+

सुत्केरी अवस्थामा बढेको तौल घटाउन कस्तो व्यायाम गर्ने ? (भिडियो)

२०८० फागुन  ६ गते १७:१६ २०८० फागुन ६ गते १७:१६
सुत्केरी अवस्थामा बढेको तौल घटाउन कस्तो व्यायाम गर्ने ? (भिडियो)

सुत्केरी भइसकेपछि महिलाहरूले आफ्नो बढ्दो तौलमा खासै ध्यान दिंदैनन्, किनभने बच्चाको स्वास्थ्यमा नै पूरा ध्यान केन्द्रित हुन्छ । डेलिभरीपछि दिनभर आराम र अन्य बेला भन्दा बढी खानाले तौल बढ्छ ।

आमा बनेकी महिलाले सुत्केरी भएको बेलामा आफ्नो तौल घटाउनेबारे चिन्ता लिनु पनि सही हुँदैन । किनभने यो बेला आराम र पोषणयुक्त खानाको जरुरी हुन्छ । डेलिभरीपछि महिलाको शारीरिक वा मानसिक तन्दुरुस्तीको लागि आराम र पर्याप्त निद्रा अनिवार्य हुन्छ ।

यो बेलामा आफू कसरी स्वस्थ बन्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो । सामान्यतया आमाको वजन सुत्केरी भएको बेलामा तुलनात्मक रूपमा घट्ने गर्छ । यदि अझै तौल घटाउनु छ भने सुत्केरी भएको तीन महिनापछि हल्का व्यायाम सुरु गर्न सक्छन् । धेरै गाह्रो व्यायाम यो बेलामा नगरेकै राम्रो हो ।

सुत्केरीपछिको तौल नियन्त्रण गर्न महिलाले यथार्थपरक लक्ष्य तय गर्नुपर्छ । हतारमा वा बढी तौल घटाउने दौडमा एकै महिनामा पाँच-छ केजी घटाउने लक्ष्य राख्छन्, जुन हासिल गर्न गाह्रो हुन सक्छ । बिस्तारै थोरै थोरै गरेर तौल कम गर्नु उपयोगी हुन्छ ।

सुत्केरीपछि महिलालाई धेरै भोक लाग्छ, जसकारण उनीहरू धेरै क्यालोरी भएको खानेकुरा खान थाल्छन् । शरीरलाई चाहिने भन्दा पनि खाइरहेका हुन्छन् । यस्तो अवस्थामा यो महत्त्वपूर्ण छ कि जब भोक लाग्छ, केवल स्वस्थ खाना खानेलाई प्राथमिकता दिनुपर्छ ।

यस समयमा सन्तुलित भोजन लिनुपर्छ । जसमा अन्न, कार्बोहाइड्रेट, फलफूल र तरकारी हुने गर्छन् । यसबाहेक पनि डेरीजन्य उत्पादन र प्रोटिन पनि यसमा सामेल गर्नुपर्छ । डाइटमा फाइबरजन्य खानेकुरा राख्नुपर्छ । ताकि प्रसवको समयपछि कब्जियतजस्तो समस्या नहोस् । यसका अलावा अन्य विभिन्न दलहन खानेकुरा पनि खानुपर्ने हुन्छ ।

घरमै यी सामान्य परिवर्तन गरेर तौल नियन्त्रण गर्न सकिन्छ

तौल घटाउन सुत्केरी महिलाले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । डेलिभरीपछि शरीरको ऊर्जा कम हुने भएकाले धेरै होइन तर १५ देखि २० मिनेट हिंडडुल गर्न सक्छन् ।

डेलिभरी भएको तीन महिनापछि पौडी खेल्ने, सामान्य योग आसन गर्ने साइकल चलाउने, हल्का तौल तालिम जस्ता शारीरिक क्रियाकलाप गर्न सक्छन् ।

प्रशस्त पानी पिउनुपर्छ । पानीले शरीरलाई हाइड्रेटेड मात्र राख्दैन  शरीरमा न्यानोपन पनि ल्याउँछ ।  यसले शरीरमा क्यालोरी बर्न गर्न मद्दत गर्छ । पानी पिउँदा धेरै पिसाब उत्पादन हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ र धेरै रोगबाट बचाउँछ ।

आफ्नो बच्चा र परिवारका अन्य सदस्यलाई ध्यान दिंदा, आफ्नो लागि पनि समय छुट्याउनुपर्छ । आराम गर्ने, सन्तुलित खाना खाने र तनाव कम लिनुपर्छ ।

तौल घटाउन दृढसंकल्प पनि चाहिन्छ । भोलिबाट व्यायाम गरौंला, भोलिबाट खानेकुरा नियन्त्रण गरौंला भनियो भने तौल घट्नुको साटो बढ्न सक्छ  । त्यसैले आजैबाट सुरु गर्छु भनेर लाग्नुपर्छ ।

कतिसम्म व्यायाम गर्दा शरीरलाई सजिलो हुन्छ त्यति मात्र गर्नुपर्छ । व्यायामका लागि जिम धाउने समय छैन तर फिटनेस ट्रेनरको सहयोग लिने इच्छा छ भने अनलाइन फिटनेस क्लास पनि लिन सकिन्छ ।

२४ घण्टामा आधा घण्टा वा एक घण्टा आफ्नो लागि छुट्याउँछु भनेर लाग्ने हो भने परिवर्तन सम्भव हुन्छ । कुनै पनि बानी परिवर्तन गर्ने हो भने २१ दिने फर्मुला अपनाउन सकिन्छ । उदाहरणको लागि बिहान ८ बजे उठ्ने बानी छ । त्यसैले व्यायाम गर्ने समय पुग्दैन भने ६ बजे उठ्छु भनेर २१ दिनसम्म अलार्म राखेर प्रयास गरे २२ औं दिनमा ६ बजे आफैं आँखा खुल्छ ।

मोटोपन सबाना खातुन सुत्केरी
सबाना खातुन
लेखक
सबाना खातुन
फिटनेस ट्रेनर

फिटनेस ट्रेनर खातुन काठमाडौंको लाजिम्पाटस्थित सबाना फिटनेस स्टुडियोकी सञ्चालिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय