+
+
Shares

१५ वर्ष साउदी बसेर फर्केपछि गाउँमा झाडी फाँडेर सुन्तलाखेती   

रासस रासस
२०८० फागुन २० गते १६:१८

२० फागुन, गलकोट (बागलुङ) । बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन् ।

गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् ।

लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पालाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको बताए । पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार गरी १५ रोपनीमा पुर्‍याउने लक्ष्य रहेको सुनाए ।

कार्कीको नेतृत्वमा उनको जग्गा मात्रै होइन सायकोटका अन्य स्थानीयवासीको जग्गामा रहेका झाडी तथा रुख हटाउने कार्यले तीव्रता पाएको छ । अहिले सायकोट क्षेत्रको पाँच सय रोपनी भन्दाबढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको छ ।

‘केहीवर्ष भारतमा बिताएँ । १५ वर्ष साउदीमा रोजगारी गरेँ । अहिले गाउँ फर्केर आउँदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रुख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ । खेती गर्ने कोही छैनन्’, कार्कीले भने, ‘गत वर्ष सुन्तला र कागती बारीमा लगाएँ । वरपर रहेका अनावश्यक रुख र झाडीले ती बिरुवा बढ्न पाएनन् । अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रुख फँडानी भइरहेको छ । अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ ।’

कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागतीखेती विस्तार गर्नका लागि सबै झाडी हटाएर खाली गरेको जानकारी दिए ।

सुन्तला गाउँका रुपमा चिनिएको सिगानभित्रको सायकोट गाउँमा यसअघि व्यावसायिक सुन्तलाखेती हुन सकेको थिएन । सुन्तलाबाटै वार्षिक रु तीन करोड भित्र्याउने सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोलालगायत गाउँमा व्यावसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन् ।

‘सिगाना सुन्तला गाउँका रुपमा चिनिए पनि सायकोटमा व्यावसायिक खेती भएको छैन । यहाँ गत वर्षदेखि सुन्तला लगाउन थालिएको हो । सुन्तलाखेती फस्टाउन बाझो जग्गाको झाडी फँडानी गर्ने, कुकाठ हटाउने काम भएको छ । यसले खेती विस्तारमा टेवा पुग्नेछ’, स्थानीय सूर्य कार्कीले भने, ‘गाउँ–गाउँमा ग्यासको प्रयोग बढेपछि दाउराको प्रयोग कम हुँदा वन जङ्गल बढेर घरसम्मै आउन थालेपछि रुख र झाडी फँडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो ।’

बागलुङ–८ सिगानास्थित वडा कार्यालयले रुख फँडानीमा सघाएर किसानलाई सुन्तलाखेती विस्तार गर्ने योजनामा चालु आर्थिक वर्षमा एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त रकमले एक हजार रोपनी जग्गाका रुख बिरुवा हटाउन सक्ने भन्दै हालसम्म पाँच रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकिएको वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । उनले कटान गरेका रुख व्यवस्थापन भने स्वम् जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताए ।

खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारीलगायत झाडी तथा साना रुख हटाएर सुन्तलाखेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ ।

खेतीयोग्य जग्गा बाँझिदै गएपछि उम्रिएका रुख बिरुवाले फलफुल तथा नगदेबाली गर्न कठिनाई भएपछि अहिले खेतबारीमा रहेका रुख हटाउने अभियानले तीव्रता पाएको स्थानीय बताउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?