+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
38/0 (4.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

१६ घण्टासम्म रुखलाई अँगालो हालेर संरक्षणकर्मीले राखिन् कीर्तिमान

एजेन्सी एजेन्सी
२०८० फागुन १३ गते १३:२३

युगाण्डाको राजधानी कम्पालाकी एक वातावरण संरक्षण अभियानकर्मीले १६ घण्टासम्म लगातार एउटा रुखलाई अँगालो हालेर गिनिज बुकमा नाम लेखाएकी छन् ।

२९ वर्षकी फाइथ प्याट्रिसिया आरियोकोटले १६ घण्टा ६ सेकेण्डसम्म रुखको फेदलाई अंकमाल गरेर यस विधामा पहिलो रेकर्ड कायम गरिन् ।

आम मानिसहरुमा रुखको महत्वका बारेमा जनचेतना जगाउन र अरु मानिसहरुलाई वृक्षारोपणका लागि उत्प्रेरित गर्नका लागि उनले सो विश्व कीर्तिमानी कार्य गरेकी हुन् ।

फाइथ भन्छिन्, ‘यिनी (रुख) हरु जलवायु परिवर्तन विरुद्धको लडाइँमा सबैभन्दा ठूला सिपाही हुन् ।’

रेकर्ड कायम गर्ने प्रयोजनका लागि अँगालो हाल्ने रुख छान्दा आफूलाई बेहुली पहिरन छानेजस्तै अनुभूति भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘रुखले मलाई छान्यो र त्यो पहिलो दृष्टिमै माया बसेजस्तै थियो । जब मैले रुखलाई देखें तब मैले त्यसैलाई नै अँगालो हाल्नुपर्छ भन्ने लाग्यो ।’

तर १६ घण्टासम्म लगातार उभिएर रुखलाई पाखुराले लपेट्नु सजिलो चाहिं थिएन । लामो समयसम्म उभिंदै खुट्टामा निकै पीडा भएर ज्यानै जालाजस्तो भएको बताउने उनी रुखको खस्रो भागले शरीरको छालामा समेत काटेर घाउ बनाएको र दुखेको बताउँछिन् ।

फाइथले यो महिनामा नै तेस्रो पटकको प्रयासमा कीर्तिमानी वृक्ष अंकमाल गर्न सफल भएकी हुन् । उनको पहिलो प्रयासमा क्यामराले धोका दिएको थियो भने दोस्रो प्रयासमा वर्षा र मेघ गर्जनका कारण उनले बीचमै छाड्नुपरेको थियो ।

त्यसैले तेस्रो पटक रुखलाई अंकमाल गरिरहँदा पनि सुरुको १ घण्टा उनलाई सो काम छाडौं कि भन्ने लागेको थियो । त्यस्तै ९ घण्टा पुगेको बेला उनी निकै नै थाकिन् र त्यसबेला पनि अंकमाल छाडौं भन्ने सोंच मनमा पलाएको थियो । तर, आफूलाई रुखले सान्त्वना दिएका कारणले अंकमाल जारी राखेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘मलाई विश्वास छ कि रुखसँग वास्तवमा भावना हुन्छन् र हामीलाई के भैरहेको छ भन्ने कुरा अनुभूत गर्न सक्दछन् । मलाई पनि रुखले आफ्नो कामलाई निरन्तरता दिन ढाडस दियो ।’

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?