिन्छ। २०३२ सालमा उहाँलाई शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्चमा गाउँ फर्कले मनोनयन गर्‍यो। पद र जिम्मेदारीको हिसाबले अब उहाँ खाँटी पञ्च हुनुभयो।

आफ्नो प्रधानपञ्चीय करिब तीनवर्षे कालमा उहाँले शनिश्चरेमा ल्याएको विकासको लहरको आजसम्म चर्चा हुन्छ। गाउँ पञ्चायतभित्रका पुलपुलेसा, बाटापैनी, स्कुल, मन्दिर, बजार आदिको सुधार, निर्माण र विस्तारमा गरेको कामको झापा जिल्लाभरि नै यस्तो प्रचार भयो कि त्यसबेला छापिने सीमित पत्रपत्रिकाहरूको समाचारको केन्द्र नै शनिश्चरे र केशवकुमार बुढाथोकी हुनपुग्यो।

त्यसबेलासम्म वीरेन्द्र राजा भइसकेका थिए। उहाँका जेठा भिनाजु दरबारका सैनिक सचिवसमेत रहेको भन्ने सर्वसाधारणले थाहा पाइसकेपछि त झन् यता गाउँको हिरो, उता राजाको साथी भन्ने कुराले ठूलो अर्थ राख्ने नै भयो। उहाँ प्रधानपञ्च मात्र भए पनि जिल्लाका प्रहरी, सिडिओ, अञ्चलाधीश समेत डराउँथे।

सधैं विकासको यात्रामा हेलिन चाहने उहाँको रहरले महत्वपूर्ण जिम्मेवारीमा जाने प्रयत्न गरिरहँदा कहिले कता, कहिले कता पुगेको देखिए पनि उहाँभित्र रहेको प्रजातन्त्रप्रतिको निष्ठा कुनै बेला पनि धर्मराएको देखिंदैन तर जबजब प्रजातन्त्रको प्रश्न आउँथ्यो उहाँलाई जनताकै माझमा भेटिन्थ्यो मुड्की उज्याउँदै गरेको।

गाउँ फर्कले सहवरण गरेर प्रधानपञ्च बनाएको भए पनि जब राजाले २०३६ सालमा जनमत संग्रहको गोषणा गरे, उहाँले प्रधानपञ्चबाट राजिनामा दिएर बहुदलको पक्षमा उभिनुभयो र प्रजातान्त्रिक समाजवादी चिन्तक सिके प्रसाईको अगुवाइमा वर्षभरि नै युवाहरूको सशक्त नेतृत्व गरी जिल्लभरि निष्कण्टक प्रचार अभियान सफल पार्नुभयो। तर जब बहुदलले हार्‍यो फेरि देशमा अर्को राजनीतिक अन्योलको वातावरणको सिर्जना भयो।

संशोधित संविधान अनुसार सुधारिएको पञ्चायती व्यवस्थाभित्र निर्वाचनमा भाग लिने कि नलिने भनेर नेपाली काङ्ग्रेसले देशभरि विभिन्न ठाउँमा आमसभा गर्न लागेको थियो। एक किसिमले नेपाली काङ्ग्रेसभित्र राजाले केही शर्तहरू मानेमा चुनावमा भाग लिने मानसिकता भित्रभित्रै विकसित हुँदै गरेको स्थिति थियो। यो कुरा बीपी कोइरालाको फेरि सुन्दरीजल पुस्तकमा स्पष्ट रूपमा पढ्न सकिन्छ। पहिलो आमसभा बिर्तामोडमा भएको केही दिन भित्रै तात्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले स्थानीय निर्वाचनको मिति तोकेपछि काङ्ग्रेस चुनावबाट पछि हट्यो।

तर धेरै कार्यकर्तामा भित्रभित्रै चुनावमा भाग लिने मानसिकता विकसित भइसकेको थियो। यस्तै अवस्थामा कुमार दाइले शनिश्चरेको प्रधानपञ्चमा उम्मेद्वारी दिनुभयो र ८४ प्रतिशत बढी मत ल्याएर प्रधानपञ्चमा फेरि जित्नुभयो।

यसैगरी चुनावमा भाग लिने सन्दर्भमा वामपन्थीहरूका तर्फबाट ठाउँठाउँमा जनपक्षीय उम्मेद्वारका रूपमा विभिन्न पदमा उम्मेद्वारहरू उठाइएका थिए र विजयी भएका थिए। स्थानीय निर्वाचनपछि जिल्ला पञ्चायत सभापतिको चुनाव हुनेभयो। त्यसमा फेरि कुमार दाइ निकै मतले विजयी हुनुभयो। हेर्दाहेर्दै उहाँको राजनीतिक यात्राले राजमार्गमा प्रवेश गरिसकेको थियो।

जिल्ला सभापति भइसकेपछि आफू प्रधानपञ्च हुँदा शनिश्चरेमा गरेकै विकासको मोडललाई जिल्लाभरि लागू गर्नुभयो। त्यसले आश्चर्यजनक परिणाम दियो। जताततै केशवकुमार बुढाथोकीको हाईहाई हुन थाल्यो। देशभरिका जिल्ला सभापतिहरूको भीडमा उहाँ आफ्नो शरीरको उचाइ जस्तै छर्लङ्ग देखिन थाल्नुभयो।

जिल्ला सभापति हुँदा गरेका विकासका कामहरूकै लोकप्रियताले उहाँलाई २०४३ सालको आम निर्वाचनमा रापंसमा विजयी गरायो। शनिश्चरे गाउँ पञ्चायतको प्रधानपञ्च भएको दश वर्षमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्य भइसक्नुभएको थियो। त्यसपछि लगत्तै सुकुम्वासी आयोगको अध्यक्ष र जलस्रोत सहायक मन्त्री बन्नुभयो। देखिंदा पञ्चायती मूलप्रवाहमा हेलिएको देखिए पनि उहाँले यथार्थमा प्रजातन्त्रवादी जनमतकै प्रतिनिधित्व गरिरहनुभएको थियो।

२०४६ सालको जनआन्दोलनमा सरकारले गरेको जनदमनका विरोधमा उभिएपछि तात्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले मन्त्री पदबाट निष्कासन गरे। त्यसपछि उहाँले झापामा आएर एक विशाल आमसभाको आयोजन गर्नुभयो। तर त्यो दिन उहाँले आफ्नो राजनीतिक कित्ता स्पष्ट गर्न सक्नुभएन। जसको परिणाम उहाँको लोकप्रियता ह्वात्तै घट्यो।

उहाँले त्यो आमसभामा आफूलाई किन प्रष्ट पार्न सक्नुभएन भनेर मैले सोधेको एक प्रश्नमा भन्नुभएको छ- ‘मेरो सबैभन्दा लो कमजोरी के रहेछ भने मसँग सल्लाहकारको कुनै टिम थिएन। त्यसबारेमा मैले कहिल्यै सोचिनछु। मलाई आफैमाथि अत्यधिक विश्वास भएछ। मेरो अहम् घमन्डले पनि काम गरेको होला। जे निर्णय गर्नुपर्छ सबै आफैले गर्दा सबैपल्ट ठिक निर्णय हुन्छ भन्ने पनि कहाँ हुन्छ !

मसँग भएका साथीहरूका पनि सल्लाह नलिने बरू आफूले निर्णय गरिसकेपछि त्यही अनुसार चल्ने निर्देशन दिने गर्थे लामो राजनीति गर्ने मान्छेसँग भरपर्दा सल्लाहकारहरू पनि हुनुपर्ने हो। सल्लाहकारहरूको व्यवस्थापन गर्न नसकेकैले मैले पटकपटक राजनीतिक गल्तीहरू गरिरहे एउटा कुरामा चाहि फेरि केबाट जोगिएँ जस्तो लाग्छ भने सल्लाहकार नभएकैले मैले कुनै पनि पदमा बसेका बेला आर्थिक हिनामिनामा चाहि फँस्नुपरेन। मलाई यति लामो राजनीतिक यात्रामा कुनै पनि आर्थिक आरोप लागेको छैन। यो मेरो जीवनको सबैभन्दा लो उपलब्धि हो भन्ने लाग्छ। मैले कसैका अघि आजसम्म त्यसका कारणले शिर झुकाउनुपरेको पनि छैन।

आत्मसन्तुष्टिका अनेकौं आधार हुन्छन्। उहाँले माथि उल्लेख गरेको आधार ठिक हो तर, त्यतिले मात्र मानिस सन्तुष्ट हुनसक्यो होला भन्न सकिन्न। किनकि २०४६ सालको परिवर्तनपछि उहाँले समात्न नसकेको राजनीतिको मूलधारले उहाँलाई बगाएर धेरै पर पुर्‍यायो, जहाँबाट फर्किएर सही ठाउँमा आइपुग्नै बीस वर्ष लाग्यो।

२०४६ सालपछि सरक्क काङ्ग्रेसमै बसेर काम गर्न थालेको भए केही कालमै उहाँ संसद्मा भेटिनसक्नु हुनेथियो तर पुराना पञ्चहरूलाई संगठित गर्ने लहरमा बग्दाबग्दै पानी निकै नै बगिसकेको थियो। आखिरी राप्रपाको टिकटबाट सिके प्रसाईसँग चुनाव लडेको केही वर्षमै उहाँलाई काङ्ग्रेसमा त देखियो तर नङ र सिङ खुस्किएको अवस्थामा। तैपनि २०५१ सालको निर्वाचनमा केपी ओलीको प्रतिस्पर्धीका रूपमा निर्वाचन क्षेत्र न. ६ मा नेपाली काङ्ग्रेसबाट टिकट पाउनसक्नुभयो। चुनाव हारे पनि पार्टीभित्र उहाँ स्थापित हुनुभयो।

हार्न नजान्ने र ढले पनि उठ्न सक्ने कुनै फिल्मको नायक जस्तो व्यक्तित्व बोक्नुभएका कुमार दाइ अन्ततः २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट झापा क्षेत्र नं. ५ बाट विजयी हुनुभयो। त्यसपछिको दोस्रो संविधानसभाको चुनावमा पनि पहिलेकै निर्वाचन क्षेत्रबाट पुनः विजयी भई सामान्य प्रशासन मन्त्रीसम्म हुन पुग्नुभयो।

मन्त्री पदबाट निवृत्त हुँदाहुँदै प्रोस्टेट क्यान्सरको बिरामी भइसक्नुभएको रहेछ। तर रोगलाई दिमागमा बोकेर उहाँ कहिल्यै कतै उभिनुभएको देखिएन। हरेक समारोहमा, मिटिङमा, यात्रामा, बहस र विवादमा सधैं अग्रपङ्तिमा देखिनुहुन्थ्यो। कहिलेकाहीं जोसिएको बेला भन्नुहुन्थ्यो- ‘म बाघ हुँ, बाघ भएर बाँच्छु, बाघै भएर मर्छु।’ वास्तवमा उहाँ जति बाँच्नुभो बाघ भएरै बाँच्नुभो भन्ने मलाई लाग्छ।

पुस्तकको अन्त्यमा भन्नुभएको छ— ‘आज आएर सोच्छु– राजनीतिमा नआएको भए के हुँदो हुँ ! मेरो रुचि गायनमा थियो तर त्यो पेशा हुनसक्ने थिएन। मलाई लाग्छ पाइलट हुनेथिएँ। हुनसक्छ बेलायततिर गएर उतै भासिन सक्थे राजनीति मैले कल्पना गरेको क्षेत्र छँदै थिएन। नर्थपोइन्टको शिक्षा पाएको मान्छे। त्यहाँको सोचा नै फरक थियो। अलिक झोक्की भए पनि राजकुमारहरूको रुममेट थिएँ। उनीहरूबाट मैले निष्ठा संयम पनि सिकेकै थिएँ।

कुनैदिन सामान्य ठानेर गरेका गल्तीहरूले मानिसको जीवनको दिशै बदलिदिदो रहेछन्। मैले शिक्षकलाई हानेको एक मुड्कीले मेरो त्यसदेखि अघिको शिक्षाकै ढोका सदाका लागि बन्द गरिदियो बाध्य भएर झापा पुगे के हुनुपर्ने मान्छे भरे गएर शनिश्चरेको प्रधानपञ्च हुनपुगे

मेरो यति लामो जीवनको अनुभवले भन्छु, हामी कसैले पनि संयम चातुर्यलाई कहिल्यै गुमाउनुहुँदैन। हाम्रा हरेक शब्द क्रियाकलापको जीवनभरि अर्थ लागिरहनेरहेछ। जीवनसँग जोडिन आएका एकएक घटनाहरूले मानिसको यात्राको मोडहरू नै बदलिदिने रहेछ।

८० वर्षको उमेरसम्म आइपुग्दा पनि उहाँसँग कुनै व्यक्तिगत गुनासा थिएनन्। उहाँले कसैसँग केही माग्नुभएन। जति आए माग्न आए। सकेको दिनुभो, लिएर गए। सुन्दा अचम्म लाग्ला मैले उहाँका आँखामा धेरै पल्ट आँसु देखेको छु। कसैका दुःखका कुराले चाँडै पग्लिहाल्ने स्वभाव भएकैले उहाँले आफ्नो जीवन सधैं अरूको सेवामा समर्पित गर्नुभयो।

कुमार दाइको बारेमा शिर ठाडो पारेर किन कुरा गर्न मन लाग्छ भने सारा जीवन सक्रिय राजनीतिमा बिताएर पनि कुनै किसिमका आरोपहरू सुन्नुपरेन। अब त उहाँ नै हुनुहुन्न झन् सुन्नुपर्दैन। झापाली जनताले तपाईंको विकासवादी राजनीतिलाई सदाकाल सम्झिरहनेछन् कुमार दाइ ! हार्दिक श्रद्धाञ्जली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?