 
																			१५ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटो बनेको बताएका छन् ।
मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लोकप्रिय र जनसेवीले चुनाव लड्नै नसक्ने र पैसावालालाई उम्मेदवार बनाउनुपर्ने अवस्था रहेको बताएका हुन् ।
‘दलमा भ्रष्टाचार टिकट बेच्नमा सुरु भइसकेको छ । यो रोक्न सक्छौं हामी ? ०८४ को संसद कस्तो होला कल्पना गर्नुस् त ? खाली ठेकेदार, फटाहा र स्पोन्सरहरुको …र अहिले सुन चोरहरुको संसद बन्न गइरहेको छ’, उनले भने ।
निर्वाचन प्रणालीकै कारण सिंगो संसद नै भ्रष्टाचारीहरुले नियन्त्रणमा हुन सक्ने उनको भनाइ छ । ‘अब पनि निर्वाचन पद्धतिमा सुधार नगर्ने हो भने, … त्यसकारण यो संविधान खतरामा परिराखेको छ । हामीले एकातिर डेलिभर गर्न सकेनौं’, पूर्वसभामुख ढुंगानाले भने ।
उनले संविधानको आधारभूत विशेषतामाथि नै प्रश्न उठाउने काम भइरहेको भन्दै संविधान उल्टिन सक्ने खतरा औंल्याए ।
‘संविधान लागू भएको ८ वर्ष भएको छैन, यसका सबै आधारभुत चरित्रमाथि प्रश्न उठिराखेको छ । जनता सडकमा आइरहेका छन् । अहिलेको संसद, सरकार वा दलहरुले यसको सामना गर्न, मुकाविला गर्न सक्दैन भनेको होइन । तर संवाद सुरु गर्ने कि नगर्ने ?’, ढुंगानाले भने, ‘…उसले मास आन्दोलन गर्नसक्यो भने ०४७ सालको संविधान उल्टिन्छ भने ०७२ सालको संविधान उल्टिदैन ?’
अहिले सरकारको विरोध गर्नेहरु गणतन्त्र विरोधीमात्र नभएको उनको भनाइ छ । सरकारले सबैभन्दा पहिले जनताले विरोध गर्ने परिस्थितिलाई रोक्नुपर्ने ढुंगानाले बताए ।
‘गणतन्त्र, गणतन्त्रजस्तो नभएको भएर विरोध भएको हो । सबै विरोधीलाई गणतन्त्र विरोधी भनिदिने हो भने त उही राजा महेन्द्रले हामीलाई अराष्ट्रिय भनेजस्तो हो’ उनले भने, ‘…सबभन्दा पहिले यो विरोध गर्ने परिस्थिति रोक्नुपर्यो । संवाद गर्नुपर्यो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4