+

५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ

२०८० फागुन  १७ गते १६:३१ २०८० फागुन १७ गते १६:३१
५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ

विभिन्न कारणले पछिल्लो समय बाँझोपनको समस्याबाट पीडित दम्पती धेरै देखिन्छन् । विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा एक वर्षसम्मको अवधिमा पनि गर्भ नरहेको अवस्थालाई बाँझोपन मानिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बाँझोपन प्रजनन् प्रणालीसँग सम्बन्धित रोग हो । यस्तो समस्या महिला पुरुष जसलाई पनि हुनसक्छ ।

महिलामा फलोपियन ट्युब बन्द हुनु, अण्डा उत्पादन नहुनु, अण्डाको गुणस्तर कम हुनु, थाइराइड, हार्मोनको असन्तुलन, पीसीओडी अर्थात् पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम लगायत कारणले महिलामा बाँझोपनको समस्या देखिन्छ ।

बाँझोपनको कारण अव्यवस्थित जीवनशैली पनि हो । समयमा नसुत्नु, धुम्रपान, मद्यपान सेवन, मधुमेह, तनाव जस्ता कारणले बाँझोपनको समस्या देखिन सक्छ ।

पुरुषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी हुँदा पनि महिलाले गर्भधारण गर्न कठिन हुन्छ ।

समाधानको उपाय के छ ?

महिनावारीलाई नियमित गर्ने

बाँझोपनको समस्या समाधानका लागि महिलाले महिनावारीलाई नियमित राख्नु जरुरी हुन्छ । महिनावारी गडबड भएमा स्वस्थ खानपानसँगै औषधि उपचारको माध्यमबाट यसलाई सामान्य बनाउनुपर्छ ।

र्मोनलाई सन्तुलनमा राख्ने

गर्भधारणका लागि शरीरमा हार्मोनको सन्तुलन जरुरी छ । जस्तै, फोलिकल स्टिमुलेटिङ (उत्तेजक) हार्मोन एफएसएचलाई सन्तुलनमा राख्नुपर्छ । यसले शुक्रकीट र अण्डा उत्पादन गर्न मद्दत गर्छ । यसले एस्ट्रोजनको उत्पादन बढ्छ र शरीरमा एलएच अर्थात् एक ग्लाइकोप्रोटिन हार्मोन वृद्धि हुन्छ । जसले गर्दा ओभुलेसनको साथै गर्भधारणलाई पनि सहज बनाउँछ । यस्तो अवस्थामा आईयूआई अर्थात् इन्ट्राउटेरिन इन्सेमिनेसन वा इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) गराउँदा पनि सहज हुन्छ ।

हार्मोन सन्तुलनमा राख्न स्वस्थकर खानपानको पनि उत्तिकै भूमिका हुन्छ ।

अण्डालाई परिपक्व बनाउन आवश्यक

कतिपय अवस्थामा अण्डा उत्पादन भएपनि परिपक्व नहुने र फुट्न नसक्दा गर्भधारण गर्न कठिनाइ हुनसक्छ । यस्तो अवस्थामा उपचार सफल होस् र आमाबुवा बन्ने सपना पूरा गर्न सकोस् भनेर औषधिको माध्यमबाट स्वस्थ ओभ्युलेसन गराउने प्रयास गरिन्छ ।

बन्द ट्युब खोल्ने

महिलाको पाठेघरको दुवै ट्युब बन्द भएको अवस्थामा गर्भधारण हुन सक्दैन । यस्तो अवस्थामा चिकित्सकले ट्युबलाई ल्याप्रोस्कोपी वा हिस्टेरोस्कोपीमार्फत खोल्ने गर्छन् । पाठेघरमा सिस्टको समस्या छ भने पनि गर्भधारणमा समस्या हुन्छ । त्यसलाई सम्बन्धित चिकित्सकलाई जाँच गराएर शल्यक्रियामार्फत हटाउन सकिन्छ ।

ईभीएफ गर्ने

इन भिट्रो फर्टिलाइजेसन अर्थात् आईभीएफ प्रविधिबाट पनि बाँझोपनको समस्या समाधान गर्न सकिन्छ । यसमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट लिएर प्रयोगशालामा निषेचन गरी महिलाको पाठेघरमा हाल्ने गरिन्छ । पहिलो प्रयासमा नै सफल गर्भाधारण गराउन र कुनै पनि प्रकारको समस्या नआओस् भनी आईभीएफ गर्ने दम्पतीको पूर्ण परीक्षण गर्ने र आवश्यकता अनुसार औषधि र इन्जेक्सन दिइन्छ ।

त्यस्तै आईयूआई प्रविधि पनि अपनाउन सकिन्छ । यसमा पुरुषको शुक्रकीटलाई निकालेर निषेचन गरी राम्रा अण्डालाई छानेर महिलाको प्रजननमा इन्जेक्सनभित्र राखिन्छ । यसले पनि गर्भधारण सहज बनाउँछ ।

पुरुषको शुक्रकीटमा समस्या भए दाताको वीर्यदानद्वारा पनि गर्भधारण गराउन सकिन्छ । महिलाको अण्डाशय नबनेको अवस्थामा अन्य महिलाको अण्डादानबाट पनि गराउन सकिन्छ ।

डा. कीर्तिपाल सुवेदी बाँझोपन
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय