+
+

चितवनको बाँदरझुला अझै अँध्यारो, कुलमानले गरे बिजुली ल्याउने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १२:५५

२९ माघ, काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) अझै पनि राष्ट्रिय प्रसारणलाइन विद्युतबाट अलग अर्थात अन्धकारमा छ । चितवनको विकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो ।

नेपाल विद्युत् प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेन्डर आह्वान गरेको थियो ।

तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन गरी अतिक्रमणले बढावा मिल्ने गरी योजना सञ्चालन नगर्न पत्राचार गरेपछि विद्युतीकरणका लागि गरिएको टेन्डर प्रक्रिया रोकिएको प्राधिकरणले जनाएको छ ।

निकुञ्जले बाँदरझुला क्षेत्रमा कुनै योजना सञ्चालन नगर्न र विनाअनुमति गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ बमोजिम कारबाही हुने जानकारी गराएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र दाबी गरेको बाँदरझुलामा करिब ८ सय घरपरिवारका ३ हजार पाँच सयजनाभन्दा बढी जनसङ्खा बस्छन् । निकुञ्चले भने आफ्नो क्षेत्र अतिक्रमण गरेर बस्ती बसेकाले उक्त बस्तीलाई अन्यत्रै स्थानान्तरण गर्नु पर्ने बताउँदै आएको छ । उक्त क्षेत्रमा २०४७ साल कात्तिकदेखि बसेकाले वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गामा स्थानीयले आफ्नो दाबी गर्दै आएका छन् ।

राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुग्न नसकेपछि केहीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका छन् । उक्त क्षेत्रभन्दा करिब २ किलोमिटर दुरीमा पर्ने पर्साको ठोरीसम्म विद्युत् पुगिसकेको छ ।

विद्युतीकरणको समस्या देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हेटौंडा प्रदेश डिभिजन कार्यालयका प्रमुख, चनौली वितरण केन्द्र प्रमुखलगायत सम्मिलित टोलीले आइतबार बाँदरझुला क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीयहरुसँग अन्तक्रिया गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँदरझुला क्षेत्रमा विद्युत् पुर्‍याउन बजेट विनियोजन गरी काम गर्न टेन्डर आह्वान गरी प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा निकुञ्जको कानुनी व्यवस्था र प्रक्रियाका कारण विद्युतीकरण गर्न नसकिएको बताए ।

बाँदरझुलाको बस्ती स्थानान्तरण गरिएमा विद्युतका संरचना पनि हट्ने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घर/बस्ती भएको क्षेत्रमा विद्यु्त् पुर्‍याउनु प्राधिकरणको दायित्व भएकाले यसका लागि बजेट सुनिश्चित गरी प्रारिम्भिक काम भइसकेको बताए ।

विदेशी शरणार्थीलाई समेत राज्यले न्यूनतम सुविधा दिनुपर्ने अवस्थामा आफ्नै देशका नागरिकलाई विद्युतजस्तो आधारभूत सुविधाबाट बञ्चित गर्न नमिल्ने उनको भनाइ छ । बस्ती स्थानान्तरण गर्ने नगर्ने/राज्यको विषय भएको उनले बताए ।

आगामी दिनमा बस्ती स्थानान्तरण गरिएमा विद्युतका संरचना सार्न सकिने भन्दै उनले बाँदरझुलामा चाँडो विद्युत् पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण जितपुर सिमरा उपमहानगरपालिका–१६स्थित टाँगियाबस्तीका बासिन्दा पनि वर्षौंदेखि अँध्यारोमा बसिरहेको अवस्थामा पछि बस्ती हटाएमा विद्युतका संरचना पनि सोहीअनुसार हुने गरी विद्युतीकरण गरिएको जानकारी दिए ।

माडी नगरपालिका–९ का वडाध्यक्ष घनश्याम दुवाडीले निकुञ्जले सहज रुपमा काम गर्न नदिंदा नदिंदै पनि व्यावहारिक रुपमा संघ, प्रदेश र स्थानीय तहबाट बाँदरझुला क्षेत्रको विकासमा लगानी भइरहेकाले विद्युतीकरण तत्काल अगाडि बढाउन आग्रह गरे ।

स्थानीय बासिन्दा दिलीप विकले भारतसँग सीमा जोडिएको बाँदरझुलावासीले विनावर्दीका सिपाइको रुपमा सीमा रक्षकको रुपमा काम गरिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र घोषणा हुनुभन्दा पहिलेको बस्तीलाई स्थानान्तरणका नाममा विद्युत् सुविधाबाट वञ्चित गराइएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?