+
+

एमाले बैठक : पार्टी शुद्धीकरण केन्द्रीय नेताहरुबाटै थालौं

'महिलालाई सम्मान गर्न नसक्ने मान्छे एमाले हुन सक्दैन'

सइन्द्र राई सइन्द्र राई
२०८० फागुन ९ गते २१:४४

९ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्यहरुले पार्टी शुद्धीकरण अभियान नेतृत्व तहबाटै सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

आगामी वर्ष २०८१ भर पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने तयारी अन्तर्गत एमालेले केन्द्रीय सदस्यहरुको राय लिएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिनभर ९ समूहमा रहेर नेताहरुले आफ्नो राय राखे । मंगलबार अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको प्रतिवेदनमा छलफल गर्न सातवटा प्रदेश, स्थायी कमिटी र गैरभौगोलिक कमिटीका अलग–अलग समूह बनाइएको थियो ।

अलगअलग समूहमा राय राखेपनि नेताहरुको ठूलो संख्याले शुद्धीकरण अभियान तत्काल थाल्नुपर्ने सुझाव दिएका छन् । ‘राजनीतिक एजेण्डा, संगठनात्मक अवस्था र नेताहरुको आचरणमा शुद्धीकरण हुनुपर्छ भन्ने नेताहरुको सुझाव छ’, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने, ‘शद्धीकरण माथिबाटै हुनुपर्छ । किनकि समस्या नेताहरुमै छ ।’

उनी स्थायी कमिटी तथा पदाधिकारीका नेताहरु रहेको समूहमा थिए ।

गैरभौगोलिक कमिटीका नेताहरुको समूहका नेता किशोरबिक्रम मल्लले पनि शुद्धीकरण अभियान केन्द्रबाट थाल्नुपर्ने मत धेरै आएको बताए । ‘शुद्धीकरण भनेर तल्लो कमिटीमा बस्नेहरुलाई कारवाही गरेर हुँदैन, माथिबाटै थाल्नुपर्छ भन्ने मत सबैजसो दिएका छन्’, केन्द्रीय सदस्य मल्लले भने ।

अरु समूहमा पनि शुद्धीकरण केन्द्रीय कमिटीकै नेताहरुबाट थाल्नुपर्ने निष्कर्ष सुझाव आएको छ । ‘राजनीतिक एजेण्डाको अस्पष्टता, दक्षिणपन्थी अराजकता र नैतिक आचरणको समस्या ठूलै नेतामा धेरै छ’, केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले भनिन्, ‘जति ठूलो पद उति धेरै प्रश्न अहिलेको वास्तविकता हो भन्नेमा हाम्रो समूहमा लगभग एकमत देखियो ।’

शुद्धीकरणको थालनी भने नेताहरुको जीवनशैली र आचरणबाट हुनुपर्ने लगभग सबै समूहका नेताहरुले सुझाव दिएका छन् । ‘नेताहरुको जस्तो जीवनशैली देखिन्छ, त्यसमा जनताले प्रश्न गरिरहेका छन् । आम्दानी छैन, खर्च ठूलो छ’ केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले भने, ‘यस्तो समस्या नेताहरुको आर्थिक अपचलनसँग जोडिएको गम्भीर विषय हो ।’

‘नामै तोकेर त कसैले पनि कुरा राखेनन् । तर महिलालाई सम्मान गर्न नसक्ने मानिस एमाले हुन सक्दैन भन्ने लगभग छलफलकै निष्कर्ष हो’, केन्द्रीय सदस्य किशोरबिक्रम मल्लले भने ।

 

तर त्यो भन्दा पनि ठूलो समस्या अहिले पार्टीभित्र यौन विचलनका समस्या देखिएको नेताहरुले बताएका छन् । ‘समाजले पचाउन नसक्ने सम्बन्धमा हाम्रा नेताहरु जोडिएको सूचना सामाजिक सञ्जालमा सधैं आइरहने विषयले पार्टीको गरिमा र प्रतिवद्धता कमजोर बनाइरहेको छ’, केन्द्रीय सदस्य उषाकला राईले भनिन्, ‘यस्ता विषयमा पार्टीले निर्मम कदम चाल्नुपर्छ भन्ने राय व्यापक रुपमा आयो ।’

केन्द्रीय सदस्य पौडेलका अनुसार, मधेश प्रदेशको छलफलमा नेताहरुले यौन विचलनमा जोडिएका नेताहरुलाई पार्टीबाट तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । ‘चेलीबेटीलाई हेर्ने दृष्टिकोणमा समस्या हुने व्यक्ति एमाले हुन सक्दैन, त्यस्ता व्यक्तिलाई राखेर पार्टीको आकर्षण बढ्दैन भन्नेमा नेताहरुले जोड दिनुभयो’, उनी भन्छन् ।

तर त्यस्तो समस्या कुन नेतामा छ भन्ने चाहिँ कसैले भनेनन् । ‘नामै तोकेर त कसैले पनि कुरा राखेनन् । तर महिलालाई सम्मान गर्न नसक्ने मानिस एमाले हुन सक्दैन भन्ने लगभग छलफलकै निष्कर्ष हो’, केन्द्रीय सदस्य मल्लले भने ।

कर्णाली प्रदेशको समूहगत छलफलमा केन्द्रीय सदस्य निरज आचार्यले त लिखित सुझावमै नैतिक विचलनमा परेका व्यक्तिलाई बर्खास्तीको माग गरेका छन् ।

‘पछिल्लो चरणमा पार्टीका नेता साथीहरुमा नैतिक र चारित्रिक समस्या देखिएका छन् । सामाजिक प्लेट फार्महरुमा घिनलाग्दो र डरलाग्दो तरिकाले आइरहेका छन्’, आचार्यको सुझावपत्रमा लेखिएको छ, ‘व्यक्तिका कमजोरी र अपराधको भारी पार्टीले बोक्नुहुदैन । सम्बन्धितलाई निलम्बन गरी छानबिन गर्नुपर्छ र कारबाही गर्नुपर्छ ।’

नेताहरुमा यौन विचलन सँगै आर्थिक अपचलन, मादकपदार्थ सेवन, सामाजिक भेदभावका मतियार बन्ने जस्ता समस्या रहेको नेताहरुले बताएका छन् । ‘कतिपय हाम्रै नेताहरु मिटरब्याज खाने छन् । त्यस्तो व्यक्तिबारे प्रष्ट नहुने हो भने जनताको विश्वास जित्न सकिदैन, त्यसैले तत्काल यसबारे पार्टीको प्रष्ट धारणा आउनुपर्छ भन्नेमा नेताहरुको सुझाव छ’, केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले भने ।

पार्टीभित्र देखिएको अर्को समस्या संगठनात्मक अराजकता रहेकामा पनि लगभग सबै समूहले निष्कर्ष निकालेका छन् । ‘बैठक बस्नै नसक्ने कमिटी, कमिटीभित्र व्यक्तिगत स्वार्थमा आधारित गुटबन्दी र कमिटीमा रहेका नेताहरुमा वैचारिक समस्या छ’, केन्द्रीय सदस्य निरज आचार्यले भने, ‘यसको शुद्धीकरण सदस्यता वितरणबाटै थाल्नुपर्छ भन्ने सुझाव दिएका छौं ।’

सदस्यता वितरणबाटै संगठनात्मक भद्रगोल रहेको छलफल स्थायी कमिटीका नेताहरुमा रहेको समूहमा पनि भएको छ । त्यसका लागि दुईथरीका सदस्यता प्रदान, चुस्त कमिटी निर्माण, शुभेच्छुकहरुलाई परिचयपत्र जस्ता समाधान खोजिनुपर्ने स्थायी कमिटीका नेताहरुले राय राखेका छन् ।

तर संगठनात्मक अराजकताको शुद्धीकरण पनि शीर्ष नेताहरुबाटै सुरु गरिनुपर्ने मत नेताहरुले राखेका छन् । ‘आज जिल्ला कमिटीको समस्या पार्टी केन्द्रका शीर्ष नेताहरुको कारणले बढिरहेको छ । गुटको केन्द्र माथि छ’, एक नेताले भने, ‘पदाधिकारीहरु नै गुट निर्माणको नेतृत्व गरिरहेका छन्, त्यसैले तलको कमिटी सुधार्न माथिबाट सुरु गर्नुपर्छ भन्ने मत स्थायी कमिटीकै नेताहरुले राख्नुभयो ।’

यसबाहेक संसददेखि सडकसम्म पार्टीको उपस्थिति जनताले अनुभूत गर्न सक्नेगरी नभएको, एमालेले जितेका स्थानीय तह पनि अरु भन्दा फरक नभएको जस्ता समस्या नेताहरुले औंल्याएका छन् ।

‘मूलभूत रुपमा यी समस्याहरुको हल नगरी जनतामा आधारित कार्यकर्ताको पार्टी बनाउन सकिँदैन भन्ने मत साझाजस्तो छ’, केन्द्रीय सदस्य मल्लले भने ।

तर अब एमालेले प्रष्ट राजनीतिक प्रतिवेदन ल्याएर पार्टीभित्र देखिएको समस्याको शुद्धीकरण गर्न पनि नेताहरुले सुझाव दिएका छन् । ‘नेतृत्व पंक्तिबाटै पार्टीभित्र देखिएको समस्यामाथि छलफल गर्न प्रस्ताव ल्याउनुभयो । तर त्यसलाई समेट्ने गरी राजनीतिक प्रतिवेदन ल्याउनुपर्छ भन्ने सुझाव दिएका छौं’, पोलिटब्यूरो सदस्य ठाकुर गैरेले भने । उनका अनुसार, शुद्धीकरणको थालनी गर्न सामूहिक निर्णय प्रक्रिया तत्काल अवलम्बन गर्नुपर्ने नेताहरुको सुझाव छ ।

महासचिव शंकर पोखरेलले भने जनतामा आधारित कार्यकर्ताको सशक्त पार्टी निर्माण गर्न केन्द्रीय सदस्यहरुले खुलेर सुझाव दिएको बताए । ‘बिहानदेखि साँझसम्म ९ समूह बनाएर छलफल भयो । यो ९ दिन बराबर हो । एमालेले कस्तो तयारी थाल्दैछ भन्ने यसबाटै थाहा हुन्छ’, महासचिव पोखरेलले भने ।

स्थायी कमिटी सदस्य कर्ण थापा पनि यसपटक एमालेले नवौं महाधिवेशनयताकै प्रभावकारी बैठक चलाएको दावी गर्छन् । ‘बीचमा हामीले पार्टीलाई बलियो बनाउने गरी छलफल गर्न पाएनौं । पार्टी जोगाउनुपर्ने दायित्व प्रमुख बन्यो’, उनी भन्छन्, ‘तर यसपटक नवौं महाधिवेशन यताकै खुला बहस भयो । केन्द्रीय सदस्यहरुले खुलेर आफ्नो कुरा राखे ।’ बैठकमा केन्द्रीय नेतृत्वदेखि सदस्य समेतको समस्या र समाधानबारे नेताहरुले राय राखेको उनी बताउँछन् ।

एमालेले बिहीबार समूहगत रुपमा संकलित सुझावहरु केन्द्रीय कमिटीको हलमा प्रस्तुत गर्दैछ । त्यो सुझाव समेटेर सचिवालयले आगामी वर्षका निम्ति शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तयार पार्ने महासचिव पोखरेलले बताए ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?