+
+
यात्रा संस्मरण :

रमणीय दृश्यसँग लुकामारी खेल्दै जलमुखीदेवी मन्दिरको यात्रा

प्रेम बास्तोला, राजु झल्लुप्रसाद प्रेम बास्तोला, राजु झल्लुप्रसाद
२०८० फागुन ४ गते ११:५६

धादिङका विभिन्न ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल घुम्ने क्रममा माघको दोस्रो साता हामी ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा रहेको जलमुखीदेवी मन्दिर पुग्यौं ।जाडोको समय छिट्टै घाम अस्ताइहाल्ने भएकाले हामीलाई मन्दिर र वरपरका दृश्य क्यामेरामा कैद गर्न नपाइने हो कि भन्ने चिन्ता थियो । त्यसैले मोटरसाइकलमा हामी दुई भाइ हतारिएका थियौं ।

मोटरसाइकलमा दौडिरहेको बेला वडा नम्बर ६ का वडाध्यक्ष किशोर सेढाईंलाई फोन लगायौं र हामी मन्दिरतर्फ आइरहेको जानकारी गरायौं । युवा अनि पर्यटन राम्रोसँग बुझेका सेढाईंले आफू वडा कार्यालयमा रहेको र केही मिनेटमै आइपुग्ने बताए । विश्वकर्मा बस्ती र काफलपानी हुँदै त्यस मन्दिरतर्फ लागेका हामीलाई मन्दिरको माथिल्लो भागमा जान निकै नै सकस भयो । मोटरसाइकल दुई गियरमा डाँडो उक्लिएका भन्ने सोच्न नसक्दा कसो मोटरसाइकलसहित दुई भाइ नै ओरालोतर्फ झरेनौं ! कसोकसो थामिन सक्यौं र अगाडि बढ्यौं ।

मोटरसाइकललाई मन्दिर चढ्ने सिंढी सुरु हुने नजिकैकझ खाली स्थानमा राखेर रमणीय दृश्यहरु क्यामेरामा कैद गर्दै उकालो लाग्यौं ।

हामी मन्दिर भएको माथिल्लो भागमा पुगेर भिडियो र फोटो लिइरहेको बेला वडाध्यक्ष सेढाईं पनि मन्दिर परिसरमै आइपुगे । हामी मन्दिर परिसर पुग्दा मन्दिरको दक्षिण-पश्चिम भागमा पर्यटकहरुलाई मन्दिर आउनका लागि सहजता गर्न अर्को कंक्रिटको सिंढी निर्माणमा स्थानीय श्रमिकहरु खटिइरहेका थिए ।

हामीले निर्माणमा जुटेका स्थानीय श्रमिकसँग पनि केहीबेर गफिने मौका पायौं । वडाध्यक्ष सेढाईंले मन्दिरमा भइरहेको विकास निर्माणको विषयमा छोटकरीमा जानकारी दिए । त्यसपछि हामीले मन्दिरको निर्माण इतिहास, महत्व, पूजा गर्ने विधि, परम्परा, पर्यटन र हालको अवस्थाका बारेमा पनि जानकारी लियौं ।

जलमूखी मन्दिर ज्वालामूखी गाउँपालिका–६ मा पर्छ । यसको आधा भाग भने धादिङकै नीलकण्ठ नगरपालिकामा पर्छ । यसै मन्दिरको नामबाटै गाउँपालिकाको नाम ‘ज्वालामूखी’ रहन गएको हो तर शाब्दिक त्रुटिका कारण ‘जलमूखी गाउँपालिका’ हुनुपर्नेमा ‘ज्वालामूखी गाउँपालिका’ भएको सेढाईंले सुनाए । यसलाई सच्याउने प्रयत्न समेत भइरहेको उनले बताए । यस मन्दिरको उत्पत्तिको किंवदन्ती र स्थापनाको इतिहास निकै नै रोचक रहेछ ।

उत्पत्तिको किंवदन्ती

जलमूखी देवीको अस्तित्व कहिलेदेखि आयो भन्ने आधिकारिक प्रमाण त कोहीसँग छैन । तर स्थानीय रूपमा प्रचलित किंवदन्तीले हामीलाई ४१० वर्षअघिको समयमा लैजान्छ । करिब  ४१० वर्ष पहिले (हाल मन्दिर रहेको डाँडाभन्दा पश्चिमतर्फ) साबिकको चैनपुर गाविसस्थित सुनखानी गाउँका एकजना विश्वकर्मा समुदायका व्यक्ति जसलाई ‘कामी बुढा’ भनेर चिनिन्थ्यो । उनी अरू बेला जस्तै गरी पानी भर्न बस्ती नजिकैको कुवामा गएका थिए । बिहान सबेरै पानी भर्न गएका उनले गाग्री कुवामा डुबाएर पानी भर्न कोसिस गरे । गाग्री कुनै कडा चट्टानसँग ठोकिन पुग्यो र गाग्रीको मुखले एउटा शिला बाहिर निकाल्यो । उनले त्यस शिलालाई कुवाबाट बाहिर निकाली कुवाको माथितिर फालिदिए र पानी लिएर घरमा अर्को बिहान पनि कामी बुढा पानी भर्न गए, तर अघिल्लो दिनको घटना दोहोरियो ।

कोही गोठाला वा उरन्ठेउला मान्छेले कुवामा ढुङ्गा फालिदिएछ भनेर पुनः त्यस शिलालाई उनले निकै टाढा फालिदिए र पानी लिएर घर गए । त्यो प्रक्रिया तेस्रो दिनमा पनि दोहोरियो । उनी आश्चर्यचकित भए र त्यस शिलालाई कुवाको माथिपट्टि राखेर पानी लिई फर्किए । सो साँझ उनले सपना देखे (सपनामा देवीले दर्शन दिइन् र भनिन्- म जलमुखी हुँ, तिमीले पटकपटक निकालेर फालेको शिला मै हुँ । मलाई उच्च स्थानमा राखेर पूजाआजा गरे म यहाँका सबैको कल्याण गर्नेछु ।) यति भनिसकेर देवी अन्तर्ध्यान भइन् । र ती वृद्धको सपना टुट्यो ।

उनी पहिलेजस्तै गरी कुवामा गए । उनले अघिल्लो दिन कुवामाथि राखेको शिला कुवामा नै भेटियो । उनले त्यस दिन शिलालाई दर्शन गरे र पानी भरेर फर्केपछि गाउँका ठूलाबडा भनिनेहरूलाई भेला गरी विगत तीन दिनदेखि भएको घटना र सपनासमेतको वर्णन गरे । सबै गाउँलेहरू जम्मा भए र कुवामा गए । उनीहरूले वेद मन्त्रोच्चारणसहित शिलालाई डोलीमा राखेर पञ्चेबाजा बजाउँदै माथिको डाँडामा लगे र एउटा विशाल साल वृक्षको फेदमा स्थापना गरी नित्य पूजाआजा गर्न थाले । यसप्रकार यो जलको मुखबाट निस्किएको शिलालाई एउटा सालको रूखमुनि स्थापन गरी लामो समयसम्म पूजापाठ गरियो ।

कवि ‘दैवज्ञकेशरी’को पालामा बन्यो मन्दिर

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग गर्ने पण्डित चक्रपाणि अर्ज्याल (अर्याल)ले सुनखानी (हालको पालिका केन्द्र)मा बिर्ता पाएका थिए । पछि अर्ज्यालका कान्छा छोरा दैवज्ञकेशरी अर्ज्याल यहाँ आई बसेका थिए । यसपछि सालको फेदमा रहेको जलमुखीको शिलालाई मन्दिर ओढाएर संरक्षण गर्ने कार्य उनैको समयमा भएको अड्कल काट्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सञ्चालन गर्दा उनलाई सहयोग गर्ने पण्डित चक्रपाणि अर्ज्याललाई सुनखानीमा बिर्ता दिएका र  पछि पण्डित चक्रपाणिले आफ्नो कान्छो छोरा दैवज्ञकेशरी अर्ज्याललाई त्यस बिर्ता पाएको स्थानमा ल्याएको र दैवज्ञकेशरीले त्यसै स्थानमा बस्ने इच्छा राखेको समेत भेटिन्छ । यी अर्ज्याल बाबुछोराको सुनखानी आगमनको मिति र कारण स्पष्ट भएको खण्डमा जलमुखीको इतिहास अझ प्रष्ट हुन् आउँछ ।

द्वन्द्वकालमा चोरी भयो घण्ट

मन्दिरको ऐतिहासिकतालाई प्रतिनिधित्व गरिरहेको ३२ धार्नी एक सेर र चार तोला वजनको घण्ट थियो । मन्दिरको नित्य पूजाको क्रममा पुजारीको आगमन र भक्तजनको आगमनलाई त्यही घण्ट बजेर सञ्चार गर्थ्यो । तर त्यो घण्ट २०६० साल कात्तिकमा चोरी भयो । अहिले भने मन्दिरमा साना-साना घण्ट मात्र बज्ने गर्छन् । मन्दिर परिसरमा अहिले सानो आकारका चारवटा घण्ट छन् ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि यो मन्दिर पुनर्निर्माण गरिएको हो ।

वडाध्यक्ष किशोर सेढाईं

पञ्चायतकालमा चोरी भयो ढलौटको सिंह

स्थापनाकालमै मन्दिरमा ढलौटको एक विशाल सिंहको मूर्ति थियो । हाल सिमेन्टले कुँदेर सिंह राखिएको छ । पुरातत्त्व विभागले गरेको अध्ययनले चिफ कर्णेल गंगाबहादुरले वि. सं. १९८६ सालमा ढलौटको सिंह देवीको शरणमा चढाएको जनाएको छ ।

ढलौटको विशाल सिंहको मूर्तिसँगै मन्दिरबाट जल स्वर्णमुकुट पनि चोरी भएको हो । २०३८ सालमा १५ दिनको अन्तरालमा यी दुवै मूर्ति चोरी भयो ।

पूजा र गुठ

माईका पुजारीवंश परम्परागत रूपमा बाँडाहरू हुन्छन् । यहाँ हरेक दिन बिहान-बेलुका पूजा हुन्छ । मन्दिरमा नित्य पूजाआजा चलाउन दुई किसिमका गुठीको व्यवस्था गरिएको छ । पूजारी  र दमाई बाजेहरुका लागि सरकारी गुठीको राम्रो प्रबन्ध छ । करिब २२४ मुरी माटोको गुठी व्यवस्था भएपनि यसले मन्दिरको संरक्षण तथा सम्वर्द्धनमा खासै उल्लेख्य काम गरेको भने देखिंदैन ।

जलमुखीको मन्दिर परिसरमा नित्य पूजाआजा चल्ने व्यवस्था छ । यसबाहेक दशैंको बेला गरिने नवरात्री पाठ, महाष्टमीका दिन गरिने बली पनि यस मन्दिरको अर्को विशेषता हो । वर्षेनी धान्य पूर्णिमाका दिन विशेष पूजा गर्ने प्रथा हालसम्म पनि छँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन तथा फागु पूर्णिमाका साँझ यो मन्दिरमा मेला लाग्ने गर्छ । मेलामा काठमाडौं, छिमेकी पालिका, गोरखा, नुवाकोटसम्मका श्रद्धालुहरू आउने गर्छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन श्रद्धालु भक्तजनहरूले बाबियोले बनेको डोरीमा रंगीचंगी फूल उनेर त्यसलाई डोलीमा राखी पञ्चेबाजा बजाउँदै, गाउँदै र नाच्दै मन्दिर आउने चलन छ । मन्दिरको वरिपरि फूलको डोली बाँधेर बडाँ दिने गर्छन् । अन्य श्रद्धालु गृहिणीहरू रातभरि जाग्राम बसेर तेलको बत्ती बाल्छन् ।

कतिपयले यो मन्दिरमा  महादीप पनि बाल्दै आएका छन् । मानिसहरूले भजन, कीर्तन, नाचगान गर्छन्, जलमुखीदेवीको नाममा पूजाआजा तथा गौदान गरेपछि मात्र फूल विसर्जन गरी घर जाने चलन थियो । तर हिजोआज भने यो चलन हराएको छ ।

पहिरोको जोखिममा मन्दिर

जलमुखीदेवी मन्दिर भएको पहाडको टुप्पोको ठीक उत्तर-पश्चिमी भाग डरलाग्दो भिरालो छ । भिरालोमा सल्लाका रुखहरू भए पनि पहिरोको जोखिम उच्च छ । सानोतिनो बजेटले मन्दिर आउने भक्तजनका लागि चारैतर्फ कंक्रिटको सिंढी बनाउने काम भए पनि मन्दिरलाई पहिरोबाट जोगाउन व्यवस्थित मजबुत पर्खाल लगाउन नसकेको वडाध्यक्ष सेढाईंले हामीलाई बताए ।

पुनर्निर्माण भएको यस मन्दिरको दायाँतिर एउटा पाटी छ । मन्दिरमा पूजा गर्न, बत्ती बाल्न र जाग्राम बस्न आउने भक्तजनका लागि यो पाटीले केही सहज गराएको छ ।

कसरी पुग्ने जलमुखी मन्दिर ?

जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब दुई घण्टाको पैदलयात्रा र सवा घण्टाको बस यात्रापछि मन्दिर चढ्ने सिंढी नजिकै पुग्न सकिन्छ । जलमुखी मन्दिर पुग्नुअघि गोलादेवीको पनि दर्शन गर्न सकिन्छ । यहाँबाट मनोरम हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ ।

मन्दिरको तल्लो भागबाट करिब ३० मिनेटको पैदलयात्रा वा साना सवारी साधनमार्फत मन्दिरको छेउमै पुग्न सकिन्छ । त्यहाँबाट १० मिनेट रेलिङसहितको सिंढी उक्लेपछि पहाडको टुप्पोमा रहेको जलमुखी मन्दिर पुग्न सकिन्छ । मन्दिर रहेको पहाडको टुप्पो वरिपरि घना सल्लाघारी र गुराँसका बोटले ढाकेको छ । मन्दिर प्रवेश गर्नुअघि फूलपाती चढाउने देउराली समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?