+
+
निर्देशक मिलन चाम्सँग संवाद :

‘सिनेमा हाम्रो इतिहास र गौरवको अभिलेख पनि बन्न सक्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १२:३५

काठमाडौं । ‘हँसिया’ डेब्यु निर्देशक मिलन चाम्स ‘लार्जर द्यान लाइफ’ फिल्म बनाउन रुचि राख्छन् । उनको पछिल्लो निर्देशकीय फिल्म ‘गोर्खा वारिअर’ले मलाया युद्धमा गोर्खा सैनिकले लडेको साहसीपूर्ण लडाइँको कथा पेश गर्छ । फागुन ११ मा रिलिज हुन लागेको यो फिल्मलाई उनी गोर्खालीको वीरतापूर्ण अभिलेखको रुपमा व्याख्या गर्छन् ।

वीर विक्रम, ब्लाइण्ड रक्स, लिलीबिली, ह्याप्पी डेज, बबी र वीर विक्रम-२ निर्देशन गरेका चाम्स ‘गोर्खा वारिअर’पछि सगरमाथा र शेर्पाको बारेमा फिल्म बनाउने तयारीमा छन् । निर्देशक मिलन चाम्ससँग यिनै आयाममा अनलाइनखबरका विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

कथावाचकको रुपमा यो फिल्मबाट तपाईंले भन्न खोजेको कुरा के हो ?

जहिले पनि नेपाललाई चिनिने तीन कुरा आउँछन्- सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खालीको देश । यहाँ पर्यटक आउने पनि मुख्यगरी यिनै तीन कारणले हो । त्यसैले फिल्म पनि यी तीनै विषयमा बन्नुपर्छ ।

मुख्य कुरा, हाम्रो इतिहास अहिलेको पुस्तासम्म आइपुग्दा मेटिंदै गएको अवस्था छ । मलाई लाग्छ, पर्वतारोहणबारे धेरै फिल्म नेपालमा बनिनुपर्छ । किनभने हामी पहाड पर्वतमा धनी छौं । शान्तिका प्रतीक गौतम बुद्धबारे पनि थुप्रै सिनेमा बनिनुपर्ने हो । उहाँबारे पनि बाहिरबाट धेरै फिल्म बनेको देखिन्छ । वार जनरामा धेरै फिल्म बनिनुपर्ने पनि नेपालबाट जस्तै लाग्छ । गोर्खालीको विषयमा फिल्म बनाउनुपर्छ भनेर मनमा थियो । मूलतः यसको पहिलो उद्देश्य इतिहासको संरक्षण गर्ने हो । यो सिनेमा मात्र होइन, हाम्रो इतिहास र गौरवको अभिलेख पनि हो । यसबाट सिक्न सकिने कुरा भनेको हामी कस्तो अवस्थामा थियौं र बाध्यतावश विदेशिनुपर्ने पीडा कसरी आयो ? त्यतिबेला हाम्रो बाउबाजेले त्याग कसरी गरेका रहेछन् भन्ने कुरा यो फिल्मले प्रष्ट्याउँछ । सरकारलाई सन्देश पनि हो– के हामी विदेशिनुपर्ने नै हो त ?

फिल्ममा निजी अनुभवको मिश्रण कत्तिको गर्नुभएको छ ?

विदेशिंदा हरेक नेपालीले वोध गर्ने देश र परिवारप्रतिको मायामोह छँदैछ । मैले आफ्नो जीवनको भोगाइभन्दा पनि हरेक नेपालीको जीवनको भोगाइ हो । ७०-८० वर्षअघिको कथा होला । तर अहिलेसम्म फरक छैन । पहिलेको जनजीवन भिन्न थियो होला । अहिले जीवन जिउने तरिका भिन्न छ तर कुरा एउटै हो । अहिलेको गन्तव्य पनि विदेश नै देखिन्छ । मेरो मात्र नभई यसले हरेक नेपालीको जीवनको भोगाइलाई चित्रण गर्छ ।

फिल्म ‘गोर्खा वारिअर’को एक दृश्य

दोस्रो विश्वयुद्ध सकिएपछि चलेको मलायाको लडाइको सेटिङ यो फिल्ममा छ । त्यतिबेलाको कथा अहिले आएर भन्नुपर्ने सान्दर्भिकता के देख्नुहुन्छ ?

यो कथा भनिन ढिला भयो । हामी हरेक कुरामा ढिलो भएजस्तै लाग्छ । यो त छैटौं वा सातौं पुस्ता हो । पहिलो विश्वयुद्धभन्दा पनि नेपाली भारतमा गएर भर्ती हुन थालिसकेका थिए । यो भनेको नेपालीको बाध्यता थियो । आफ्नो परिवार जीवनयापन गर्न सकिन्छ कि । हिजोअस्तिसम्म भर्ती लाग्नु भनेको खरको छानोलाई टिनको छानोमा परिणत गर्नु उद्देश्य हुन्थ्यो । पहिलो विश्वयुद्धदेखिको यो कथा पहिल्यै आउनुपर्थ्यो । कसैले जमर्को गरेन । मैले उठाएको यो स्टोरी छैटौं-सातौं पुस्ताको कथा हो । त्यसअघिका कथा झनै दर्दनाक छन् । एभरेस्ट र क्यारानाभान फिल्म आएको धेरै भयो । त्यसतर्फ न सरकारले ध्यान दियो, न हामी मेकरले ध्यान दियौं । म मेकरलाई यस कुरामा ध्यान दिन चाहन्न । सरकारले देशलाई चिनाउने फिल्म बनाऊ भनेर नैतिक र आर्थिक रुपमा मद्दत गरेको छैन ।

गोर्खा वारिअरको लण्डनमा भव्य प्रिमियर भयो, प्रतिक्रिया कस्तो रह्यो ?

नेपाली फिल्म भन्नेबित्तिकै नेपाल जोडिइहाल्छ । नेपाली नागरिक जोडिइहाल्छन् । यो ऐतिहासिक थियो । त्यसलाई सफल तुल्याउन पक्कै पनि सजिलो थिएन । नेपाल र बेलायतको जुन सम्बन्ध छ, यो सम्बन्धलाई प्रगाढ बनाउँछ यो फिल्मले । बेलायतले जहाँ–जहाँ साम्राज्य फैलायो, त्यहाँ नेपालीले युद्ध नलडेको ठाउँ छैन । त्यो हिसाबले बेलायतका जनताले त्यो गुन अहिले बिर्सेका छैनन् । तर दृश्यको रुपमा उनीहरुले अझ बुझ्न सक्ने भए । हाम्रो देशलाई बचाउन गोर्खालीको योगदान ठूलो छ । यो फिल्मले नेपाललाई हेर्ने दृष्टिकोणमा ठूलो रुपमा परिवर्तन ल्याउन सक्छ जस्तो लागेको छ ।

समान पेन्सन लगायतका सुविधाको माग गर्दै बेलायती सेनामा कार्यरत गोर्खा सैनिक अहिले पनि असन्तुष्ट छन् । नेपाल र बेलायतबीचको कूटनीतिको यो एजेण्डा बनेको छ । यो फिल्मले बेलायत सरकारलाई कसरी दबाब दिनसक्छ ?

फिल्ममार्फत मैले हाम्रो इतिहास के हो भनेर मात्र बुझाउन खोजेको हुँ । त्यो पक्षलाई हामीले छोएकै छैनौं । फिल्म यो कुरामा तटस्थ छ । मैले जे जति इतिहास बुझें, त्यसलाई केलाउने काम मात्र गरेको छु । यसबारेमा मैले अध्ययन गर्न पाएको छैन । फिल्ममेकर भएकाले दुवै कोणबाट हेर्नुपर्छ । यसमा म धेरै कमेन्ट गर्न चाहँदिनँ ।

पछिल्लो समय गोर्खा भर्ती बन्द गर्नुपर्छ भन्ने विश्लेषण पनि सुनिन थालिएको छ । यसबारे फिल्मको स्टेटमेन्ट के छ ?

म स्पष्ट रुपमा भन्न चाहन्छु । सरकारले त्यो किसिमको सेवा सुविधा नागरिकलाई दिनुपर्‍यो । सरकारमै बसेका नेताहरु जनतामाझ गएर छोराछोरीलाई यहीं शिक्षा दिनुपर्छ भनेर उफ्रिन्छन् । तर आफ्ना छोराछोरी विदेशमा पढाउन पठाउँछन् ।  अहिले रुसी सेनामा अवैधानिक रुपमा भर्ती भएर ज्यान गुमाएको उदाहरण नै हेर्नुस् न । हामी बाध्यताले जाने हो ।

बेलायती सेनामा त सहमतिअनुसार नै भर्ती भएको हो नि । भोलि केही भइहाल्यो भने सरकारले पनि कानुनी रुपमा चुनौती दिन सक्छ त्यो कुरामा । गोर्खा भर्ती बन्द हुनुपर्छ जस्तो मलाई लाग्दैन । हाम्रा दाजुभाइले राम्रै सेवा सुविधा पाएको छ । भोलिको दिनमा मुलुकलाई पनि राम्रो योगदान हुन्छ । यसका राम्रो पक्ष पनि छ । राष्ट्रलाई भोलि केही परिहाल्यो भने राष्ट्रका लागि भोलि लडाइँ लड्न पनि उनीहरु तयार हुन्छन् ।

अहिले नेपाली फिल्मलाई कस्तो कथाको आवश्यकता देख्नुहुन्छ ?

दर्शक भनेको निकै जटिल कुरा हो । सबैको आफ्नो स्वाद हुन्छ । कसैले वार जनराका फिल्म मन पराउनुहोला । कसैले रोमान्टिक कमेडी मन पराउनुहोला । कसैले अर्गानिक कथाका फिल्म मन पराउनुहोला । नेपाली फिल्मको सन्दर्भमा दर्शकले यही जनराका फिल्म मनपराउँछन् भनेर भन्न सकिंदैन । अहिलेको परिप्रेक्ष्यमा कमेडी जनराको फिल्म मनपराएको देखिन्छ । कुनै निश्चित उमेरको दर्शक हुनुहुन्छ, जसले परिवारलाई तानेर लैजान सक्छन् । तर त्यो हिसाबले सिनेमाको विकास हुन्छजस्तो मलाई लाग्दैन ।

अब हामीले देशलाई चिनाउने अर्गानिक कथाहरु विदेश लैजानुपर्‍यो । फेस्टिभलको कुरा गर्नुहुन्छ भने अर्गानिक कथाका फिल्म नै त्यसमा गएका छन् । फेस्टिभलमा गएका फिल्मलाई प्रोत्साहन गर्नुपर्‍यो, सरकारले मार्केटिङ गरिदिनुपर्‍यो । गौतम बुद्ध र सगरमाथाको मार्केटिङ गर्न नसक्ने हाम्रो देश सिनेमाको मार्केटिङ गर्छ भनेर हामी कल्पना गर्न सक्दैनौं । सरकारलाई झक्झक्याउनुपर्‍यो । अबको फिल्म अर्गानिक नेपाली कथा नै हुनुपर्छ ।

फिल्मको कथावस्तुसँग रितेश चाम्सको कास्टिङबारे केही बताइदिनुस् न ।

निर्देशकीय क्षमता भनेको त्यो निर्देशकले जीवनमा ती चीजको अनुभव भोगेको हुनुपर्छ । उदाहरणका लागि मैले अमेरिकाको कथामा सिनेमा बनाउँदा म अमेरिका पुगेर त्यहाँको समाजबारे अनुसन्धान, रहनसहन, मान्छेको हाउभाउ, वातावरण थाहा छैन भने सिनेमा कसरी निर्देशन गर्न सक्छु । पात्र भनेको यस्तो सशक्त कुरा हो क्यारेक्टरलाई कुनै पनि कलाकारले एडप्ट गर्न सक्दैन भने त्यो कुरा फितलो हुन्छ ।

वार जनराको फिल्ममा थाहा हुन्छ कि पात्र सिपाही हो कि होइन । फेस, केश, शरीर संरचना, लवजदेखि लिएर हतियार बोक्दा उसले क्यारी गर्ने शैली आदि । यी कुरा सोच्दा मलाई के लाग्यो भने रितेश चाम्सजस्तो उत्कृष्ट अर्को हुनसक्दैन लागेर उसलाई मैले लिएको हुँ ।

अब कस्ता फिल्म बनाउन तपाईंको रुचि छ ?

मान्छे समयअनुसार परिवर्तन हुँदै जाने हो । मैले आफूलाई केही परिवर्तन गरेको छु । अब मैले नेपाललाई विश्वमा चिनाउने विषय नै उठाउनुपर्छ । यसमा भयंकर जोखिम छ तर यसमा जोखिम मोल्नुपर्छ ५-१० वर्ष । मलाई अब शेर्पाको कथा उठाउन मन छ । जहाँ सगरमाथासँग कनेक्सन हुँदैछ । यसका लागि निर्माता सुमन राई आउँदो वर्ष सगरमाथा चढ्दै हुनुहुन्छ । उहाँको तालिम पनि सुरु भइसकेको छ । अस्ति आधार शिविर पुगेर आइसक्नुभयो । चाँडै त्यहाँको संस्कृति, रहनसहन, हावापानी बुझ्न जाने मेरो इच्छा छ । त्यस्तो किसिमका फिल्म मलाई बनाउने इच्छा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?