+
+

एआई प्रविधिमा आधारित म्युजिक भिडियो ‘तिमी जे बन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १२:४०

काठमाडौ । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । सरस्वती पूजाको छेकोमा सार्वजनिक गरिएको गीतमा प्रमोद खरेल र त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको संगीत छ ।

गीतको भिडियोको सम्पूर्ण काम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा निर्माण गरिएको छ । भिडियो नेपाल र अमेरिकाबाट एकै साथ रिलिज गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सम्भवतः पहिलोपटक निर्देशक नव ढुंगेलको कल्पनामा एआई एनिमेसनको प्रयोग गरेर यो गीतको भिडियो निर्माण गरिएको हो ।

गीतले विद्यार्थीलाई राम्रा बानी व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । गीतकार खड्काले गायनमा गीतको समग्र भाव अनुसारकै गायकगायिका रोजिएको बताए । ‘गीतमा प्रमोद र त्रिशालाको संयुक्त स्वरले बाबुआमा मिलेर आफ्नो सन्तानलाई सुमार्गमा लाग्न प्रेरणा दिएको अनुभूती गराउन खोजिएको छ’, उनले भने ।

अमेरिकी गायक तथा संगीतकार जोन माएर र भारतीय कम्पोजर एआर रहमानको संगीतबाट प्रभावित संगीतकार सिंहले गीतमा फरक किसिमको संगीत दिएको बताएका छन् । उनले फिल्महरु प्रेम गीत २, भिसा गर्ल, मुखौटा, हँसियामा पनि संगीत दिएका छन् ।

गीतमा दिक्षित पौडेलको एरेन्ज, दिनेश श्रेष्ठको रेकर्ड छ । भिडियोमा राजु बस्नेतको सम्पादन छ । उनलाई इमेज जेनेरेटमा सदिक्षा कट्टेलले साथ दिएकी छन् । गीतको कभरपेज डिजाइन ग्राफिक डिजाइनर तथा भिडियो निर्देशक अनिल स्थापितले तयार पारेका हुन् । गीतकार खड्काले आफ्नै यूटुब च्यानल ‘सङ्गराइटरमनोज’बाट गीत बजारमा ल्याएका हुन् ।

गीतलाई शुभकामना दिँदै साहित्यकार कृष्ण धरावासीले कुची र कल्पनाले सुन्दर चित्र बनेजस्तै यो गीत शव्द, संगीत र स्वरको संगमले उत्कृष्ट बनेको बताए । अमेरिकास्थित नेपाली दूताबासका डेपुटी चिफ अफ मिसन कुमारराज खरेल गीतले संसारका जुनसुकै कुनामा बस्ने नेपालीभाषी अभिभावकहरुले आफ्ना सन्तानलाई नेपाली सांस्कृतिक विरासतमा हुर्कन र आदर्श व्यक्ति बन्न प्रेरित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?