+
+

महानगरले ओम, दीर्घायु, शहीद मेमोरियल र नेपाल नेशनल अस्पतालको फोहोर नउठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १९:१७

१३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ वटा अस्पतालको फोहोर नउठाउने भएको छ ।

महानगरका अनुसार कलंकी क्षेत्रका शहीद मेमोरियल र नेपाल नेशनल अस्पताल, चाबहिल क्षेत्रका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर नउठाउने भएको हो ।

अनुगमनका क्रममा ती अस्पतालहरूले फोहोर व्यवस्थापनमा सुधार गर्नु पर्ने देखिएकाले तत्कालका लागि फोहोर नउठाइने ल्यान्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । यसअघि महानगरले महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालबाट फोहोर उठाउन रोक लगाइसकेको छ ।

महानगरले ती अस्पतालहरूलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धतासँग सम्बन्धित कागजपत्र, फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाको विवरण लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

‘ल्यान्डफिल साइटमा कुनै पनि हानिकारक फोहोर नपुगोस् भनेर हामीले अनुगमन गरेका हौं । अनुगमन क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक–फरक अवस्था देखिएको छ’ श्रेष्ठले भने, ‘संक्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैंको हुन्छ । अस्पतालहरूको अवस्था हेर्दा सबैमा एकै खालको कसुर छैन । कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहोर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनुपर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहोरको सम्बन्धमा निर्णय गरिनेछ ।’

१०० बेडको शहीद मेमोरियल अस्पतालमा फोहोर वर्गीकरण गर्न राखिएका बाल्टिनका रङ संकेत मिलेको छैन । सबै खालको फोहोर सबै बाल्टिनमा राखिएको पाइएको थियो ।

फोहोर ढुवानी गर्ने प्रणाली व्यवस्थित नभएको भन्दै महानगरकी वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अस्पतालको छतमा सिरिन्जलगायत कालो प्लास्टिकमा बाँधेर फोहोरका पोका राखिएका छन् । यो फोहोर खुला भएकाले पन्छीहरूको सिधा सम्पर्कमा छ । यसकारण पनि जोखिम छ ।

यस्तै २५ शय्याको नेपाल नेसनल अस्पतालमा अस्पतालको फोहोर व्यवस्थापन कमजोर छ । स्रोतमा फोहोर वर्गीकरण गर्नका लागि रङ संकेतको उचित प्रयोग भएको छैन । कुन फोहोर कुन बाल्टिनमा हाल्ने हो, लेखिएको छैन । कति ठाउँमा अँध्यारोमा बाल्टिन राखिएका छन् । शौचालयको मुखमै राखिएका बाल्टिनमा शौचालयबाट उत्पादन भएको फोहोर समेत मिसिने खतरा देखिन्छ ।

त्यस्तै दीर्घायु गुरु अस्पतालले फोहोर व्यवस्थापनका लागि न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको महानगरले जनाएको छ ।

‘स्रोतमा फोहोर वर्गीकरण गर्न सामान्य बाल्टिन राखेको भए पनि फोहोर नमिसिएको बाल्टिन छैन । अस्पताल प्राङ्गणको एउटा कुनामा फोहोर संकलन गर्ने कोठा बनाइएको छ । यो कोठामा सबै मिसिएको फोहोर राखिएका पोका छन्,’ वातावरण निरीक्षक श्रेष्ठले भनिन् ।

अनुगमन टोलीले ओम अस्पतालले सामान्य फोहोर संकलन गर्न महानगरको कन्टेनरमा रगत देखिने कपास (कटन) का टुक्रा फेला पारेको थियो ।

मेडिकेयर अस्पताल चाबहिलमा फोहोर वर्गीकरणका लागि राखेको बाल्टिनहरूको रङ संकेतको एकरूपता नरहेको पाइएको छ ।

वर्गीकरण गर्ने ठाउँ व्यवस्थित नभएको, फोहोरमा काम गर्ने जनशक्तिको स्वास्थ्य जोखिम कम गराउन खोप दिने, काम गर्दा लगाउने पीपीई, मास्क, बुट र चस्मा दिनुपर्ने देखिएको अनुगमन टोलीले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?