+
+

कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते २०:१९

१ फागुन, काठमाडौं । सहकारी विभागले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

२९ माघ सोमबार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको सहकारी विभाग स्रोतले जानकारी दियो ।

सहकारी ऐनको दफा १०४ मा विभागले समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गर्न सक्ने र मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था छ ।

सहकारी संस्थाले सदस्यको हित विपरीत हुने गरी कुनै कार्य गरेको पाइए संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको तथा भुक्तानी गर्न नसक्ने अवस्था भए सहकारी विभागको रजिस्ट्रारले समस्याग्रस्त घोषणाका लागि सिफारिस गर्न सक्ने व्यवस्था छ ।

त्यस्तै सदस्यहरूको बचत निर्धारित सर्तअनुसार फिर्ता गर्न नसकेमा संस्था दामासाहीमा पर्न सक्ने अवस्थामा भएको वा उल्लेखनीय रूपमा गम्भीर आर्थिक कठिनाइ भोगिरहेको अवस्थामा पनि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गर्न सकिने छ ।

‘कुनै संस्था वा संघले सदस्यको बचत रकम फिर्ता गर्नुपर्ने अवधिमा फिर्ता नगरेको भनी त्यस्तो संस्था वा संघका कम्तीमा २५ जना सदस्यले रजिस्ट्रार समक्ष निवेदन दिएकोमा छानबिन गर्दा उपदफाको खण्ड (क) देखि (ङ) सम्मको कुनै अवस्था विद्यमान भएको देखिएको रजिस्ट्रारले समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्न सक्नेछ,’ सहकारी ऐनमा छ ।

विभगबाट समस्याग्रत घोषणा गर्न सिफारिस प्राप्त भए त्यस्तो संस्थालाई मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था सहकारी ऐनको दफा १०४ को उपदफा (२) मा छ ।

मन्त्रालयले सहकारी ऐनको दफा १०५ अनुसार गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि पठाउन सक्ने छ ।

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको समाचार यसअघि अनलाइनखबरले प्रकाशित गरेको थियो ।

काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा गत असारमा करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत रहेको थियो । असारपछि संस्थाले केही बचकर्तालाई जग्गा दिएर ‘सेटलमेन्ट’ गरेको भए पनि संस्थाले समस्या समाधानका लागि तदारुकता नदेखाएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको थियो ।

सहकारीले गत असारमा सेयर पूँजी करिब ४० करोड र ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ ।

पछिल्लो समय बचकर्ताले बचत फिर्ता नपाएको भन्दै दिनहुँ विभागमा पुग्दा पनि सहकारी सञ्चालक तथा व्यवस्थापनले समस्या समाधान गर्न चासो नदिएपछि संस्थाको रोक्का राखेको सम्पत्ति तथा विभागको अनुसन्धानमा खुलेका विवरण समेत समावेश गरेर समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको विभागले जनाएको छ ।

अब मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिमा पठाएपछि सम्पत्ति र दायित्वको विवरण यकिन गर्ने उनले बताए ।

समस्यषग्रस्त घोषणा गरेपछि अनुसनधानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत पठाउने विभाग स्रोतले जनाएको छ ।

सहकारीले बचकर्ताबाट संकलन गरेको स्रोतमध्ये ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको थियो ।

सहकारी सञ्चालकहरूका अनुसार ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक हो । गत असारमा अनलाइनखरसँग कुरा गर्ने क्रममा एक सञ्चालकले भनेका थिए, ‘२० प्रतिशत कर्मचारीको नाममा जग्गामा लगाइएको छ भने ५० प्रतिशत सञ्चालकहरूले घरजग्गा तथा निजी कम्पनीमा लगाएका छन् ।’

कतिपय सञ्चालकहरूले घरजग्गा व्यवसायीसँग मिलेर आफैं प्लटिङमा समेत लागेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?