काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने विषयमा समझदारी भएको छ ।
समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस ‘कार्यान्वयन साझेदार’ हुनेछ ।
यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपीसीआई) को स्ट्यान्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस-भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्नेछ । यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउनेछ ।
भारतसँगको कर्स बोर्डर भुक्तानीका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसनसँग नेपाल क्लियरिङ हाउसले नेपालका बैंक तथा वित्तीय संस्थाको स्विचको रूपमा काम गर्छ ।
बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको छ ।
हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै आईएमई रेमिट, जीएमई रेमिट, थैली, छिटो पैसालगायतले पनि वानप्वाइन्टको डिजिटल प्लाटफर्म प्रयोगमा ल्याएका छन् ।
प्रतिक्रिया 4