+
+

प्रचण्डको निष्कर्ष : अब यसरी चल्दैन माओवादी

दिपेश शाही दिपेश शाही
२०८० माघ २९ गते २२:२३

२९ माघ, काठमाडौं । दुई दिनसम्म सबै प्रदेश र आयोगका इन्चार्ज तथा अध्यक्षको रिपोर्टिङ सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार केन्द्रीय समिति बैठकमा निष्कर्ष सुनाएका छन्, ‘हामीले आफ्नो वर्ग र धरातल छाड्यौं, अब फर्किर्नुपर्छ ।’

भोलि १ फागुनमा सुरु हुने पहिलो विधान सम्मेलनको पूर्वसन्ध्यामा माओवादीले चार महिना रुपान्तरण अभियानको केन्द्रीय समिति बैठकमा यसको समीक्षा गरेको थियो ।

बैठक समापनका क्रममा सोमबार करिब आधा घण्टा सम्बोधन गरेका प्रचण्डले भने, ‘हामी विस्तारै आफ्नो वर्गबाट टाढाटाढा र अर्काको वर्ग वा दुश्मन वर्गसँग नजिक-नजिक हुन गएकै हो । थाहै नपाइकन गइयो क्या !’

‘गइएको छैन होला भन्यो, अहिले परिस्थिति त्यस्तै छ भन्यो, भन्दाभन्दै आफ्नो वर्ग छुट्दै जाने, अर्काको वर्ग आफूभित्र खेल्ने, फुटाउने, लोभ्याउने र षड्यन्त्र गर्ने मौका दिने हुँदोरहेछ’, प्रचण्डले करिव ७०० केन्द्रीय सदस्यलाई आफ्नो निष्कर्ष सुनाए, ‘यसपटक आफ्नो वर्गतिर फर्किने संकल्प गर्नुपर्छ ।’

माओवादी नेताहरुका अनुसार पार्टी अध्यक्षले प्रचण्डले यस्तो भनेको पहिलो पटक होइन । अघिल्लो वर्ष पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले ‘माओवादी पार्टीजस्तै नरहेको भन्दै ‘विघटन गर्दा पनि फरक नपर्ने’ अवस्था आएको बताएका थिए ।

त्यतिबेला यस्तो अभिव्यक्ति दिनुका पछाडि ‘कार्यविभाजन नभएकाले संगठनमा काम गर्न पाइएन र नेतृत्व सत्ता केन्द्रित भयो’ भनेर केन्द्रीय समितिमा नेताहरूबाट आफूमाथि भएको आलोचना मुख्य कारण थियो ।

त्यसपछि प्रचण्डले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको घोषणा गरेर नेता कार्यकर्तालाई जिम्मेवारी दिए । अभियानका क्रममा खटिएका पदाधिकारी तहका नेताहरूले आफूले गरेका प्रयत्नसँगै पार्टीभित्र देखिएको चुनौतीकाका चाङ केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गरेका छन् ।

आफ्नै कामको प्रगति विवरण पेस गरेका उनीहरुले प्रचण्डको आलोचना त गरेनन्, तर शान्ति प्रक्रियापछि आम नागरिकबाट टाढिँदै गएको पार्टीको यथार्थ सुनाएका छन् ।

रिपोर्टिङमा असन्तुष्टिका चाङ

माओवादी नेता कार्यकर्ताबारे जनतामा कस्तो बुझाइ छ भन्ने उदाहरण कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका पार्टी उपमहासचिव मातृका यादवले पेस गरे । ‘हुम्लाका जनताले मलाई भेटेर ‘पहिला जाँडको भाँडो फुटाउने तपाईंका कार्यकर्ता, अहिले आफैं खाएर बाटोमा लडेका भेटिन्छन्’ भनेको उनले सुनाए ।

उनका अनुसार पार्टीको संगठन सबभन्दा राम्रो त्यही कर्णालीमा छ । तर त्यहीँ समस्या रहेको भन्दै उनले ‘पार्टीको कार्यकर्ता पंक्तिमा धम्की र घुर्की देखाउने चलन देखिन्छ भने नेताहरूमा जाँड, रक्सी र जुवामा रमाउने संस्कार देखिन्छ ।’ कर्णालीमा पार्टी क्रान्तिको साधन हुन नसकेको, बरु नेता र कार्यकर्ता व्यवस्थापन गर्ने साधन जस्तो भएको रिपोर्टिङ यादवले गरेका छन् ।

अर्का उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले मतदाताले पार्टी र नेताबारे सुनाएका गुनासा बैठकमा राखे । ‘हाम्रो पार्टी फरक छ त भन्छौं, तर अन्य पार्टीभन्दा फरक नारा नभएको गुनासो जनतामा छ’ उनले भने, ‘नेता–कार्यकर्ताले ठूला व्यापारीसँग उठबस गरेको, सरकारका काम अझ प्रभावकारी नभएको, जबसहरुले जनताका मुद्दा नउठाएको र नेताहरूको जीवनशैली बदलिएको प्रतिक्रिया जनताबाट आएको छ ।’

अभियानका क्रममा खट्ने, खटेजस्तो गर्ने, अलिकति खट्ने र नखट्ने गरी चारथरी नेता कार्यकर्ता रहेको सुनाए ।

उनले काठमाडौं उपत्यकामा पार्टी कमजोर हुनु र जनमत भड्किनुमा प्रचण्डको भूमिका रहेको समेत बताएका छन् । ‘लोडसेडिङ हटाउने कुराको स्वामित्व अध्यक्षले नै लिनुभएन । उहाँले काठमाडौं १० बाट चुनाव हारेपछि समस्या बढ्यो’, उनले भने, ‘पशुपतिको पुजारीमाथि हस्तक्षेप गरेपछि र तल्लो तहका समस्या नउठाएपछि यहाँ हाम्रो पार्टी संगठन कमजोर भएको देखिन्छ ।’

अर्का उपमहासचिव तथा विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले पनि शर्माको जस्तै आफ्नो रिपोर्टिङ रहेको बताए । उनले पार्टीभित्र काम देखाएर हिँड्ने, कोही अभियान सकिएपछि हराउने र गर्नै पर्ने काम पनि नगर्ने समस्या रहेको बताए ।

पार्टी सचिव तथा गन्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले केन्द्रको समस्या तलसम्मै रहेको बताए । ‘पार्टीभित्र कुरा गर्ने, तर काम नगर्ने बानी परेको रहेछ । यो अभियानले काम गर्ने बनायो’, पौडेलले भने, ‘पार्टीको निर्णय अवज्ञा गर्ने संख्या पनि छ । माथि अध्यक्षलाई देखाउने, तल गुट बनाइराख्ने समस्या छ ।’

प्रचण्डको पनि छन् असन्तुष्टि

नेताहरुका अनुसार पछिल्लो समय वर्षमा एकपटक हुने राजधानी केन्द्रित यस्ता बैठक र भेला माओवादीका नेताहरुका लागि असन्तुष्टि पोख्ने थलो त बनेको छ, तर पार्टीलाई गति दिन सकेको छैन । यसपटक पनि शुक्रबारदेखि दुई दिनसम्म स्थायी समिति, त्यसपछि दुई दिन केन्द्रीय समिति बैटक बसेको छ ।

केन्द्रीय समितिमा नेतृत्वको शैलीसँग जोडिएर आएको प्रश्नलाई प्रश्नले उतै फर्काइदिएका छन् । लिखित दस्तावेज पेश गरेनन्, ‘संश्लेषण’ भन्दै पार्टीका जनवर्गीय संगठन, गठबन्धन, समाजवादी मोर्चा, अदालत र संसदतिर असन्तुष्टि पोखे ।

सम्बोधनका क्रममा प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गरे । विद्यार्थी संगठन अखिल क्रान्तिकारी र युवा संगठन वाईसीएलले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै उनले नेतृत्वको सेट नै परिवर्तन गर्ने बताए ।

‘जवर्गीय संगठन जसरी चल्नुपर्थ्यो र अभियानमा भूमिका खेल्नु पर्थ्यो त्यस्तो हुन सकेन । त्यसमा पनि मुख्यतः वाईसीएल र विद्यार्थीको भूमिका जस्तो हुनुपर्थ्यो ती दुईवटै संगठन केही आन्तरिक कारणले र केही अन्य कारणले पनि त्यति राम्रो हुन सकेन’, उनले भने, ‘अब हामी जनवर्गीय संगठनलाई सम्मेलनतिर लैजाने, पुनर्गठन गर्ने र नेतृतवको बारेमा सोच्नुपर्ने भएको छ ।’

उनले केही पदाधिकारीसँग आफूले छलफल गरिसकेको जानकारी दिँदै आवश्यक परे पूरै नेतृत्व बदल्ने बताए । ‘जहिले पनि झगडा, जहिले पनि झगडा गर्नुभन्दा नयाँलाई नेतृत्व दिएर जागरण ल्याउने काम गर्नुपर्छ’, उनले भने ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता गठबन्धनमा दलहरूसँग भनेजस्तो सहकार्य हुन नसकेको ब्रिफिङ गरे । सत्तारुढ दल कांग्रेसबाट कोशी प्रदेशमा धोका भएको भन्दै सहकार्य लाभदायक नरहेको निष्कर्ष उनले बैठकमा सुनाए । ‘पहिला हामीले सभामूख छाड्यौं, पछि मुख्यमन्त्री पनि छाड्नुपर्‍यो । अहिले हामीलाई राष्ट्रिय सभामा पनि हराइयो’, बैठकमा प्रचण्डले भने, ‘यसले हामीलाई कांग्रेससँगको सहकार्य लाभदायक छैन भन्नेतिर पुग्नपर्ने देखियो ।’

यसको अर्थ अहिले नै कांग्रेससँग गठबन्धन तोड्ने नभएको बताएका उनले अघि भनेका छन्, ‘विगतमा हामीले दायाँबाट पनि धोका खाएका छौँ, बायाँबाट पनि धोका खाएका छौं । अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्नुपर्छ ।’

पार्टी एकताबारे बोलेका उनले सके सबै कम्युनिस्ट पार्टी, नसके माओवादी धारका पार्टीहरू मिल्नुपर्ने बताए । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग छलफल भइरहेको भएपनि निष्कर्षमा पुग्न नसकेको बताए । ‘एकता संयोजन समिति बनाएर जाने भन्ने भएको छ, गति लिएको छैन । संसयको स्थिति अझैं छ’, उनले भने ।

केन्द्रीय समिति बैठकमा प्रचण्डले कामअनुसार पार्टीको नाम नभएको भन्दै परिवर्तन गर्न तयार हुनुपर्ने बताए । ‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ, तर नाम होइन काम ठूलो हो’, प्रचण्डले बैठकमा भनेका छन्, ‘नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ ।’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?