+
+
अभिनेता अर्पण थापासँग संवाद :

‘म पपुलर हुनलाई अभिनय गर्न आएको होइन’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १५:०६

काठमाडौं । सोझो अर्थमा भन्दा अर्पण थापा ट्रेन्डको विपरित दिशामा बहेका अभिनेता हुन् । स्टारडमको चमकधमकभन्दा पर रहेर उनले ‘लो-प्रोफाइल’मा जीवन बाँचिरहेका छन् । एक जोगी अभिनेता जो एक कलाकारले निजी जीवन बाँच्न पाउनुपर्छ भन्ने मान्यता राख्छन् ।

खलपात्रलाई घरेलु फिल्मको स्क्रिनमा स्थापित गर्न सफल उनी पछिल्लो समयका व्यस्त अभिनेता हुन् । फिल्म, जीवन र स्टारडमबारे अभिनेता अर्पण थापासँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको डेब्यु फिल्म ‘ब्याच नम्बर १६’ देखि ‘रंगेली’सम्म आइपुग्दा तपाईंले अभिनय गरेका फिल्मको संख्या ३० पुगेको छ । यो करिअरमा तपाईंले हासिल गरेको उपलब्धि केलाई मान्नुहुन्छ ?

हासिल गरेको उपलब्धि त्यही ३० वटा होला आफैंमा ।

संख्या मात्र उपलब्धि हो कि यसपछाडि अर्थ पनि लुकेको छ ?

अहिलेको लागि त संख्या मात्रै भनौं । पात्र त गरियो एक हिसाबले । व्यावसायिक र गैरव्यावसायिक दुवै चरित्र गरियो । अभिनेताको रुपमा तोकेरै भन्दा यो हो उपलब्धि भनेर महसुस भएको छैन अहिलेसम्म ।

संख्याको लागि मात्र त काम नगर्नुभएको होला । काम पछाडिको आत्मसन्तुष्टि त होला नि ?

एकजना अभिनेताको हिसाबले मात्र आउने होइन । समग्रमा लेखनदेखि प्रदर्शन हुने क्रमसम्ममा यी सबै कुरा लागू हुन्छ । कतिपय पात्र लेखिंदा ठीकै हुन्छ, बनिंदा फरक हुन्छ । यो समरुपता हाम्रो फिल्ममा अलि कम देखिन्छ ।

अभिनेता र निर्देशकको रुपमा तपाईंले चाहेको फिल्म कस्तो हो ?

मलाई पहिलादेखि नवीन र अन्वेषण गर्ने खालका फिल्म मनपर्छ । भन्दाखेरि मान्छेले ‘स्लो’, ‘फास्ट’ फिल्म भन्छन्, कतिले ‘न्यू वेभ सिनेमा’ पनि भन्छन् । एउटा विषयमा आधारित रहेको, एउटै सेरोफेरोमा कथा भनिएको, राम्रो वा नराम्रो दृष्टिकोणलाई छाडेर त्यो भन्दा माथिल्ला दृष्टिकोणमा बस्न मनपर्छ ।

तपाईंको मनपर्ने जनरा कुन हो ?

‘फ्रेन्च न्यू वेभ’ पनि भनिन्छ । पहिला आर्ट हाउस भन्थे । काल्पनिक विषयवस्तुभन्दा पनि अलि यथार्थवादी । काल्पनिक कथावस्तुमा जाने भएपनि त्यो अर्थपूर्ण होस् । ‘मेमोरिया’ भन्दा थाइ निर्देशकले बनाएको फिल्म छ । पुरानोमा ‘बाइसाइकल थिभ्स’, नियो–नोइरमा जाँदा ‘गड्फादर’जस्ता सिनेमा मलाई मनपर्छ ।

नेपालमा एक्सन र ग्याङस्टर फिल्मप्रति दर्शकको रुचि कस्तो पाउनुभएको छ ?

चाहे त्यो ड्रामा होस्, ग्याङस्टर होस्, एक्सनको परिभाषा मात्र फरक हो । फिल्ममा लगभग एक्सन त पहिल्यैदेखि रहिआएको हो । फिजिकल एक्सनको कुरा गर्दा ठ्याक्कै यही भन्न त कठिन होला । इण्डियामा ‘एनिमल’ फिल्मजस्तै । ड्रामा–एक्सन भन्दा ‘पुष्पा’ पनि छ । ‘पुष्पा’ त ड्रामा फिल्म हो नि । तर ‘केजीएफ’ फेरि एक्सन फिल्म नै हो । कुन प्रवृत्तिको एक्सन भन्ने कुरा आउँछ । ड्रामाभित्रको एक्सन हो कि, सुपरहिरो एक्सन हो कि ? हामीले बलिउड फिल्मलाई नेपालमा चलेको हिसाबमा हेर्ने हो भने ड्रामा एक्सन नै बढी चलेको देखिन्छ । हलिउडको कुरा गर्दा केनु रिभ्सको एक्सन फिल्म पनि चलेकै छ । कुनै पनि स्वरुपमा मान्छेले एक्सनलाई रुचाएकै छन् ।

पछिल्ला धेरै फिल्ममा तपाईं खलपात्रको भूमिकामा देखिनुभएको छ । यो तपाईंको अभिरुचि हो कि प्रस्ताव नै त्यस्तै आउँछ ?

पहिलो त मेरो इच्छा भन्दा पनि निर्माताको इच्छामा पर्नुपर्‍यो । उहाँको इच्छामा पर्दा प्रायः त्यस्तै क्यारेक्टर उहाँहरुले मलाई दिनुहुन्छ । जिज्ञासा राख्दा कुरा पनि हुन्छन् । यस्तो पात्र तपाईंलाई राखेका छौं, यसमा अलिकति इन्टेन्स प्रस्तुति चाहिन्छ, स्टाइलिस चाहिन्छ, हामी तपाईंलाई विश्वास गर्छौं भन्ने कुरा पनि आउँछ । अहिलेको समयमा हिरोमा रोजाइ धेरै भएपनि भिलेनमा रोजाइ कम छैन ।

तपाईंको रुचि के छ यो विषयमा ?

म कहिल्यै पनि पात्रलाई हिरो भिलेन भनेर हेर्दिनँ । म पात्रको रुपमा पात्रलाई हेर्ने हो । पात्र बाँच्दाखेरि मलाई भिलेन कहिल्यै पनि महसुस हुँदैन । मलाई त एउटा पात्र हो, जसको सोच यो प्रवृत्तिमा छ । सोचाइ यस्तो हो भनेर बाँच्छु । हिरो भिलेन भनेको त समग्रमा कथाले निर्णय गर्ने कुरा हो ।

३० फिल्मको लाइनअप हेर्दा तपाईंलाई स्टारडममा रुचि भएजस्तो लाग्दैन । तपाईं अरु कलाकारजस्तो मिडियामा एक्सपोज पनि हुनुहुन्न । स्टारडमप्रति मरिहत्ते पनि देखिन्न । लो–प्रोफाइल अभिनेताको जस्तो जीवन बाँचेको देखिन्छ । अभिनेताको जोगी जीवनजस्तो देखिनुहुन्छ । खास के हो यो ?

मैले गर्ने अभिनेता, लेखक र निर्देशकको काम व्यावसायिक मात्र हो । त्यो मैले गर्ने काम हो । यसबाहेक म आफ्नो निजी जीवनमा फर्किहाल्छु । म धेरै एटेन्सन लिन र दिन सक्दिन ।

यसमा केही कारण छ ?

बानी होला । बिहान उठेर एक-डेढ घण्टा कसैसँग बोल्न नपाएपनि हुन्थ्योजस्तो हुन्छ । कफी खाएर चुप्प लागेर बस्न पाएजस्तो हुन्छ । क्याफेतिर गएँ भने पनि म एक्लै जान्छु, एक्लै बस्छु । बिहान म हत्तपत्त मान्छे भेट्दिंनँ । अफिस समय सकेपछि बेलुका ६-७ बजेपछि फोन पनि उठाउँदिनँ । किन भन्दा, व्यावसायिक रुपमा मैले दिएको एउटा निश्चित समय छ । त्यसबाहेक म आफ्नो हिसाबले बाँच्न पाऊँजस्तो लाग्छ ।

तपाईं भीडबाट किन टाढा बस्न रुचाउनुहुन्छ ?

म पपुलर हुनलाई एक्टिङ गर्न आएको होइन । म एक्टिङ गर्नलाई आएको हुँ । लोकप्रियता भनेको त एक्टिङको पाटो भयो । त्यसलाई नकार्न सकिन्न । तर त्यसैलाई लिएर बाँच्न चाहिं म सक्दिनँ । मान्छेले मन पराउने, मन नपराउने आफ्नो ठाउँमा छ । तर त्यो कुरा व्यावसायिक काममा सहभागी हुँदा मात्र थाहा हुन्छ । त्यसबाहेक म भीडको एउटा पात्र मात्र हुँ । म फलाना र म ढिस्काना भन्ने इगोलाई लिएर हिंड्न मन लाग्दैन ।

स्टारडमको चमकधमकमा आफू स्टार बनूँ कि भन्ने कहिलेकाहीं महसुस हुँदैन ?

मलाई यसको विरपरीत हुन्छ । मलाई चाहिं राम्रो फिल्ममेकर बनूँ, राम्रो लेखक बनूँ । त्यो चाहिं लोभ हुन्छ । मैले बनाएको फिल्मले कम्तीमा अन्तर्राष्ट्रिय चासो पाओस्, मान्छेबीच मेरो कामको प्रशंसा होस् । तर मलाई होइन । मलाई नभएकै ठीक छ किनभने बाटोमा बसेर रेष्टुरेन्टमा बसेर खान पाऊँ । जहाँ बसेर पनि हाँस्न, बोल्न पाऊँ । घर वरपर मान्छेको भीड नलागोस्, मलाई हिंडेर जान मन लाग्छ भने म हिंडेर जान पाऊँ । व्यावसायिक कारणले म बाँच्न बाधा नपुगोस् भन्छु म चाहिं ।

कुनै पनि फिल्म गर्नु तपाईंका पूर्वशर्त के हुन्छन् ?

म के भन्छु भने टिम राम्रो राख्नुस् । निर्देशकको दृष्टिकोण स्पष्ट होस् । सबैभन्दा महत्वपूर्ण कुरा स्क्रिप्टमा धेरै काम गरियोस् । फिल्म सफल वा असफल भनेको अर्को तहको कुरा भयो । फिल्म अवश्य पनि चल्नुपर्छ, तर चल्नु मात्र ठूलो कुरा हुँदैन । राम्रो सिनेमा बन्नु पनि सबैभन्दा ठूलो कुरा हो । राम्रो सिनेमा बनाएर चल्यो भने हामीलाई मनैदेखि खुसी लाग्छ । आफूलाई मन नपरेको सिनेमा चलेन भने पनि मलाई त्यसले महत्व राख्दैन ।

निर्देशकको रुपमा तपाईंले हाम्रो बजार र दर्शकीय रुचिअनुसार हामीलाई कस्तो फिल्म जरुरी छ ?

सोल (आत्मा) भएको फिल्म चाहियो । एक वर्ग छ जसले व्यावसायिक रुपमा फिल्मलाई हेर्नुहुन्छ र त्यसैगरी बनाउनुहुन्छ । मेकिङ, कास्टिङ, निर्देशकको छनोटसम्मलाई लिएर हचुवामा पैसा छ भनेर मात्र लगानी गर्नुभएन । नेपाली आर्टहाउस फिल्मको वर्गमा हेर्ने हो भने जहाँ लगानी धेरै छैन, लगानी गर्न रुचाउँदैन कसैले, त्यो क्षेत्रका मान्छे सबै गम्भीर छन् । ती मान्छे एकदमै जोगिएर काम गर्छन् ।

सही कलाकार खोज्छन् । दुःख गरेर छायांकार सबै कुरा राम्रो खोज्छन् । जबकि उहाँहरुसँग त्यो पहुँच छैन । त्यति दुःख गरेर बनाइसकेपछि ती फिल्म अन्तर्राष्ट्रिय रुपमै गइरहेका छन् । हामीकहाँ टन्नै पैसा पनि छ र पनि त्यो कामको गुणस्तर राम्रोसँग गरिंदैनन् । त्यो चाहिं दुःखलाग्दो कुरा हो । हाम्रा फिल्ममा ‘सोल मिसिङ’ भइरहेको छ ।

रंगेली’ कति सोल भएको फिल्म हो त ?

‘रंगेली’ चाहिं जनरामा प्रतिबद्ध भएर बनाइएको फिल्म हो । यो फिल्मको राम्रो पक्ष के छ भन्दा उहाँहरुले हेलचक्र्याइँ चाहिं गर्नुभएन । कथावस्तु के हो भोलि दर्शकले कसरी लिन्छन्, त्यो आफ्नो ठाउँमा छ । हामीले तराईको लुक्समा ग्याङस्टर फिल्म बनाउन खोजेका हौं । फिल्मको मेकिङ, लाइटिङ, टोनदेखि लिएर सबै हेर्ने हो भने त्यो जनराभन्दा बाहिर गएको छैन । कम्तीमा ती कुरामा प्राक्टिस भइदियो भनेपनि अधिकांश फिल्म एक तहमा त्यो भन्दा माथि रहेर बन्न सुरु गर्छन् ।

रंगेली’मा आफ्नो भूमिकाबारे बताइदिन न ।

यसमा भगवान दादा भन्ने पात्र छ, जसले ‘रंगेली’ भन्ने ठाउँमा दबदबा राखेको छ । त्यहाँ हुने उसका गैरकानुनी गतिविधिमा उसको संलग्नता धेरै देखिन्छ । पछि त्यो काम छाडेर राजनीतिमा लाग्नेदेखि लिएर नयाँ ल्याउने, पुरानो छाड्ने, धन्दापानी चलाउने दबदबालाई शक्ति र पैसाबाट जोगाएर राख्ने खालको पात्र हो यो ।

तपाईंको पहिलो निर्देशकीय फिल्म ‘मुखौटा’ पनि ग्याङ्स्टर थियो । ‘रंगेली’ पनि त्यही जनरामा बनेको छ । नेपाली दर्शकले यस्ता फिल्मलाई गुण्डागर्दी, मारकाट र हिंसात्मक भन्ने अर्थमा बुझ्छन् । यो सोचलाई के भन्नुहुन्छ ?

‘ग्याङस्टर’ भनेको निश्चित रुपमा एक्सनप्रेरित नै हो । मारकाट, ग्याङ वार सबै हुन्छ । मुखौटा ग्याङस्टर फिल्म होइन, त्यो नियो–नोइर फिल्म हो । फिल्ममा भएको पात्रको सोच कालो हो । ग्याङस्टरमा सोचसँगै व्यवहार कालो हो । मुखौटाजस्ता फिल्ममा सोच चाहिं कालो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?