 
																			२ फागुन, काठमाडौं । सूचीकृत १९ वाणिज्य बैंकहको सेयर मूल्य उतारचढावलाई ‘बैंकिङ’ सूचकले जनाउँछ । यो सूचक यतिबेला ४३ महिना (साढे ३ वर्ष) यताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा बैंकिङ सूचक भने २२ असार २०७७ यताकै न्यूनतम बिन्दुमा झरेको हो । मंगलबार बैंकिङ समूहको सूचक ११२२ अंकमा झरेको छ ।
२२ असार २०७७ मा ११०९ अंकमा रहेको बैंकिङ सूचक १० साउन २०७८ मा २१७५ अंकसम्म पुगेको थियो । त्यस वर्ष भदौ २ मा नेप्से परिसूचक पनि ३१९८ अंकसम्म पुग्यो । त्यतिबेला बैंकिङ समूहले नै बजारलाई उच्चतम अंकमा पुर्याएको थियो । भदौ २०७८ पछि समग्र बजारले ‘बियरिस ट्रेन्ड’ समात्यो, त्यही ट्रेन्डको लयमा बैंकिङ सूचक पनि घट्दै गयो । यसबीच पटक–पटक नेप्से परिसूचक १८०० आसपास आउँदै २२०० नजिकसम्म पुग्यो । तर, १८०० बाट तल झर्न सकेन, अहिले नेप्से २०७० अंकमा छ । तर, बैंकिङ सूचक ४३ महिनाकै न्यूनतम बिन्दुमा छ ।
सामान्यतया सेयर परिसूचक र बैंकिङ सूचकको ट्रेन्ड उस्तै हुने गर्छ । बैंकिङ समूह नै बजारमा सबैभन्दा शक्तिशाली समूह भएकाले यसको ट्रेन्ड र नेप्सेको ट्रेन्ड मिल्दोजुल्दो देखिने गरेकोमा अहिले बैंकिङ र नेप्सेको ट्रेन्ड फरक देखिन्छ । समूहगत लाभका आधारमा बैंकिङ क्षेत्रका लगानीकर्ता नै सबैभन्दा पीडित भएका छन् । कतिपय वाणिज्य बैंकको सेयर मूल्य कारोबार भइरहँदा ५२ साताकै न्यूनतम बिन्दुमा झरेको छ । सूचीकृत संख्या १९ मध्ये ९ बैंकको मूल्य यतिबेला २ सयभन्दा तल छ ।
किन थामिएन बैंकिङ सूचक ?
समग्र बजार परिसूचक नेप्से पटक–पटक १८०० मा थामिँदै २२०० सम्म पुग्दा अन्य क्षेत्रका सूचक पनि सोही अनुरूप तलमाथि भइरहे । बैंकिङ सूचक भने बढ्दा थोरै बढ्ने, घट्दा धेरै घट्ने भयो । जसले गर्दा यो समूह अहिले थला परेको छ ।
बैंकिङ क्षेत्रको सूचक अत्यधिक घट्नुमा मुख्यतः यस क्षेत्रका कम्पनीको सेयर संख्या अधिक हुनु, वित्तीय स्थिति र प्रतिफल दर कमजोर बन्नु, लगानीकर्ता स्पेकुलेसनतिर मोडिनु मुख्य कारण रहेको जानकार बताउँछन् । अहिले सूचीकृत १९ वाणिज्य बैंकको कुल सूचीकृत सेयर संख्या मात्रै ३ अर्ब ५७ करोड कित्ता छ । जसमध्ये साधारण सेयर संख्या १ अर्ब ६० करोड कित्ता छ । यति धेरै सेयर संख्यालाई उपयुक्त मूल्य दिने गरी माग सिर्जना भएन ।
बैंकहरूको चुक्ता पूँजी बढाइनु, बोनस सेयर वितरणका लागि नियामकले दबाब दिनुजस्ता कारणले तिनको सेयर संख्या उच्च दरमा बढेको हो । एकातिर सेयर संख्या बढ्ने र अर्कातिर बैंकहरूको औसत ‘रिटर्न अन इक्विटी’ घट्नुले यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण घटेको छ ।
‘अन्य क्षेत्रका कम्पनीहरूको सेयरमा बरु कारोबार गरिरहँदा मूल्य बढेर पूँजीगत लाभ हुन सक्छ, तर बैंकिङ क्षेत्रमा त्यो स्थिति देखिएन,’ बजारमा सक्रिय लगानीकर्ता पिताम्बर खकुरेलले भने । आधारभूत रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा बैंकिङ क्षेत्रलाई बलियो र भरपर्दो मानिन्छ । तर, कारोबारी र लगानीकर्ताले बैंकको सेयर बेचेर हाइड्रोपावर वा अन्य क्षेत्रका कम्पनीमा लागेको बजारका जानकार रामहरि नेपाल बताउँछन् ।
‘जुन क्षेत्र बढ्छ, त्यही क्षेत्रमा लगानीकर्ता झुम्मिन्छन्, भीड बढेपछि त्यो क्षेत्रले राम्रो स्थान पाउँछ, त्यसैले हाइड्रोपावर समूह अरूभन्दा राम्रो देखियो,’ उनले भने, ‘घटिरहेको बैंकिङमा झन् घट्छ भन्ने डर देखियो, सबैले छाडेपछि धेरै तल झर्यो । हरेक स्टक मार्केटमा लगानीकर्ताको मनोभाव यस्तै प्रकृतिको रहने गरेको छ ।’
अन्य क्षेत्रमा संस्थापकले पनि चलखेल गर्ने र बैंकिङ क्षेत्रमा त्यो अवस्था नरहेकाले पनि यो क्षेत्र कारोबारीको रोजाइमा नपरेको उनले बताए । ‘उत्पादन, हाइड्रोपावर वा होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा संस्थापकको लकइन खुलेर साधारणसरह हुन्छ,’ नेपालले भने, ‘त्यसकारण ती कम्पनीमा संस्थापकहरू पनि चलखेल गर्छन् । तर, बैंकिङ क्षेत्रमा त्यो अवस्था हुँदैन ।’
त्यस्तै बैंकिङ क्षेत्रको बिग्रिएको वित्तीय स्थितिले पनि लगानीकर्ताको मनोभावमा असर परेको नेपालले बताए । ‘बढ्दो खराब कर्जा, उच्च लोनलस प्रोभिजन, वितरणयोग्य नाफा ऋणात्मकजस्ता कमजोर वित्तीय स्थितिले लगानीकर्ता आकर्षित हुन पनि सकेनन्,’ उनले भने । दोस्रो त्रैमाससम्म बैंकहरूले प्रवाह गरेको कुल कर्जामा औसत ३.७ प्रतिशत उठ्न नसकेको निष्क्रिय कर्जा छ । यस्तो कर्जाको दर एक वर्ष अवधिमा दोब्बर भएको हो ।
धेरै बैंक ५२ साताकै न्यून मूल्यमा, ९ बैंक २ सयभन्दा तल
यतिबेला सूचीकृतमध्ये धेरै बैंकको मूल्य ५२ साताकै न्यूनतम बिन्दुमा झरेको छ । कुल १९ सूचीकृत बैंकमध्ये ९ को मूल्य २ सय रुपैयाँभन्दा तल झरेको छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4