+
+

खोले साग बिक्रीबाट तीन महिनामा ३ लाख आम्दानी

रासस रासस
२०८० फागुन ६ गते १३:४१

६ फागुन,  मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे सागखेती गर्दै आएको महतो दम्पतीले वार्षिक रु ३ लाखभन्दा बढी आम्दानी गरेका छन् ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताए । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनले बताए ।

‘चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन’, उनले भने, ‘ चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्‍याएको छ ।’

महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।  माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताए ।

मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिए ।

‘यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ’, उनले भने, ‘पालुङ्गे सागको माग फागुन-चैतमा अझै धेरे हुने गर्दछ ।’

गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् ।

पूर्णरूपमा अर्ग्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताए । ‘यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अर्ग्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ’, उनले भने ।

खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् ।

छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलाई खोले साग पनि भन्ने गरिएको किसान थारूले बताए  । ‘कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ’, उनले भने ।

पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?