+
+
विवाहेत्तर सम्बन्धको दु:खान्त :

प्रहरीमा मिलापत्र गरेको दुई महिनामै प्रमिलाको हत्या

गौरव पोखरेल गौरव पोखरेल
२०८० माघ २९ गते २२:३२

२९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–९, गौशालास्थित सिरहा धनुषा होटलको कोठा नम्बर १०८ दुई दिनसम्म बन्द थियो ।

ग्राहक फर्किएर नआएपछि होटल सञ्चालकलाई लाग्यो, ‘बाँकी पैसा नतिरी भागेछन् कि क्या हो !’ त्यसपछि होटलका कर्मचारीले ‘मास्टर की’ लिएर गएर ढोका खोले । त्यसक्रममा खाटमा पल्टिरहेको अवस्थामा महिलाको शव देखियो ।

लगत्तै प्रहरी कन्ट्रोल १०० मा खबर आयो, गौशाला प्रहरीको टोली घटनास्थलमा पुग्यो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, महिलाको शव घाँटीमा नाइलनको डोरीले कसिएको अवस्थामा थियो भने अनुहारमा पनि रगत लागेको थियो ।

कोठामा महिलाको पहिचान खुल्ने कुनै विवरण थिएन । मोबाइल फोन पनि गायब थियो । सोधपुछका क्रममा होटलका कर्मचारीहरुले ती महिला एक जना पुरुषसँग आएको बयान दिए । तर, होटलको ‘लग बुक’मा उल्लिखित विवरण मेल खाइरहेको थिएन ।

‘शवको प्रकृति र होटलमा दिएको गलत विवरणले घटना शंकास्पद देखायो’, खत्री भन्छन्, ‘त्यसपछि विभिन्न पाटोबाट अनुसन्धानलाई तीव्रता दियौं ।’

होटलको ‘लगबुक’ कोठा लिने व्यक्तिले आफ्नो नाम सञ्जीव लामा र ठेगाना सिन्धुली उल्लेख गरेका थिए । ‘त्यहाँ टिपाएको नम्बर ट्याक गर्दा त्यो नम्बर सञ्जीव लामाको थिएन, बरु संखुवासभामा कार्यरत् प्रहरीकै एक जना असईको भएको खुल्यो’, उनले भने, ‘उनीसँग सोधपुछ र अनुसन्धान गर्दा ती प्रहरी काठमाडौं आउँदै नआएको खुल्यो, लोकेसन पनि निरन्तर संखुवासभामै देखियो ।’

त्यसपछि होटलको विवरणमा फोन नम्बर समेत गलत राखेको खुल्यो । ‘सीसी टीभी क्यामराको फुटेजका आधारमा अरु खोजी गर्न थाल्यौं’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसक्रममा उनी केही दिनअघि पनि त्यही होटलमा बसेको खुल्यो, त्यसबेला पनि फरक नम्बर टिपाएको भेटियो ।’

सीसी टीभी ट्याक गर्दै जाँदा उनीहरुले अर्को एउटा होटलमा समेत पुगेको खुलेको ती अधिकृत बताउँछन् । त्यहाँ भने ती व्यक्तिले एउटा गल्ती गरे, जुन प्रहरीका लागि अनुसन्धानमा ‘ब्रेक थ्रू’ गराउने माध्यम बन्यो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, त्यो होटलमा दिएको नम्बर बोक्ने व्यक्तिलाई सम्पर्क गरेर ल्याउँदा उनी मृतकका श्रीमान् भएको खुल्यो ।

‘उनले तस्वीर हेरेर आफ्नो पत्नी रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएकी प्रमिला दमाइ भएको सनाखत गरिदिए, त्यसपछि उनले नै हत्या गरेको हुनसक्ने शंका गरेको थियौं’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘तर, अरु विषयहरुले उनीतिर संकेत गरेन, सीसी टीभीमा देखिएको हुलियाभन्दा पनि उनी फरक थिए ।’

यसपछि उनकै बयानका आधारमा श्रीमती प्रमिलाको अर्को सम्बन्धबारे जानकारी पाएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, त्यसक्रममा उनका श्रीमानले प्रमिला विगत एक वर्षदेखि एक जना केटासँग सम्बन्धमा रहेको खुलाए ।

उनको नाम भने बताउन सकेनन् । यद्यपि, उनीहरुबीच सम्बन्धका कारण दुई परिवारबीच विवाद भएको समेत तथ्य खुल्यो । त्यसक्रममा यो विषय प्रहरीसम्म समेत पुगेको भेटिएको एसएसपी खत्री बताउँछन् ।

‘इलाका प्रहरी कार्यालय, धोबीडाँडा, रामेछापले यो विषयमा ७ मंसिर २०८० मा मिलापत्र गराएको समेत फेला पर्‍यो, त्यसपछि कागज मगाएर अध्ययन गर्‍यौं’, एसएसपी खत्रीले भने, ‘त्यसक्रममा प्रमिलासँग सम्बन्धमा रहेका व्यक्ति दोलखाको बैतेश्वर गाउँपालिका–७ घर भइ हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय कुमार श्रेष्ठ भएको खुल्यो ।’

एसएसपी खत्रीका अनुसार, शंकास्पद व्यक्तिको पहिचान भएपछि उनको प्राविधिक पक्षको विश्लेषण गर्दै उनको खोजीलाई तीब्र पारिएको थियो । ‘उनको स्थायी घर भएको दोलखा, पुरानो डेरा कोठा, हालको कोठा लगायतका स्थानमा प्रहरी टोली परिचालित भयो’, खत्रीले भने, ‘त्यसक्रममा उनलाई बानेश्वरको बुद्धनगरस्थित लक्ष्मी चोकबाट नियन्त्रणमा लिन सफल भयौं ।’

त्यसक्रममा उनको साथबाट मृतक प्रमिला दमाइको मोबाइल पनि बरामद भयो भने प्रहरीले उनीहरुबीच वादविवाद हुँदा च्याटिएको टी–सर्ट समेत बरामद गरेको छ ।

रेडियोबाट जोडिएको प्रेमको दु:खान्त

एसएसपी खत्रीका अनुसार, मृतक प्रमिला उनको श्रीमानसहित रामेछापमा बस्दै आएकी थिइन् । गाउँमा उनी नियमित रेडियो सुन्ने गर्थिन् ।

२०७९ को मंसिरमा एक स्थानीय एफएफबाट प्रशारित साथी बनाउने रेडियो कार्यक्रममार्फत उनको कुमार श्रेष्ठसँग चिनजान भयो । फोनमा उनीहरुबीच नियमित कुराकानी हुन थाल्यो ।

प्रहरीका अनुसार, त्यसक्रममा दुवैलाई एकअर्का विवाहित भएको र सन्तान समेत भएको जानकारी थियो । यद्यपि, कुरा गर्दै जाँदा दुईबीच प्रेम सम्बन्ध गाँसियो । कुमार प्रमिलालाई भेट्न २०७९ को पुसमा रामेछाप समेत पुगे ।

‘श्रीमान् काठमाडौं गएको मौका छोपेर उनी प्रमिलाको माइती पक्षको काका भन्दै कुमार गाउँमा एक हप्तासम्म बसेको खुलेको छ’, एसएसपी खत्रीले भने, ‘कुमार पटकपटक उनलाई भेट्न रामेछाप जान थालेपछि उनका श्रीमान्ले शंका गर्दा दुईबीचको प्रेम सम्बन्ध बाहिर आएको थियो ।’

विवाद हुँदा च्यातिएको टि–सर्ट र अभियुक्त कुमार श्रेष्ठ ।

त्यसपछि नै दुईबीच छलफल गराएर प्रहरीले आइन्दा ‘पारिवारिक सम्बन्धमा खलल नपुर्‍याउने सहमति’को कागजमा हस्ताक्षर गराएको खत्री बताउँछन् । त्यसबेला कुमारलाई धोबीडाँडा प्रहरीले उनकी श्रीमती र प्रमिलालाई उनका श्रीमानको जिम्मा लगाएको थियो ।

२०८० को मंसिरतिर प्रमिलालालाई उनका श्रीमानले आफूसँगै काठमाडौं ल्याएका थिए । त्यसक्रममा उनीहरु भिमसेनगोलास्थित सुकुम्बासी होटलमा एक छोरासहित बस्दै आएका थिए ।

प्रमिला काठमाडौं गएको थाहा पाएपछि कुमार पनि पुसतिर काठमाडौं आएर बुद्धनगरमा जेठी छोरीसँग बस्दै आएको पाइएको प्रहरी बताउँछ ।

विवाहको विषयमा विवाद हुँदा हत्या

प्रहरीका अनुसार, काठमाडौंमा फेरि भेट भएपछि उनीहरु २०८० को पुस महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

‘लोकन्थलीस्थित डेरामा उनीहरु बस्दै आएकामा २८ पुसमा कुमार घरायसी कामले दोलखा गएपछि प्रमिला फेरि उनको श्रीमान्को डेरा कोठामै फर्किएकी थिइन्’, एसएसपी खत्रीले भने, ‘कुमार ४ माघमा दोलखाबाट फर्किएपछि उनीहरुबीच फेरि भेट भएको देखिएको छ ।’

त्यहीक्रममा उनीहरु २४ माघमा सिराहा धनुषा होटल एण्ड लजको कोठा नम्बर १०८ मा दिउँसो सँगै बसेको पाइएको प्रहरी बताउँछ ।

‘प्रमिलाले त्यतिबेला कुमरालाई सधैँ बाहिर मात्रै बसेर हुँदैन, अब विवाह गरेर भित्र्याउ भनेर दबाब दिएको खुलेको छ’, काठमाडौं प्रहरी प्रमुख खत्री भन्छन्, ‘तर, कुमार जेठी श्रीमतीको दबाबमा त्यसो गर्न नसक्ने अवस्थामा रहेको भनेर तनावपूर्ण स्थितिमा थिए ।’

फेरि २६ माघमा साँझ ६ बजेतिर उनीहरुबीच भेटघाट भएको अनुसन्धानका क्रममा खुलेको छ । त्यसक्रममा उनीहरु सोही होटलको १०८ नम्बर कोठामा बसेका थिए । साँझ फेरि विवाहको विषयलाई लिएर वादविवाद भएको भएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

‘त्यसक्रममा हातपात हुँदा कुमारले प्रमिलाको बायाँतर्फको कन्चटमा मुक्का हानेर ढालेर बयान दिएका छन्’, एसएसपी खत्रीले भने, ‘त्यसक्रममा उनले हल्ला गरेर मान्छे बोलाउने डरले हतारहतार नाइलनको डोरीले प्रमिलाको घाँटी बसेर हत्या गरेको खुलेको छ ।’

त्यसपछि शवलाई खाटमा छाडेर उनको मोबाइल समेत लिएर गएर उनी विभिन्न स्थानमा लुकेर बसेको पाइएको प्रहरी बताउँछ । प्रहरीले थप अनुसन्धान र सोधपुछ जारी राखेको छ ।

यो पनि पढ्नुस् 

दिनभरि सँगै काम गरेर आएका साथीले नै गरे दिपेशको हत्या

महिलाले छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?