+
+

अमेजन संस्थापक बेजोसले बेचे ४ अर्ब डलरको शेयर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १०:१३

काठमाडौं । विश्वका सर्वाधिक धनी मध्येका एक खर्बपति तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले अमेजन कम्पनीमा रहेको ठूलो परिमाणको शेयर बिक्री गरेका छन् । उनले हालैमात्र अमेजनबाट ४ अर्ब डलरको शेयर बिक्री गरेका हुन् ।

सन् १९९४ मा अमेजन कम्पनीको स्थापना गरेका बेजोसले यो महिना मात्रै अमेजनमा रहेको आफ्नो २ करोड ४० लाख कित्ता शेयर बेचेका बीबीसीले जनाएको छ ।

कम्पनीको कार्यकारी अध्यक्ष रहेका बेजोसले यसअघि सन् २०२१ मा पनि आफ्नो नाउँमा रहेको उल्लेख्य कित्ता शेयर बेचेका थिए ।

अमेजनले आगामी वर्षसम्ममा ५ करोड कित्ता शेयर बेच्ने योजनामा रहेको खुलासा अमेजनले अघिल्लो महिना मात्रै गरेको थियो । जसको मूल्य हाल ८ अर्ब ४० करोड पर्दछ ।
१ करोड २० लाख कित्ता शेयरको पहिलो बिक्री गत शुक्रबार नियमनकारी निकायमा बुझाइएको विवरणमा घोषणा गरिएको थियो । त्यसपछि मंगलबार थप १ करोड २० लाख कित्ता शेयर बिक्रीको घोषणा गरियो ।

बेजोसले परोपकारी कार्यका लागि समेत अमेजनको शेयर दान गर्ने गरेका छन् र पछिल्लो पटक सन् २०२२ मा यस्तो कार्यका लागि शेयर बेचेका थिए ।

यसैबीच गतवर्ष मात्रै फ्लोरिडाको मायामीबाट वाशिंटनको शिएटल बसाइँ सरेका कारण बेजोसले पछिल्लोपटक शेयर बिक्री गरेको ४ अर्ब डलरको करबापतको करीब २८ करोड डलर तिर्नबाट जोगिएका छन् ।

वाशिंटनको आयकर कानून अनुसार शेयर वा अन्य दीर्घकालीन लगानीबाट प्राप्त अढाई लाख डलरभनदा माथिको आम्दानीमा ७ प्रतिशत कर तिर्नुपर्ने नियम छ । जबकि फ्लोरिडामा भने आय तथा पुँजीगत लाभमा कर तिर्नुपर्ने राज्यको कानून छैन । तथापि उनले संघीय कानून अनुसारको कर भने तिर्नुपर्नेछ ।

स्मरण रहोस् अमेजनको सबैभन्दा ठूलो शेयरधनी बेजोसको हालको कूल सम्पत्ति १ खर्ब ९० अर्ब डलरभन्दा धेरै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?