+
+

निवर्तमान सीईओ रेग्मीको अभिव्यक्ति प्रति पर्यटन बोर्ड कर्मचारी संगठनको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १५:३०
डा. धनञ्जय रेग्मी/फाइल तस्वीर

३ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले निवर्तमान प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कर्मचारीको मानमर्दन हुने गरी सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको भन्दै आपत्ति जनाएको छ ।

रेग्मीले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा बोर्डका कर्मचारी ‘अख्तियारमा उजुरी हाल्ने, भाइरस छ्न्, समाचार छ्पाउने ?’ भनेका थिए । सोही विषयलाई लिएर बोर्ड कर्मचारी संगठनले आपत्ति जनाएको हो ।

संगठनले प्रेस विज्ञप्तिअनुसार २६ माघमा रेग्मीले बोर्डका कर्मचारी, कार्यकारी समितिका पदाधिकारी, पर्यटन मन्त्रालयका सचिव र पर्यटनमन्त्री प्रति लक्ष्यित गर्दै भ्रामक र कपोलकल्पित ढंगबाट सबैको मानमर्दन हुने गरी अभिव्यक्ति दिएका थिए ।

चार वर्षका लागि करारमा नियुक्त रेग्मीका विषयमा २०७८ सालमा पर्यटन बोर्ड कार्यकारी समितिले गरेको छानबिन प्रतिवेदनमा उनले गरेका कानुन विपरीत कामहरू उल्लेख रहेको संगठनले जनाएको छ ।

‘बोर्डकै इतिहासमा नै सबैभन्दा विवादित र अनुभवहीन छवि बनाएका रेग्मीले २०७८ कात्तिक २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नियमविपरीत ६ बोतल रक्सी ल्याउन रोकेपछि ड्युटीमा खटिएका कर्मचारीमाथि दुर्व्यवहार गरेको कारण भन्सार ऐन, २०६४ को दफा ५८ बमोजिम सजाय समेत पाएका थिए,’ विज्ञप्तिमा छ, ‘यसअघि पनि रेग्मी २०७४ पुस ७ मा भन्सार ऐन, २०६४ को दफा ५७ (१ क) बमोजिमको सुन पैठारी कसुरमा सजाय पाएका व्यक्ति हुन् ।’

संगठनको विज्ञप्ति अनुसार रेग्मीले बोर्डको विधि र नियम सम्मत कामबरे अनर्गल प्रचार गर्ने र संस्थाका कर्मचारी र पदाधिकारीमाथि निराधार आक्षेप लगाउने काम गरेको विषय सामान्य नैतिक मूल्य बाहिर पर्नेमात्र नभई नेपालको प्रचलित कानुनद्वारा समेत वर्जित छ । यस्ता विवादित व्यक्तिले व्यक्तिगत स्वार्थ पूरा गर्न नमानेपछि बोर्ड र बोर्डका कर्मचारी र पदाधिकारीविरुद्ध दिएका अभिव्यक्ति र व्यवहारको भर्त्सना गरिएको छ।

रेग्मी बोर्डको पर्यटन बजार प्रवर्द्धन तथा व्यवस्थापनका काम शून्यमा झारेर समग्र बोर्डलाई नै थला पारेर बाहिरिएको कर्मचारी संगठनको भनाइ छ । उनले लामो समयसम्म बोर्डमा निर्देशकका रूपमा काम गरेका वरिष्ठ र अनुभवीलाई हटाइ चार वर्षदेखि एक तहमुनिको पर्यटन बजार प्रवर्द्धन र व्यवस्थापनमा कम अनुभवी कर्मचारीलाई महत्वपूर्ण महाशाखाको निमित्तको जिम्मेवारी दिएर बोर्डलाई बेकामे बनाएको संगठनको आरोप छ ।

‘यही कारण हाल बोर्डका सबै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रम ठप्प भएको स्पष्ट छ । रेग्मीकै निकम्मापन र मनपरी काम गर्ने शैलीका कारण नेपालको पर्यटनले ठूलो घाटा बेहोरिरहेको छ,’ संगठनले जारी गरेको विज्ञप्तिमा छ, ‘उनले बोर्डको नेतृत्व गरिरहँदा बोर्डलाई यसको मुख्य उद्श्यबाट विमुख गराउने कार्यमात्र नभई उनको सबै ध्यान गैरकानुनी ढंगले बोर्डको र कम खर्च गरी आफ्नो निजी व्यवसाय प्रवर्द्धन र विस्तार गर्न कर्मचारीलाई दबाब दिने, नगरे कारबाही गर्ने र बढुवा हुन नदिने जस्ता गतिविधिमा केन्द्रित थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?